|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेटेर आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकता दिनुपर्ने आयोजना र बजेटबारे छलफल गरेका छन्।

उक्त छलफलमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी भएर छलफल गरिएको मुख्यमन्त्री कँडेलले बताए। 

कर्णाली प्रदेश सरकारको तर्फबाट प्राथमिकताका साथ ६ बुँदामा विभिन्न आयोजना समावेश गरि प्राथमिकता दिन उनले आग्रह गरेका छन्। 

पहिलो नम्बरमा कर्णाली करिडोर (सुर्खेत—हुम्ला ) र भेरी करिडोर (सुर्खेत—डोल्पा)लाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै जानकारी गराएको छ। 

उक्त आयोजनाहरुको छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरी उपयुक्त आयोजना यथासमयमा कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था गरिदिन आग्रह गरिएको जानकारी उनले दिए।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्वारका रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई ४ लेनको बनाउने योजना कार्यान्वयनमा नगएकाले आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। 

सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी संघीय राजधानीसंग कर्णाली प्रदेशको हवाई पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न बजेटसहित कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ। 

भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा निजी आवास तथा अन्य संरचना पुनर्निर्माण गर्न बजेट विनियोजन गर्न अनुरोध गरिएको जानकारी उनले दिए।

कर्णाली राजधानी सुर्खेत उपत्यकाको तल्लो भूभाग बाढीबाट वर्षेनि प्रभावित हुने भएकाले दीर्घकालिन समस्या समाधानका लागि निकास खोला नियन्त्रण आयोजनाको डिपिआरसमेत भइसकेकाले  प्राथमिकता राखी बजेटसहित कार्यान्वयन गर्न छलफल भएको मुख्यमन्त्री कँडेलले बताए।

कर्णाली प्रदेशमा संघीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनाहरुलाई निरन्तरता दिई बजेटको व्यवस्था गरि कर्णालीका जनताका न्याय दिनसमेत अनुरोध गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.