|

कावासोती : अविरल वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् ।

बुधबार रातिदेखिको वर्षापछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए। उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरी १४४ घर डुबानमा परेका हुन्।

त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङ्गटार जोडने दलदले–कुमसोत– पोखरी सडकको पाङ्ग्रेमा पहिरो जाँदा अवरुद्ध भएको छ। 

सडक चालु हुन सकेको छैन भने जिल्लाको गैंडाकोटबाट पहाडी क्षेत्र जोड्ने कालीगण्डकी करिडोरमा गएको पहिरोसमेत पन्छाउन नसक्दा कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ। 

पहाडी क्षेत्र जोडने मुख्यसडकहरु पहिरोले अवरुद्ध हुँदा त्यहाँ पछिल्लो ७२ घण्टादेखि  सडक सम्पर्कविच्छेद भएको छ। सडक सम्पर्कविच्छेद भएका कारण दशैँ मान्न घर गएकाहरू फर्किन पाएका छैनन्। यस्तै उपचारका लागि सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामी समस्यामा परेका छन्। 

यो सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम पुग्न तनहुँको भिमान– खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने भएको छ।

लगातार परेको वर्षा पछि खसेको पहिरोका कारण जिल्लाको बौदिकाली र बुलिङ्गटारमा दुईवटा घर र बुलिङटारमा एउटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ। त्यस्तै जिल्लाकै विनयी त्रिवेणी–१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा २०० हेक्टर बढी पाक्न लागेको धानबालीमा पूर्णरूपमा क्षति पुगेको छ।

नारायणी नदीमा पानीको बहाव यो वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्णरूपमा प्रभावित भएको छ। गण्डक बाँधमा शुक्रबार साँझ ८ बजे  पानीको बहाव चारलाख १२ हजार क्युसेक पुगेको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.