|

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्समा २२ लाख बजेट खर्च गरेको छ। महानगर क्षेत्रभित्रका खाल्डाखुल्डी तत्काल पुर्न तथा सामान्य समस्या समाधान गर्नका लागि २५ लाख बजेट विनियोजन गरेको थियो। 

उक्त बजेटमा २२ लाख बजेट खर्च भएको महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरको प्रमुखको जिम्मेवारी पाएसँगै २५ लाख बजेट छुट्याई पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। हाल पनि पूर्वाधार एम्बुलेन्सले निरन्तर काम गर्दै आएको महानगरपालिका पूर्वाधार विभागीय प्रमुख रामबहादुर थापाले जानकारी दिए।

महानगरको कल सेन्टरमा आएको गुनासोका आधारमा काम गर्दै आएको छ। सुरुवाती चरणमा दैनिक १० वटासम्म गुनासो आएकोमा यतिवेला एउटा दुईवटा गुनासो आउने गरेको थापाले बताए। हालसम्म ७२ घनमिटर खाल्डाखुल्डी पुर्ने, एक हजार वर्गमिटर कालोपत्रे, ढल खोल्ने फुटपाथ मर्मत गर्ने लगायतका काम भएको महानगरले जनाएको छ। 

महानगरका गाडीलाई मर्मत गरी पूर्वाधार एम्बुलेन्स बनाएको थियो। यसका लागि महानगरले छुट्याएको बजेट अन्तिम चरणमा पुगेको छ। महानगरले गर्ने नियमित काम गर्दै आएको छ। यसका साथै पूर्वाधार एम्बुलेन्सका लागि बजेट थप छुट्याई काम गर्ने तयारी रहेको प्रमुख थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.