|
फाइल

बाँके :  अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका- १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।

बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए।

राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरू त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्। अत्यावश्यक सामाग्री लिएर स्थानीयहरू आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए।

अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ। अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।

राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत स्थानमा बाढी आउँछ। जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको छ। बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारणहरू अहिले त्रसित छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.