|
फाइल

सल्यान : दशैं लगायतका चाडपर्वलाई लक्षित गरी मर्मत सम्भार गरिएका जिल्लाका अधिकांश सडक वर्षाका कारण पुनः अवरुद्ध भएका छन्। दशैँअघि जिल्लाका मुख्य तथा सहायक सडकहरू मर्मत गरिएको थियो। मर्मत गरिएका सडक पुनः अवरुद्ध हुँदा पालिकाहरूलाई व्ययभारसमेत थपिएको छ।

सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक पुनः सूचारु गर्नतर्फ जुटेका छन्। खलंगा कालिमाटी, खलंगा जयतपानी सल्लीबजार, थारमारे चौरपानी चौरजहारी, श्रीनगर दहखोला, मोखला दमाचौर लगायतका तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन्। मर्मत गरेको केही दिनमा नै आएको वर्षाले पुनः सडक अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी अरुणले जानकारी दिए।

सदरमुकामबाट पालिका जोड्ने मुख्य सडकलाई पुनः डोजरको सहायताका सञ्चालनमा ल्याएको बताउँदै उहाँले पालिकाबाट जोडिने अन्य सहायक सडकलाई मौसममा सुधार आएपछि मर्मत गरिने उनको भनाइ छ। ठाउँ ठाउँमा खसेका पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भएको छ।

तिहार लगायतका अन्य चाडवाड आइसकेकाले मौसममा सुधार नभए पनि अवरुद्ध खलंगा जयतपानी सल्लीबजार सडक मर्मत गरी सञ्चालनमा ल्याएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले बताए।

दशैं अगावै मर्मत गरिएका अधिकांश सडक लगातारको वर्षाका कारण पुनः अवरुद्ध भएको उनको भनाइ छ। पालिकाको केन्द्रबाट जोडिएका अधिकांश सडक अहिले अवरुद्ध रहेको उनको भनाइ छ। मौसममा सुधार हुने बित्तिकै मर्मत गरिने उनले जानकारी दिए।

वर्षाले ओटासिल गरिएको राप्ती राजमार्ग पनि जीर्ण बनेको छ। ठाउँ ठाउँमा झरेको पहिरो र बाढीले सडक बगाउँदा दैनिक दुई हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने राजमार्गमा जोखिम मोलेर यात्रु हिँडिरहेका छन्। वातावरण प्रभाव मूल्यांकन नगरी जथाभावी खनिएका सडकका कारण थुप्रै बस्तीसमेत जोखिममा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.