|

काठमाडौं : गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको छ। कार्यविधि अनुसार पर्यटकका रूपमा मलेसिया, खाडी, अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुक घुम्न जाने सर्वसाधारणको वार्षिक आय कम्तीमा चार लाख हुनुपर्ने छ। दुईलाख रकम बैंक खातामा हुनुपर्ने छ।

त्यस्तै हवाई टिकट लिनु अगाडि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्छ। स्वीकृतिका लागि घुम्न जानुभन्दा एक साता अगाडि नै आवेदन दिनुपर्ने प्रावधान छ। अध्यागमन विभागले आवश्यक सफ्टवेयर निर्माण गरेपछि अर्थात ३० असोजदेखि लागू हुनेगरी कार्यविधि स्वीकृत गरेको हो।

रोजगारी तथा आकर्षक तलब सुविधाको प्रलोभनमा परी भिजिट भिसामा विदेश गई अलपत्र पर्ने, ठगीमा पर्ने क्रम बढेसँगै सरकारले भिजिट भिसालाई कडाइ गरेको हो। भिजिट भिसामा देखिएको समस्या समाधान गर्नका लागि गृह मन्त्रालयका सह–सचिव फणीन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल बनाइएको थियो। सो कार्यदलले मापदण्ड कडाइ गर्दै भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाको गतिविधिमा निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो।​

भिजिट भिसामा विदेश जान केके चाहिन्छ?

१. परिवारका सदस्यहरूबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात  बुझाउनु पर्नेछ।

२. कम्तीमा चारलाख वार्षिक आम्दानी, कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेश गर्ने दिनमा कम्तीमा दुईलाख बैंक मौज्दात रहेको स्टेटमेन्ट पेश गर्नुपर्ने छ।

३. आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय)लाई कर तिरेको प्रमाण हुनुपर्ने प्रावधान रहेको छ।

४. दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङ्गको प्रमाण हुनुपर्ने छ।

त्यस्तै, विदेशमा रहेका आफन्त भेट्न जाने परिवारका सदस्यले समेत विभिन्न कागजात पेश गर्नुपर्ने छ। परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, गन्तव्य मुलुकमा रहेको आफन्तको राहदानी र भिसा/आवास अनुमति पत्रको छायाँप्रति पेश गर्नुपर्ने  प्रावधान रहेको छ।

त्यस्तै विदेशमा रहेका आफन्तले गरेको प्रायोजन पत्र, आफन्त कार्यरत रहेको कम्पनी वा निकायले निज कार्यरत रहीरहेको व्यहोराको कम्तीमा १५ दिन अवधिको पत्र हुनुपर्छ। साथै, दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाणपत्र वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बरसहितको विवरण पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।​

भिजिट भिसामा वार्षिक एक लाख बिदेसिन्छन्  

पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामा झण्डै २ लाख नेपाली विदेशिएका छन्। सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३ सय १७ जना भिजिट भिसामार्फत् विदेसिएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

दुईवर्षको अवधिमा १ लाख १९ हजार ११ जना पुगेको अध्यागमन कार्यालयले जनाएको छ।

विभागको तथ्यांक अनुसार मलेसिया, साउदी, कतारलगायतका देशमा जाने क्रम पनि बढी देखिएको छ। गत साउनमा मात्रै २७ हजार ६ सय २५ जना भिजिट भिसामार्फत् बिदेसिएका छन्। २०७७ को फागुनमा ६ हजार ४ सय २२ जना मात्र भिजिट भिसामा बिदेसिएका थिए। कोरोना महामारी सहज भएसँगै भिजिट भिसामार्फत् बिदेसिने क्रम बढेको देखिएको छ।

गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १ लाख १३ हजार ६ सय २७ जना भिजिट भिसामार्फत विदेशिए। दुबईमा सन् २०२० देखि हालसम्म १ लाख भन्दा बढी नेपाली भिजिट भिसामा बिदेसिएका थिए। पछिल्लो तीन महिनामा मात्रै २० हजार भन्दा बढी भिजिट भिसामार्फत दुबई पुगेका छन्।

पछिल्लो २ वर्षको अवधिमा भिजिट भिसामार्फत विदेश जान लागेका ७ हजार ९ सय ५५ जनालाई विमानस्थलबाटै फर्काइएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.