|

पर्वत : समुन्द्र सतहबाट झण्डै २४ सय मिटरको उचाइ, गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, पाल्पा लगायतका जिल्लाहरू एकै ठाउँबाट नियाल्न सकिने ठाउँ हो पर्वतको भमरकोट।

मोदी गाउँपालिका–२ देउपुरमा रहेको भमरकोट प्राकृतिक दृश्य नियाल्नको लागि आकर्षक गन्तव्य हो। अन्नपूर्ण हिमशृङ्खलाको सहज अवलोकन गर्न सकिने भमरकोट बिस्तारै पर्यटकहरु तान्ने लयमा छ। धार्मिक पक्षले हेर्दा पनि भमरकोटलाई महत्त्वपूर्ण मानिन्छ। परापूर्व कालमा बनेको ऐतिहासिक मन्दिर वर्षा गराउनको लागि महत्त्वपूर्ण रूपमा हेर्ने गरिएको छ।

खडेरी लागेको बेलामा मन्दिरमा पूजा गर्दा इन्द्र देवता खुसी भई वर्षा गराइदिने गरेको जनविश्वास रही आएको छ। उक्त मन्दिरमा गएर भाकल गरेमा बर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास रहेको स्थानीय शिक्षक भूमिराज शर्मा बताउँछन्। ठुला घाँसे मैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने त्यस क्षेत्रको अर्को आकर्षण हो। विभिन्न प्रजातिका चराचुरुङ्गी, र जङ्गली जनावरहरू देख्न पाइने ठाउँ भमरकोट हो।

भमरकोट क्षेत्र बाइसी चौबिसी राज्यको बेलामा मल्ल राजाले शासन गरेको ठाउँ हो। त्यहाँ अहिले पनि ओखल लगायतका केही भग्नावशेषहरू देख्न सकिन्छ। अहिले पदमार्ग निर्माणको काम पनि चलिरहेको छ। कास्कीको नयाँ पुल वा पर्वतको पातीचौरबाट भमरकोट जान सकिन्छ। पैदल यात्रा गर्दै भमरकोट पुगेपछि त्यहाँबाट नजिकै रहेको अर्को पर्यटकीय गन्तव्य पुनहिल पुग्न टाढा छैन।

पदमार्ग निर्माणको क्रममा रहेका कारण केही मात्रामा पर्यटकहरु हिँड्ने गरेका छन्। मोदी गाउँपालिकाको पातीचौरबाट करिब एक घण्टा सवारीमा यात्रा गरेर कुश्मा नगरपालिकाको ठूलीपोखरीसम्म पुगेपछि त्यहाँबाट करिब दुई घण्टा पैदल यात्रा गरेपछि भमरकोट पुग्न सकिन्छ। यस बाहेक पातीचौर–पूर्णगाउँ–लाङदी हुँदै भन्ज्याङसम्म कच्ची सडक पुगेको छ। भञ्ज्याङ भमरकोटको नजिकै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.