पाँच हजार सहभागीमध्ये ३ हजारले भरे फारम
पाँच हजार सहभागीमध्ये ३ हजारले भरे फारम
काठमाडौँ : काठमाडौं महानगरपालिकाले हिजो(बुधबार)बाट टुँडिखेलमा ‘सीप मेला’ आयोजना गरेको छ। महानगरपालिकाका अनुसार यो मेला एक महिनासम्म सञ्चालन हुनेछ।
‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आम्दानी बढाउनु तालिम सञ्चालनको मुख्य लक्ष्य महानगरको छ। यो तालिम निःशुल्क सञ्चालन हुने हो।
‘दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो’
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्ति उत्पादन गर्नका लागि ‘सीप मेला’ आयोजना गरेको बताएकी छन्।
टुँडिखेलमा आयोजना भएको सीप मेलाको उद्घाटन गर्दै उनले भनिन्, ‘२०८१ सालको सीप मेलाबाट २०८१ जनाले रोजगारी पाऊस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो, बजारमा सीपयुक्त जनशक्तिको ठूलो माग र आपूर्तिका बीचमा ठूलो खाडल छ, एकातिर रोजगारदाताको सीपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरूमा योग्यतानुसारको रोजगार नपाएको गुनासो छ, रोजगार क्षेत्रमा देखिएको यो खाडल पुर्न हामी लागेका हौँ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले तालिम दिएको व्यक्तिहरूको निरन्तर निगरानी गरिरहने बताए। ‘हामीले तालिम दिएका व्यक्तिहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, हामी निरन्तर निगरानी गरिरहन्छौँ’, उनले भने, ‘उहाँले व्यावसायिक रूपमा प्राप्त गर्नुभएको उपलब्धिलाईं महानगरपालिकाका नयाँ तालिम कार्यक्रम सञ्चालन योजनामा आबद्ध गर्छौँ।’
के–के छन् तालिम ?
महानगरपालिकाका अनुसार सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन्। यो क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम छन्। तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो। यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन्।
दोस्रो निर्माण क्षेत्र हो। यसमा सिकर्मी, टाइल एण्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ। हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो। यसमा वारिस्ता, फुड एण्ड कुक, बेकरी, बार टेन्डिङ र वेटर/वेट्रेस प्रशिक्षण हुनेछ।
सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा विषय राखिएका छन्।
मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ। आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ। यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन्।
सातौँ क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ/ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा हुनेछ। आठौँ क्षेत्र ब्युटिसियन (सौन्दर्य कला) हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल र सैलुन प्रशिक्षण हुनेछ। नवौँ क्षेत्र डिजाइनिङ हो। यसमा साइन मेकिङ प्रशिक्षण हुनेछ। दशौँ विधा पुरोहित हो। यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ। मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना महानगरको छ।
‘यो तालिम अत्यन्त राम्रो छ, यसबाट अवसर मिल्ने छ’
तालिममा लिएका सहभागीहरूले तालिम लिइसकेपछि नेपालमा रोजगारी पाउने आशा लिएका छन्। त्यसैले अधिकांश सहभागी यो तालिमबाट खुसी छन्। तालिममा सहभागी सुमित्रा पाठकले यो कार्य अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिएकी छिन्। उनी पार्लरसम्बन्धी सीप सिक्दै छिन्।
त्यस्तै तालिमका लागि सहभागी अर्का राजलक्ष्मी थापाले महानगरपालिकाका प्रमुख बालेन साहले ल्याएको यो सीप मेला प्रशंसायोग्य रहेको बताइन्। ब्युटिसियन सिक्ने चाहना बोकेकी उनले भनिन्, ‘यो सीप मेला अत्यन्त राम्रो छ।’ कतिपय सहभागीले यस्तो खालको अवसर काठमाडौंमा मात्र नभई अन्य स्थानीय तहले पनि सञ्चालन गर्नुपर्ने माग राखेका छन्।
काठमाडौं महानगरपालिकाका अनुसार तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सीप्रदी ट्रेडिङ र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ।
पाँच हजारभन्दा बढी सहभागी, ३ हजारभन्दा बढीले भरे फारम
काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागकी निमित्त विभागीय प्रमुख विमला कोइरालाले हिजो मेलामा पाँच हजारभन्दा बढी सहभागी रहेको र तीन हजारभन्दा बढीले तालिमको लागि फारम भरेको जानकारी दिइन्।
उनले थाहाखबरसँग भनिन्, ‘यो कार्यक्रम गौरवको योजना हो। यसले भविष्यमा नीति बनाउन सहज हुने पनि छ, हिजोको भीडले कामपासँग जोडिएर काम गर्ने धेरै उत्साहित देखिए,अधिकांशले काम दिनुस् हामी गर्छौ भनेका छन्, यसबाट हामी पनि उत्साहित भयौँ।’
यसरी पाउनेछन् सीप सिकेकाले रोजगारी
काठमाडौं महानगरपालिका सामाजिक विकास विभागकी निमित्त विभागीय प्रमुख कोइरालाका अनुसार आजदेखि भोलिसम्म अभीमुखीकरण कार्यक्रम हुनेछ। तेस्रो दिनबाट तालिम सुरु हुनेछ। यो तालिम एक महिनापछि पनि निरन्तर सञ्चालन हुनेछ। तीन वर्षसम्म यो तालिम निरन्तर सञ्चालन हुने उनको भनाइ छ।
‘यो महिनाको अन्तिममा रोजगार मेला पनि लाग्छ, कसरी उहाँहरूलाई रोजगारीसँग जोड्न सक्नुहुन्छ, तपाईंको कम्पनीलाई कस्तो खालको जनशक्ति आवश्यक छ, हामी त्यस्तो उत्पादन गछौँ, उहाँहरूलाई लिइदिनुपर्छ भनेर हामीले दैनिक रोजगारदाताहरूसँग अन्तरसंवाद तथा छलफलमा छौँ’, उनले भनिन्।
उनका अनुसार तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा रहनेछन्। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछन्। यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउनेछन्।
‘हामीले पाँच हजारलाई रोजगार दिने योजना बनाएका छौँ। यो हाम्रो अठोट हो र १५ हजार जनालाई सीप सिकाएर दक्ष बनाउने लक्ष्य छ’, उनले भनिन्। उनका अनुसार हाल छलफलका वेला रोजगारदाताहरूले बढी हस्पिटालिटीको सीप, त्यसपछि सफ्टवेयरसम्बन्धी तालिम दिनु भन्ने माग गरेका छन्।
यी सीप सिकेकाहरूलाई ती रोजगारदाताहरूले जागिर उपलब्ध गराउनेछन्। रोजगारदाता भन्नाले (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र हुन्।
काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागकी निमित्त विभागीय प्रमुख कोइरालाले जागिरका लागि पहिला काठमाडौं महानगरपालिकाका बासिन्दा र त्यसपछि अन्यलाई प्राथमिकता दिने जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।