वाचा पूरा नगर्ने नेतालाई लखेट्नुपर्छ : रेखा थापा

|

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यसपटक सेलिब्रेटीहरू पनि मैदानमा उत्रिएका छन्। अहिलेका राजनीतिक दल र नेतृत्वले देशको विकास र समृद्धि सम्भव नभएको भन्दै कलाकार, पत्रकार, साहित्यकारदेखि इन्जिनियर र डाक्टरसम्म चुनाव लड्न कस्सिएका छन्।

तीमध्येकी एक हुन् नायिका रेखा थापा। रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य पनि हुन् तर उनलाई नेताभन्दा बढी नायिकाको रूपमा चिन्नेहरू धेरै छन्। नेपाली चलचित्रमार्फत नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेकी थापा पछिल्ला केही वर्षदेखि राजनीतिमार्फत समाज बदल्ने अठोटमा छिन्।

हाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य लड्ने तयारीमा रहेकी उनै थापासँग थाहाकर्मी जगत भण्डारीले गरेको कुराकानी।

तपाईँ अहिले आफ्नो निर्वाचन क्षेत्रमा जनताको घरदैलोमा पुगिरहनु भएको छ। उहाँ (आममतदाता)हरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ? 
एकदमै उत्साहित। एउटा नयाँ अनुहार, युवा र साझा मान्छे पाएपछि एकदमै खुसी हुनुभएको छ। हामी यसपालि नेता बदल्छौ भन्ने प्रतिबद्धता गर्नुभएको छ।

एकातिर ऊर्जा छ, अर्कोतिर गुनासो पनि छ। गुनासो चाहिँ यसभन्दा अगाडि निर्वाचित भएर गएकाहरूले मतको दुरुपयोग गरे भन्ने सुनाउनुभएको छ। 

यो गुनासो र ऊर्जाले अब फिल्म क्षेत्र छोडेर सक्रिय राजनीतिमै होमिन्छु भन्ने लागेको हो?

मलाई यो देशको सेवा गर्नको लागि मन्त्री वा माननीय नै हुनुपर्छ जस्तो लाग्दैन। समाज रूपान्तरणका लागि म लामो समयदेखि विभिन्न अभियानहरू चलाउँदै आएकी छु।

पछिल्लो समय बालविवाह र दाइजोप्रथाको विरोधमा ‘छोरीको लागि स्वर्णिम नेपाल’ अभियान चलाएकी छु।  समाजलाई जागरण दिने चलचित्र बनाइरहेकै छु। म सक्रिय राजनीतिमा आउनुको मुख्य कारण नीति नियम बनाउने ठाउँमा नपुगेर जनताको भावना सम्बोधन गर्न सकिँदैन भन्ने नै हो। बाहिरबाट आवाज त उठाउन सकिन्छ तर सम्बोधन गर्न सकिँदो रहेनछ। 

अहिले देश कुन हालतमा छ यसलाई बदल्नका लागि हामीजस्ता युवा जाग्न जरुरी छ। मेरो राजनीतिमा प्रवेश र सक्रियता मजस्ता लाखौँ युवायुवतीमा ऊर्जा मिलोस् भन्नका लागि हो। भोलिको जेनेरेसनले पनि मेरो देश बनाउँछु भन्ने सपना देख्न सकोस् भन्ने हेतुले हो। 

समाज परिवर्तन त राम्रो फिल्मबाट पनि गर्न सकिन्छ नि राजनीतिमै किन आउनुपर्‍यो त?

सकिन्छ तर राजनीतिक नेतृत्वबाट जे गर्न सकिन्छ त्यति फिल्म र अरू कुनै अभियानबाट गर्न सम्भव हुँदैन रहेछ। परम्परागत राजनीति होइन अब नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ। 

अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा हामीलाई हेरिएको छ। पुरानै अनुहारलाई मत दिँदा यस्तो अवस्था आयो भन्ने बुझाई सबैको भइसक्यो। हिजो मत लिएर दुरुपयोग गरेको, बाचा पूरा नगरेकाहरूलाई अहिले प्रश्न सोध्ने बेला हो। फेरि जिताएर पठाउने होइन। 

अहिलेसम्म हामीले मोरङ क्षेत्र नम्बर ३ बाट कति सांसद पठायौँ। उनीहरूले के गरे? अब त्यसको हिसाबकिताब गर्न जरुरी छ। 

अर्को कुरा चुनावलाई हामीले पैसा मुखी बनाएका छौँ। चुनाव जित्न पैसा खर्च गर्नुपर्छ भन्ने जुन गलत परिपाटी हामीले बनाएका छौँ यसलाई भत्काउन म राजनीतिमा आएकी हुँ। 

अहिलेको अवस्था नेताको कारणले मात्र आएको हो कि यसमा मतदाता (चुनावमा मासुभात, पेट्रोल र पैसा जता दियो उतै भोट हाल्ने) पनि दोषी छन्? यसलाई कसरी बदल्ने?

यसलाई म बदल्छु। मसँग यो क्षमता छ। यही फोहोरी खेलले गर्दा मेरो क्षेत्रमा आम मतदाताले सोच्न पाउनुभएको छैन। म यी कुरा बुझाउँदै छु। आगामी पुस्ताले मात्र होइन सबैले राजनीति भनेको पैसाको खेल होइन भन्ने बुझ्न अब धेरै समय लाग्नेछैन। 

ठूला पार्टीका शीर्ष नेता चुनाव लड्न करोडौँ चाहिन्छ भनिरहेका छन्। तपाईं कति खर्च गर्दै हुनुहुन्छ? 

म एक रुपैयाँ पनि खर्च गर्दिनँ। म गरिब, किसान, महिला, सुकुम्बासीलगायत सबै नागरिकको प्रतिनिधि हुँ। यसको उदाहरण मैले मेरो क्षेत्रमा गरेको कामबाट पनि पुष्टि हुन्छ।

अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा हामीलाई हेरिएको छ। पुरानै अनुहारलाई मत दिँदा यस्तो अवस्था आयो भन्ने बुझाई सबैको भइसक्यो। हिजो मत लिएर दुरुपयोग गरेको, बाचा पूरा नगरेकाहरूलाई अहिले प्रश्न सोध्ने बेला हो। फेरि जिताएर पठाउने होइन। 

तपाईंको क्षेत्रमा नेकपा एमालेको संगठन बलियो छ! अर्कोतिर कांग्रेस गठबन्धनसहित चुनावमा जाँदैछ। एमाले नेता भानुभत्त दकाल र युवा व्यवसायी कांग्रेसबाट सुनिल शर्मा जस्ता नेताहरू तपाईँका प्रतिस्पर्धी हुनुहुन्छ। ढकाल मन्त्रीसमेत भइसकेको व्यक्ति हुनुहुन्छ। कसरी जित्नुहुन्छ?

अहिले संगठन बलियो चाहिन्छ भन्ने जमाना गइसक्यो। पार्टीको झन्डामुनि बसेर सहिद बन्न जाने जेनेरेसन छैन। आमाबुबा र दाजुभाइ दिदीबहिनीमा चेतना आइसकेको छ। आगामी चुनाव ऐतिहासिक हुन्छ। अबको चुनावबाट नयाँ अनुहारहरू संसदमा पुग्छन्। मत किनेर जितेकाहरूलाई दोहोर्‍याउन हुन्न। पटकपटक जनतालाई धोका दिने अनुहारलाई जनताले लखेट्नुपर्छ। मत दिनेले अब विचार पुर्‍याउनुपर्छ। 

पुरानै दल र नेताले पुरानै तरिकाले चुनाव जित्ने तयारी गरिरहँदा ती नेतालाई पराजित गर्ने तपाईँको नयाँ योजना के छ? 
मसँग स्वच्छ आत्मा र भावना छ। म परम्परागत राजनीतिबाट देश र समाजको परिवर्तन हुन्छ भन्ने विश्वास गर्दिनँ।

राम्रो काम गर्न सक्ने मसँग क्षमता छ। म भ्रष्टाचार गर्न र त्यो पैसा व्यवसायमा लगाउन राजनीतिमा लागेकी होइन। मलाई मेरा क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूले जिताउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएकी छु। 

पार्टीको एजेन्डा त छँदै छ तपाईंको व्यक्तिगत योजना र प्रतिबद्धता के छन्? 
मेरो योजना घोषणा पत्रमा ल्याउँदै छु। त्योभन्दा पहिला म यतिबेला सबै मतदाताको घरघरमा पुगेर उहाँहरूका समस्या सुन्ने क्रममा छु। उहाँहरूको आवश्यकता के छ त्यसको लेखाजोखा गरेर योजना बनाउँछु।

अर्को म मेरो क्षेत्रका महिलाहरूलाई चुल्होबाट बाहिर निकालेर सीप, शिक्षा र रोजगारी दिने काम गर्छु। हरेक युवा बिदेसिने सिलसिला रोक्नुपर्छ। यही ठाउँमा कृषि क्रान्ति गरेर देश रुपान्तरणको लागि योगदान गर्नुपर्छ भन्ने स्थापित गर्न चाहन्छु। 

हाम्रो क्षेत्रमा अहिलेसम्म पनि सामान्य बिरामी हुँदा उपचारका लागि विराटनगर, सिलगडी र धनगढी पुग्नुपर्ने बाध्यता छ। म यहाँ हस्पिटल बनाउन चाहन्छु। यस्ता धेरै योजना र प्रतिबद्धताहरू छन् जुन घोषणापत्रमा ल्याउनेछु। 

तपाईंले चुनाव जित्ने थप आधारहरू के हुन्?

गर्न सक्ने काम भन्ने र त्यो काम गरेर देखाउने हो। त्यति भए पुग्छ जस्तो लाग्छ मलाई। चाहिने नचाहिने, हुने नहुने प्रतिबद्धता गरेर काम नगर्नेहरू जस्तो हामी गर्दैनौँ। यदि हामीलाई विश्वास गरिएन। 

राष्ट्रियता र धर्म संकटमा पर्दा आवाज उठाउने राप्रपा। संघीयता देशले धान्दैन खारेजी गर्नुपर्छ भनेर बोल्ने हामी।  अरू कसले बोल्छ? अरू दल त केवल सत्ताको लागि झगडा गरिरहेका त छन्। राजनीति भनेको आफ्ना नातागोता, आफन्त र नजिककालाई पदमा पुर्‍याउन मात्र हो र? 

पुरानैलाई जिताइयो भने हामीजस्ता देशभरका युवा र केही गर्ने देश बदल्ने भनेर राजनीतिमा आएकाहरू बिदेसिनुपर्ने अवस्था आउनेछ। सतीले सरापेको देश भनिन्छ नि। त्यसमा युवाले सरापेको देश भन्ने भनाई थपिएला भनेर ख्याल गर्नुपर्छ। त्यसो भयो भने देश बन्दैन। 

तपाईं जस्ता २४ जनाले जितेर संसद् भवनमा पुगेपछि परिवर्तन सम्भव हुन्छ त?

किन हुँदैन? हालै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएपछि त्यसले के सन्देश दियो? संसदको कार्यकाल लम्बाउने अहिलेका ठूला दलको सपना चकनाचुर भएन? हाम्रै अध्यक्षले नै प्रमाणित गरिसक्नु भयो नि सम्भव हुन्छ कि हुँदैन भनेर। 

अन्य पेसामा स्थापित भएर राजनीतिमा आएकाहरू झन् महिला नेतृहरू त समानुपातिक कोटाबाट सांसद बन्ने प्रचलन छ नि। ३१ प्रतिशतमा परिहालिन्छ त।

तपाईं  त्यही सजिलो बाटो छोडेर प्रत्यक्ष चुनाव लड्नतिर किन होमिनुभयो?

समानुपातिकका लागि त मेरो नाम एक दुई नम्बरमै आउँछ नि। मलाई अहिले पनि भनिरहनुभएको छ तर टीका लगाएर किस्तीमा उपहार दिएको पद मान्य छैन भन्ने सन्देश दिन खोजेकी हुँ।

महिला पनि मैदानमा उत्रिन सक्छौँ भन्ने सन्देश दिन चाहेकी छु। मसँग गाउँघरमा भेटिएका सानासाना नानीबाबुले भविष्यमा रेखा दिदीजस्तै ठूलो एक्टर बन्छु भन्छन्। मेरो चाहाना उनीहरूले भोलि राजनीति गरेर समाजसेवा गर्छु भनुन् भन्ने पनि हो। 

तपाईं ०६६ सालमा प्रचण्डसँग नाच्दा चर्चा भयो। त्यतिपछि तपाईं चुनाव लड्ने भन्ने थियो। जतिबेला जित्ने सम्भावना थियो। कारणवश भएन। अहिले पनि ठूला राजनीतिक दलबाट सजिलै चुनाव जित्न सक्नुहुन्थ्यो होला तपाईं तर त्यहाँबाट नभएर संसदमा एउटा मात्रै सिट भएको राप्रपा नै किन रोज्नुभएको?

मैले सोचे धेरै विचार गरेँ। मलाई माओवादीको सिद्धान्त त्यतिबेला साह्रै राम्रो लागेको थियो। पछि सिद्धान्त एकातिर काम अर्कोतिर भएको देखेँ। अहिले सबैभन्दा सानो पार्टी राप्रपा भनिन्छ तर मलाई गर्भ छ नेपाली माटोमुनि गाडिएको बिज मात्र राप्रपा हो जस्तो लाग्छ।

राष्ट्रियता र धर्म संकटमा पर्दा आवाज उठाउने राप्रपा। संघीयता देशले धान्दैन खारेजी गर्नुपर्छ भनेर बोल्ने हामी।  अरू कसले बोल्छ? अरू दल त केवल सत्ताको लागि झगडा गरिरहेका त छन्। राजनीति भनेको आफ्ना नातागोता, आफन्त र नजिककालाई पदमा पुर्‍याउन मात्र हो र? 

अडियो संवाद :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.