|

काठमाडौँ : नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसीसी प्रिमियर कपको खराब परिणामलाई बिर्सँदै वेष्ट इण्डिज ए सँगको टी–२० शृंखलामा ध्यान केन्द्रित गरेको बताएका छन्।

नेपालले शनिवारदेखि घरेलु मैदानमा वेष्ट इण्डिजसँग ५ खेलको शृंखला खेल्दै छ। एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले टी-२० विश्वकपको तयारीस्वरुप यो शृंखला खेल्न लागेको हो। 

शुक्रवार शृंखलाअघिको पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपबाट सबै खेलाडी निराश भए पनि त्यसलाई बिर्सेर अबका खेलतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्। 

उनले ओमानमा आयोजित प्रतियोगिता नेपालका लागि सुखद् नरहे पनि वेष्ट इण्डिजसँगको शृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गरेका छन्। उनले यो शृंखला अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्टमध्ये एक शृंखला रहेको धारणा पनि राखे।

वेष्ट इण्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो शृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यहाँबाट आफ्ना खेलाडीलाई त्यो प्रमाणित गर्ने अवसर रहेको बताए।

उनले विश्वकपका लागि यो टोलीबाट दुईजना खेलाडी छनोट हुने पनि उल्लेख गरे। कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरेका छन्। यहाँबाट छनोट नहुने खेलाडीले विश्वकप पछाडि पनि क्रिकेट हुन्छ भन्ने मनमा लिने धारणा राखेका छन्।

नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा गौरवशाली इतिहास रहेको वेष्ट इण्डिज क्रिकेटसँगको शृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गरे। उनले यो शृंखलाबाट नेपाली खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन्।

ब्याटिङ युनिट आशाभन्दा कम सफल देखिए पनि दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्का लगायत केही सकारात्मक पक्ष ओमानमा आएका प्रशिक्षकको बुझाइ छ। मोन्टीले टीयू मैदानमा आफ्नो टिमले खेलमा केही सुधार गर्ने धारणा राखे। 

वेष्ट इण्डिज ए का प्रशिक्षक फ्लायड रेइफरले शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्दै एशोशिएट राष्ट्रलाई सहयोग गर्न पनि नेपाल आएको धारणा व्यक्त गरे। उनले नेपालमा पनि प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै यो शृंखला प्रतिस्पर्धात्मक रहने आशा व्यक्त गरेका छन्। 

नेपालको पिच कन्डिशन केही स्लो रहेको पनि उनको बुझाइ छ। करिब १५ हजार दर्शकमाझ खेल्न रमाइलो हुने प्रशिक्षक रेइफरको विश्वास छ। 

पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले वेष्टइण्डिज ए सँगको शृंखलाका लागि विनोद भण्डारी, लोकेश बम, कमलसिंह ऐरी र सागर ढकाल थपेको बताए।

शृखलाका खेलहरु बैशाख १५, १६, १९, २० र २२ गते खेलिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.