|

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आइतबार भएको खेलमा सुदूरपश्चिम र प्रदेश १ ले आ-आफ्ना खेलमा जित हासिल गरेका छन्।

टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। जवाफमा प्रदेश १ जम्मा १ सय ३१ रनमा समेटियो।

टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै ८५ रन बनाउँदा जवाफमा नेपाल पुलिसले १० दशमलव ४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

कर्णालीका लागि कप्तान रविन्द्र साहीले २७ रन बनाउँदा ओपनर विपिन्न रावलले १७ रन जोडे। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

८६ रनको सामान्य स्कोर लिएर मैदान उत्रिएको पुलिसका लागि कुशल भूर्तेल र सुनिल धमलाले शानदार इनिङ खेले। उनीहरुले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। भूर्तेल ३९ रनमा नटआउट रहँदा धमला ४४ रनमा आउट भएका थिए।

त्यसअघि कीर्तिपुर मैदानमा नै भएको दिनकै पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई पाखा लगाएको थियो।

१५ रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमका लागि मिलन बोहरा र बसन्त खत्रीले पाँचौँ विकेटका लागि १ सय रनको साझेदारी गरेका थिए। बोहरा ४४ रनमा आउट हुँदा खत्रीले ५३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। लोकेन्द्र चन्द २४ रनमा रनआउट भए।

प्रदेश १ का लागि फिर्दोस अन्सारीले ३ विकेट लिँदा दिपेश कँडेलले २ विकेट र कमल खत्रीले १ विकेट हात पारे।

१ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनायो। उसका लागि फिर्दोस अन्सारीले ३३ रन बनाएका थिए। दिपेश कँडेलले ३४ रन तथा सोनु मन्डलले २६ रनको योगदान दिएका थिए।

सुदूरपश्चिमका लागि मिलन बोहराले २ विकेट हात पार्दा हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले  १-१ विकेट हात पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.