|

 वीरगञ्ज : व्यवसायीले भारतले धान र चामलको निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्कले नेपाली किसान मारमा पर्ने  बताएका छन् ।  

वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार गरेको कार्यक्रममा व्यवसायीले भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको बताए। 

चामल उद्योगी सुरेश रुगङ्टाले चामल र धानमा भारतले लगाएको भन्सार शुल्कले उद्योगीभन्दा उपभोक्ता मारमा पर्ने दाबी गरे। उनले यसको समाधानका लागि छिटोभन्दा छिटो नेपाल सरकारले पहल गर्न आवश्यक रहेको धारणा राखे।  

नेपालले भारतबाट वार्षिक सात÷आठ अर्ब बढीको चामल आयात गर्दै आएको छ। गत वर्ष मात्रै भारतबाट नेपालमा साढे पाँच लाख मेट्रिकटन धान, पाँच लाख २० हजार मेट्रिकटन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरेको तथ्यांक छ।

देशभरि करिब दुई हजार पाँच सय चामल उद्योग छन् जसमध्ये आधा जति बन्द अवस्थामा छन् । रहेका उद्योग शतप्रतिशत क्षमतामा चल्न सकेका छैनन्। नेपालका उद्योगले ४० प्रतिशत चामल उत्पादन गर्दै आएका छन् । बाँकी चामलका लागि भारतमाथि निर्भर हुनुपर्ने अवस्था रहेको उद्योगी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.