|

काठमाडाैं : त्यतिवेला नेपाल अधिराज्यका शासक श्री ३ चन्द्रशमशेर थिए, जतिबेला गुल्मीको अमलाचौरमा नन्दराम अर्यालले बाबुआमाको १३ औँ सन्तानको रूपमा जन्म लिए। नन्दराम हुर्केर, किशोरावस्था पार गर्दै, बैँस, अधबैँस हुँदै नन्दराम बाजे हुने वेलासम्म खुब नाम, इज्जत, प्रतिष्ठा कमाए। गाउँमा बाटो ल्याउन होस् या स्कुल बनाउन अगाडि सरे। स्वभावैले विद्रोही नन्दरामले हली प्रथा अन्त्यका लागि हलो पनि समाए।

नन्दराम ५८ वर्षको हुँदा कान्छा सन्तानको रूपमा २०३५ सालमा मुकुन्दको जन्म भयो। नन्दरामले मुकुन्दलाई कहिल्यै गालीको भाषा प्रयोग गरेनन्, हात छाड्ने परको कुरा। तर, समाजमा बोल्नुपर्ने ठाउँमा चुप बस्नु हुँदैन भनेर चाहिँ सानैदेखि सिकाए। जसको अभ्यासस्वरूप आफैसँग बहस गर्न लगाउँथे। मजाक मजाकमै चलेको बहसमा मुकुन्दको मुखबाट बाबुको मुख बन्द हुने गरी कुनै वाक्य निस्कन्थ्यो,नन्दराम खुशी हुन्थे। मुकुन्दलाई कहिल्यै आफ्ना बाबुले आफैँजस्तो हुन कर गरेनन्, बरु ‘आफ्नो छाया चिन्न’ भने प्रेरित गरिरहे। अहिले सोच्दा मुकुन्दलाई आफ्नो र बाबुको छाया मिल्दोजुल्दो लाग्छ।

तराईमा औलोको जोखिम घट्दो थियो, शिक्षाको महत्त्व बढ्दो। त्यसपछि नन्दरामको परिवारले तराई झर्ने निर्णय गर्‍यो। बाको औँला समातेर गाउँ डुलेको, बासँग घाँस काट्न सँगै हिँडेको, घाँसको भारीमा चढेर फर्केको, घण्टौँ आकाशको विराटता, पहाडको स्थिरतामा हराएको अनुभव बोकेर बालक मुकुन्द पनि परिवारसँग चितवन झरे। अहिले बाल्यकालका तिनै क्षण उनलाई अमूल्य सम्पत्ति जस्तै लाग्छ। आज पनि ओल्टाइपल्टाइ त्यो समयको आफूलाई पढ्ने कोशिश गर्छन्। पछि गएर उनले पनि धेरै नाम कमाए। जस्तो, मुकुन्दे, जँड्याहा, म्याक्स, अराजक, कवि, रंगकर्मी, मुकुन्दस्थित खलपात्र इत्यादि।

सानाे घाेडा, ठूलाे घाेडा
यतिवेला मुकुन्द राजधानी बसेकै उपत्यकामा छन्। जिन्दगीले सवा दुई बीस आयु नापिसकेको छ। ‘यत्रो वर्ष के कमाइस् त?’ भनेर कसैले सोध्यो भने देखाउन उनीसँग केही छैन। तर, कसैले सुन्न चाह्यो भने, उनलाई सुनाउने मन भयो भने धेरै थोक छ। 

आज एउटा झरिलो बिहान कुमारीपाटीको सडकछेउ उनी उभिएका छन्। शाखा सडकमा मिसिएको एउटा साँघुरो गल्ली हुँदै तरकारीका लागि एक मुठो निउरो र दुई खिली चुरोट लिएर गल्लीको चौडाइ भन्दा अलि फराकिलो चौडाइ भएको, चौडाइभन्दा अलिकति फराकिलो लम्बाइ र उचाइ भएको, एक तलामुनि उही गल्ली देखिने झ्याल भएको कोठामा पुगेका छन्। 

उनी धेरैतिर पुगेर यहाँसम्म पुगेका हुन्। तरकारीको लागि निउरो भाँच्दै उनी फेरि एकपटक वर्षौँ पहिले पुगेको एउटा चौरमा पुग्छन्। जहाँ घोडाहरू चरिरहेका छन्, बालक मुकुन्द आफ्ना बाबुको औँला समातेर उभिएका छन्। उनका बाबु ती घोडाहरूतिर इशारा गर्दै भन्छन्, ‘ल तँ आफ्ना लागि एउटा घोडा छान्।’ 

मुकुन्द त्यति धेरै घोडामा एउटा घोडा कसरी छानुँ भनेर रनभुल्लमा पर्छन्। उनी खुब विचार गरेर आफ्ना लागि एउटा घोडा छान्छन्। जुन घोडा अरु घोडाभन्दा अलि सानो हुन्छ, उनलाई आफ्ना लागि त्यही घोडा ठिक होला जस्तो लाग्छ। बालक मुकुन्दको रोजाइ नन्दरामलाई मन पर्दैन। बाबु भन्छन्, ‘झन छोरोले ठूलो घोडा छान्ला भनेको त यस्तो लुते घोडा पो छान्छ।’ त्यसपछि मुकुन्द फेरि रनभुल्लमा पर्छन्। ‘आफ्ना लागि ठिक घोडा कुन हो भनेर कसरी थाहा पाउने?’ उनको बाल मस्तिष्कमा प्रश्न खेल्न थाल्छ। 

उनलाई उक्त घटना आफ्नो जिन्दगीको महत्त्वपूर्ण पाठमध्येको एक हो भन्ने लाग्छ। जुन अहिले पनि वेलावेलामा ओल्टाइ पल्टाइ पढ्ने गर्छन्। 

आफ्नो बाल्यकाल सम्झँदै उनी भन्छन्, ‘पहाडमा घरहरू टाढा टाढा हुन्थे। घरमा दाइ दिदी हुर्किसकेका थिए। नजिकै आफ्नो उमेर मिल्दो साथी कोही थिएन। आकाशको विराटता देखेर घण्टौँ टोलाएर पनि बस्थेँ। कहिलेकाहीँ यत्तिकै अत्यास लाग्थ्यो। मेरोजस्तै बाको पनि कोही साथी थिएनन्। हामी नै एक अर्काका साथी भयौँ।’ 

नन्दरामलाई नचिन्ने ठाउँ
पहाडमा थोरै अन्न उब्जाउन धेरै मेहनत गर्नुपर्थ्यो। तराईमा त्यति नै मेहनत गर्दा बढी अन्न भित्रिन्थ्यो। तराईमा औलोको जोखिम कम भइसकेको थियो। उनी भन्छन्, ‘त्यतिवेलै बच्चाहरूलाई पढाउनुपर्छ भनेर शिक्षाको महत्त्वका बारेमा भनिँदै थियो। पहाडमा स्कुल कम हुन्थे। भएका पनि टाढा हुन्थे। त्यसपछि हामी तराई झर्‍यौँ।’ पहाडमा सात गाउँ परसम्मकाले चिन्ने नन्दराम चितवनका लागि नयाँ नाम थियो। अब नन्दरामको छोरा भनेर मुकुन्दलाई कसैले चिन्नेवाला थिएन। त्यहीँबाट उनको नयाँ यात्रा सुरु भयो।

ट्रिगर अलर्ट
तरकारी बनाउँदा बनाउँदै उनलाई झट्ट कुनै छुटाउनै नहुने घटनाको सम्झना आउँछ। जुन घटनाले उनको शान्त बाल मस्तिष्कलाई पहिलो पटक नराम्रोसँग हल्लाएको थियो। झण्डै चार दशक बितिसक्दा पनि जुन घटना उनको दिमागमा तर्साउने गरी ताजा छ। एउटा पानामा चितवनको नक्सा कोर्दै उनी भन्छन्, ‘भर्खर भर्खर चितवन झरेका थियौँ। साथीहरूसँग खेल्दै खेल्दै पोखरा बसपार्कबाट उत्तर तर्फको (नारायणगढ मुग्लिन राजमार्ग खण्ड) नहरतिर पुग्याैँ। (आँखा ठूलो, आवाज अलि सानो)  नहर नजिक छेउको सिमलको रुखको फेदमा आठ वर्ष जतिको बच्चीको लाशको गिँड थियाे। त्यसले मेराे बाल मस्तिष्कमा आएकाे कम्पन म आज पनि महशुस गर्न सक्छु। अहिले झन भयानक लाग्छ।’ 

आज मान्छे र समाजलाई हेर्ने दृष्टिकोण अझ मसिनो हुँदै जाँदा मुकुन्द उक्त घटनाकी बच्ची, नमिता समितादेखि निर्मला पन्त र बाहिरै नआएका सबै पीडितलाई सम्झन्छन्। यो रोगको केही औषधि होला कि नहोला। निको होला कि नहोला? उनी घरी घरी गम्भीर हुने गर्छन्। घरी अचम्ममा पर्छन्। 

बिग्रेकाे ग्रह
नयाँ दुनियाँमा बनेका नयाँ साथीसँगै समयले उनलाई किशोर बनायो। आफू उभिन सक्नेगरी बलिया खुट्टा, जिम्मेवारी बोक्न सक्नेगरी बलियो काँधको माग गर्‍यो। समयले राम्रो भविष्यका लागि राम्रो पढाइ पनि माग्यो अनि उनी रुचि नभएको विषय गणित पनि पढ् भन्यो। जसले गर्दा जिन्दगीको हिसाब तलमाथि भयो। 

‘भविष्यमा के गर्ने? देशमै बस्ने कि विदेश जाने? जागिर खाने कि सधैँ हल्लिएर हिँड्ने?’ पढाइमा राम्रो गर्न नसकेपछि उनले यस्ता धेरै प्रश्न धेरै सुन्नुपर्थ्यो। कहिले अरुबाट, कहिले आफैँबाट। कुनै जागिर उनैले रोजेनन्। कुनै जागिरले उनलाई रोजेन। उनले रक्सी खान थाले। बिस्तारै उनलाई रक्सीले खान थाल्यो।  सबैतिर मुकुन्देले नन्दरामको इज्जत फाल्यो भन्न थालेका थिए। बुबासँग सानो छँदा जस्तो कुराकानी त हुन्थेन। तर नन्दरामले उनलाई कहिल्यै मेरो इज्जत फालिस् भनेर भनेनन्।

नन्दराम अर्याल

‘छिमेकमा म नामी जँड्याहा कहलिइसकेको थिएँ। एकदिन बा र म बाटोमा भेटियौँ’, उनी सम्झन्छन्, ‘बाको आँखा हेर्न डर लाग्थ्यो। बाले मलाई ढाडस दिँदै भने, ‘तँ नआत्तिएस्। यतिवेला तेरा ग्रह ठिक छैनन्।’

‘बुवा किताब पढ्ने गर्नुहुन्थ्यो। योग–ध्यान गर्नुहुन्थ्यो। त्यसको प्रभाव ममा पर्‍यो जस्तो लाग्छ। उहाँले उच्चारण गर्न नसकेका संस्कृतका कति शब्द मैले उच्चारण गर्न सक्थेँ’, उनी बाल्यकाल सम्झन्छन्, ‘बुवा कहिलेकाहीँ रिसाउनु पनि हुन्थ्यो। घरमा झगडा पनि हुन्थ्यो। त्यस्तो वेलामा म बुवाको हातमा किताब थमाइदिन्थेँ।’ 

मुकुन्द भात पकाउन चामल पखाल्छन्। निउरोमा पानी हालेर आगो सानो बनाउँछन्। पछिल्लो पटक खाना कहिले पकाएँ भन्ने उनलाई नै थाहा छैन। खाना भने उनले धेरैतिरको खाएका छन्। घरको, आफन्त, साथीभाइकोमा पाकेको अनि कारागारको पनि। 

मुकुन्द अदृश्य शक्तिमा विश्वास गर्छन्। उनी भन्छन्, ‘जति नै ठूलाे तनावमा भए पनि एउटा अबाेध बालकले आँखामा हेरेर हाँसिदियाे भने सबै तनाव गायब हुन्छ। याे कसरी हुन्छ? त्याे शक्ति अदृश्य हुन्छ। कुनै यन्त्रले नाप्न जाेख्न मिल्दैन। त्यस्तै नकारात्मक उर्जा पनि विभिन्न रूपमा बसेकाे हुन्छ।’ उनी कुनै एउटा धर्म या सम्प्रदायमा भने विश्वास गर्दैनन्, न त ग्रह दशा हेर्ने, मान्ने गर्छन्। तर, नन्दरामले बिग्रेको भनेको ग्रह अझै केही वर्ष ठिक भएन। केही समयपछि नन्दरामले संसार छाडे। नन्दराम बिरामी भएर थलिँदा मुकुन्द सँगै थिए। आफ्नै अगाडि काल छिटो आओस् भनेर कामना गरेको देखेर हुनसक्छ बुबाको मृत्यले मुकुन्दलाई त्यति धेरै दुःखी बनाएन। उनले यसलाई एउटा प्रक्रियाको रूपमै लिए। तर, मुकुन्दको सम्झनामा भने नन्दराम वेलावेलामा आइरहन्छन्। 

कारागारमा कविता
किशोर मुकुन्द शान्त र सन्तुष्ट बालक मुकुन्दभन्दा अर्कै भइसकेका थिए। उनी रक्सी हुँदै धुवाँ, धुलोमा पनि फसे। त्यही धुलो उनलाई कारागार पुर्‍याउने कारण बन्यो।

उनले जीवनको झण्डै पाँच वर्ष कारागारमा बिताए। जुन उनलाई आफ्नो जीवनको महत्त्वपूर्ण खण्ड लाग्छ। सुरुका केही वर्ष गुल्मी र त्यसपछिको समय चितवनमा बिताएका उनले कारागारभित्र सिंगो नेपाल देखे। देशको राजनीतिक अवस्था, शक्ति संघर्षको प्रतिबिम्ब कारागारमै देखे। फुर्सदमा आफूसँगै बस्ने समय पनि उनले कारागारमै पाए। जहाँ कुनै योजना हुन्थेन, के खाने भन्ने चिन्ता थिएन(खाना चाहे जस्तो होस्)। 

कारागारमै रहँदा उनले आकार लिँदै गए। वर्षौैँसम्म दोहोर्‍याइ, तेहर्‍याइ त्यहाँ आइपुग्दाको बाटो फर्केर हेरे। आफ्नो कसुर सम्झे। ​बालाई, आमालाई सम्झे। फेरि बाटो सम्झे। हुर्केको समाज सम्झे। आफू भित्रकाे खलपात्रलाई नियाले। त्यहीँ उनले पहिलो पटक कविता पढे। त्यहीँ उनले पहिलो कविता लेखे। यसले ‘थेरापी’काे काम गर्‍यो

रंगयात्रा
प्रेसर कुकरले सिट्टी हान्छ, चामलमा पानी बढी हुन्छ, कराईको निउरोले अलिकति अझै पानी माग्छ। मुकुन्द कारागारबाट फर्केपछिको ‘च्याप्टर’मा प्रवेश गर्छन्। पाँच वर्षपछि उनले त्यति फराकिलो आकाश देखेका थिए। केटाकेटी अलि ठूला भएका थिए। युवा भएका थिए, जो उनका साथी बने। दामली साथी आफ्नो आफ्नो बाटोमा अगाडि बढेका थिए। बुढाबुढी झन् बुढाबुढी भएका थिए। केहीले विदा लिइसकेका थिए, केही भर्खर आएका थिए। पाँच वर्षमा फर्किँदा त्यो बाहेक मुकुन्दले खासै फरक देखेनन्। धेरै पहिलेदेखि चिनेको मान्छे फरक वस्त्रमा उभिए जस्तो मात्रै लाग्यो। 

बाहिर आएपछि युवाको उर्जा सदुपयोग गरी कला, साहित्य तथा लोककल्याणको काममा खर्च गर्ने उनको चाह थियो। त्यही अनुरूप ‘फायर फ्लाइज’ नामक संस्था दर्ता भयो। पत्रिकामा छापिएको नाटकको समाचारले उनलाई चितवनबाट तानेर काठमाडौं ल्यायो। उनले त्यसरी हेरेको पहिलो नाटक थियो थिएटर भिलेजमा मञ्चन भएको ‘मकैको अर्कै खेती’। 

त्यसपछि उनलाई चितवनलाई पनि नाटक देखाउन मन लाग्यो। त्यसकै प्रयासस्वरूप कर्मी नाट्य समूहको स्थापना भयो। त्यसअघि अराजक अक्षर समूह बनिसकेको थियो। उनी युवाले आफ्नो उर्जा अनावश्यक ठाउँमा खर्च गर्नुभन्दा कला, साहित्यमा लगाउन् भन्ने चाहन्थे। त्यही अनुसार प्रस्ताव पनि अघि सारे, उर्जाका साथ युवा पनि सँगै उभिए। उनीहरूकै पहलमा राजधानीबाट प्रशिक्षण दिन रंगकर्मीहरू पुगे, देश भ्रमणमा निस्कने नाटकका लागि चितवनमा पनि एउटा स्टेसन बन्याे। कविता वाचन कार्यक्रमका लागि चर्चित कविहरू पुगे। सुरु गर्दा धेरैले वास्ता नगरे पनि बिस्तारै मान्छेहरू आफैँ आकर्षित हुन थाले।

तर, जुन उर्जाका साथ ति समूह बनेको थियो, काम भएको थियो त्यसले उही उर्जाका साथ निरन्तरता पाउन सकेन। सीमित स्रोत साधनका साथ काम गरेका उनीहरूका लागि आर्थिक पाटो सबैभन्दा ठूलो अवरोध थियो। त्यही मात्र गरेर जीवन चलाउन सकिने अवस्था थिएन। देउसी भैलो, कविता वाचन र नाटकको टिकटबाट त्यति धेरै पैसा पनि उठ्दैनथ्यो। आफ्नो आफ्नो परिवारमा सबैको भूमिका थियो, जिम्मेवारी थियो। सबैतिर मिलाउँदै चल्दा समूहको गतिमा प्रभाव पर्‍यो। 

चितवनमा साहित्यिक तथा रंगमञ्चीय गतिविधि बढाउन चाहने मुकुन्द मात्र छैनन्। सँगै काम गरेका साथी, चाहेर पनि काम गर्न नपाएका साथी, यी बाहेकका केही नयाँ र केही उमेर खाएका बूढापाकाको पनि यही चाहना छ। यी सबै उर्जा एकै ठाउँमा ल्याएर काम गर्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ। तर, सबैलाई नेतृत्व गर्नभन्दा पनि उनी माध्यम हुन चाहन्छन्। जो हुँदै पनि आएका छन्। उनी भन्छन्, ‘माला बन्छ भने मलाई फूल नै हुनु छैन। म धागो बन्नुमै सन्तुष्ट छु।’

झण्डै एक दशकदेखि रंगमञ्चमा सक्रिय मुकुन्दले ‘बाैलाहा काजीकाे सपना, श्रीमान् वीरबहादुर, चरणदास चाेर’ लगायतका आधा दर्जन स्टेज नाटक र केही सडक नाटकमा अभिनय गरेका छन्। केही एकल र सामूहिक कविता वाचन कार्यक्रममा भाग लिएका छन्।

बिहानको खान तयार भएको छ। खाना खाएर के गर्ने उनीसँग योजना छैन। योजनाले थिचिएर बस्नु उनको रुचिको विषय पनि होइन। तर, थिच्ने गरिका योजना नभए पनि एउटा एकल नाटक लिएर देश भ्रमण गर्ने उनको इच्छा छ। त्यसकै तयारीमा पनि छन्। नाम बाहेक उनले केही कमाएका केही मान्छे छन्। रक्सीकाे लतलाई नियन्त्रण गरिसकेका छन् चुराेटकाे लत बिस्तारै कम हुँदैछ। यी बाहेक उनीसँग भएका केही थान कविता संग्रह बनेर आउन प्रतीक्षारत छन्।

मुकुन्दकाे ‘अर्धनग्न सगरमाथा’ शीर्षककाे कविता

बजार खस्केकी
उमेर धस्केकी
नामी चलचित्र नगरीकी
दामी नायिका झैँ
अर्धनग्न मुद्रामा प्रस्तुत छे
सगरमाथा
पुनः सफल
एवं हिट हुने
अभिलाषा पालेर ।

मान्छेका मनका कीराहरुको
हिसाबकिताब राखी हिँड्ने
हिट निर्माता, निर्देशकजस्तो सूर्य
खिचेर श्लील क्यामेराले
धर्तीको पर्दामा छर्दैछ
थियटर प्रोजेक्टरका
हिलाम्य कामुक किरणहरु ।

मनोरञ्जनमा आश्रित छन्
तमाम आँखाहरु
गतिमान छन् केवल
छविरहित छायाहरू
कलहमा मस्त छन्
कवित्व कलमी गरिएका कयौँ  कायाहरू ।

उन्मत्त लिङ्ग झैँ सन्किएका छन्
धरहरा, मिनार, टावरहरू
हस्तमैथुनमा अनुरक्त छन्
तमाम शहरहरू ।

र, हरेक सडक र गल्लीहरूमा
सल्बलाउँदै छन्
शुक्राणुहरू
र, नारा लगाउँदैछन् तिनीहरू
घरी जिन्दावादका
घरी मुर्दावादका ।

यतिवेला मुकुन्द भृकुटी मण्डपको एउटा चिया पसलमा छन्। अगाडि चिया छ, हातमा सल्किरहेको चुरोट छ...

क्रमशः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.