|

काठमाडौं :  दशैँ तिहारमा परिवारका सबैजसो सदस्य भेला हुने गर्छन्। यो समयमा परिवारका सदस्यले वर्षभरीका दुःख सुख साट्ने गरिन्छ। सँगै विदामा फिल्म हेरेर बिताउने धेरैको बानी हुन्छ। देशका सबै ठाउँमा फिल्म हल नभएकाले हलमै गएर नयाँ प्रदर्शन भइरहेका फिल्म हेर्न सबैलाई सम्भव हुँदैन। यस्तोमा इन्टरनेटमा रहेका पुराना तथा नयाँ फिल्म राम्रो विकल्प हुन सक्छन्। 

यहाँ केही माैलिक र रमाइला नेपाली फिल्मको बारेमा बताइएको छ जसले दशैँको विदामा परिवारसँग बसेर हेर्न र विदालाई स्मरणीय बनाउन सक्छन्।

जात्रा
हलमा ५१ दिन मनाउन सफल जात्रा र जात्रै जात्रा प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा बनेका फिल्म हुन्। विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म कमेडी जनरामा बनेको छ। 

व्यवसायिक रुपमा मात्र नभएर कमेडी जनरामा बनेका राम्रा नेपाली फिल्म मध्येमा समीक्षकले पनि जात्राका दुवै भागलाई लिने गर्छन्। फेस्टिभ मुडमा आफ्नो परिवारसँग हेर्नको लागि जात्राका दुवै भाग उपयुक्त हुन सक्छ। 

कबड्डी
भर्खरै चौँथो फिल्म प्रदर्शनमा आएको कबड्डी फ्रेन्चाइजका तीन वटा फिल्म युट्युबमा उपलब्ध छन्। सिमित स्रोत साधनबाट निर्माण कार्य सुरु भएको कबड्डी चौंथो फिल्मसम्म आइपुग्दा व्यवसायिक रुपमा सर्वाधिक सफल नेपाली फिल्मको कीर्तिमान पनि बनाएको छ।

डार्क कमेडी जनरामा बनेका फ्रेन्चाइजका सबै फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कबड्डी फ्रेन्चाइजका सबै फिल्म विरकाजी पात्रको दृष्टी विन्दुबाट बनाइएको छ। जसको भूमिकामा दयाहाङ राई देखिएका छन्। दयाहाङ बाहेक विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकार कबड्डी फ्रेन्चाइजका सबै फिल्ममा रहेका छन्। 

छक्का पञ्जा
सर्वाधिक रुचाइएको र व्यवसायिक रुपमा सफल नेपाली फिल्म फ्रेन्चाइजमा अर्को नाम हो छक्का पञ्जा। यतिवेला दिपक दीपा समूह छक्का पञ्जा ४ को निर्माणमा व्यस्त छन्। भने प्रदर्शन भइसकेका तीन वटै फिल्म युट्युबमा उपलब्ध छन्। 

कमेडी जनरामा बनेका सबै फिल्ममा दीपकराज गिरी केन्द्रिय भूमिकामा छन्। उनी बाहेक केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल लगायतका कलाकार छक्का पञ्जा फ्रेन्चाइजबाट नै नेपाली फिल्ममा स्थापित भएका हुन्। 

यी बाहेक मह जोडी दशैँ नाक छोटो फिल्मसहित सबै प्रहसन र टेलिचलचित्रहरू परिवारसहित हेर्नको लागि राम्रो खुराक हुन सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.