|

खोटाङ : खोटाङमा ९० लाख सरकारी रकम खर्चिएर निर्माण गरिएको चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आउन सकेको छैन। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न गरेर उद्घाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो।

जिल्लाका अन्य ठाउँमा पनि सोही प्रकारका केन्द्रहरु निर्माण भइरहेका छन्। प्रत्येक शुक्रबार ठूलो साप्ताहिक हटिया लाग्ने बुइपामा चिस्यान केन्द्रको आवश्यक रहेको ठहर गर्दै जिल्लाकै पहिलो केन्द्रकारुपमा निर्माण गरिएको थियो। निर्माण सम्पन्न पश्चात चिस्यान केन्द्रको प्रतिनिधिसभा सांसद विशाल भट्टराई, तत्कालीन नगर प्रमुख दीप नारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतको उपस्थितिमा २५ चैत २०७८ मा तामझामका साथ उद्घाटन गरिएको थियो।

उद्घाटनको समयमा किसानले उत्पादन गरेका तरकारी र फलफूल कुहिएर जाने समस्याको अन्त्य भएको सबैले बताएका थिए। तर, निर्माण भएर ६ महिना बित्दा पनि केन्द्र सञ्चालनमा आएको छैन। स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा २ रोपनी सार्वजनिक जग्गामा चिस्यान केन्द्र निर्माण गरिएको हो।

उद्घाटनपश्चात ताला लागेर बसेको केन्द्र अहिलेसम्म खुल्न नसकेको पाइएको छ।

एउटा मात्र च्याम्बर रहेको उक्त चिस्यान केन्द्रमा एकैपटक ३० टन कृषि उपज भण्डारण गरेर सुरक्षित राख्न सकिने बताइएको छ। लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या रहेको भन्दै चिस्यान केन्द्र निर्माण गरिएको थियो।

तर केन्द्रको भवन वरिपरी घाँस पलाएर भवन बेवारिसे जस्तै बन्दा पनि कसैको आँखा पुगेको छैन।

नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको वडाले रेखदेख मात्र गर्ने वडाध्यक्ष दिनेश राईले बताए। सञ्चालनको कार्यविधि निर्माण नगरपालिकाले नगरेका कारण अहिलेसम्म सञ्चालनमा आउन नसकेको उनले बताए। कार्यविधि चाँडै बनाएर केन्द्र सञ्चालनमा ल्याउने पहल गरिने वडाध्यक्ष राईको भनाइ छ।

यता नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार नगरपालिकाभित्र सम्पन्न भएका तथा सञ्चालन भइरहेका योजनाहरुको बारेमा सम्पूर्ण विवरण संकलन गर्न नगर कार्यपालिकाको बैठकले समिति बनाएको छ।

उक्त समितिले विवरण बुझाएपछि आवश्यक कार्य अघि बढाइने नगर प्रमुख भट्टराइले बताए।

निर्माण सुरु हुँदै गर्दा सधैँ चिसो भइरहने बुइपामा चिस्यान केन्द्र बनाएर सरकारी रकमको दुरुपयोग गरेको कतिपयको भनाइ थियो। तथापि निर्माण सम्पन्न गरेर तामझामसाथ उद्घाटन गरिएको ६ महिना बित्दा पनि चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.