‘ह्याट्रिक’ गर्ने दाउमा शक्ति बस्नेन

|

सुर्खेत :  पछिल्लो डेढ दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलबीच प्रतिस्पर्धा हुने गरेको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि माओवादी केन्द्र मिसिएको छ। जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ।

०७४ अघि जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए। २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए। 

२०५१ मध्यावधि निर्वाचन हुँदा दुवै क्षेत्र कांग्रेसले जित्यो। १ बाट झलकनाथ वाग्ले र २ बाट दीपकजंग शाह विजयी भए। यस्तै २०५६ सालको आम निर्वाचनमा कांग्रेस नतिजा शून्य भयो। १ बाट राप्रपाका गोविन्दविक्रम शाह र २ बाट एमालेका रत्नप्रसाद न्यौपानेले जिते।

कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले कब्जा जमायो। क्षेत्र नं. १ बाट कालीबहादुर मल्ल र २ बाट भक्तबहादुर शाह विजयी भए। 

२०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ बाट माओवादीका शक्तिबहादुर बस्नेत निर्वाचित भए, क्षेत्र नं‍. २ बाट भने कांग्रेसका राजीवविक्रम शाहले चुनाव जिते।

२०७४ मा प्रतिनिधिसभाको निर्वाचनमा जाजरकोट एउटै निर्वाचन क्षेत्र कायम भयो। यो निर्वाचनमा पनि बस्नेत र शाह आमनेसामने भए। तर एमालेको समेत साथ पाएर बस्नेतले बाजी मारे। बस्नेतले ३२ हजार दुई सय ८१ मत पाउँदा शाहले २३ हजार दुई सय ८९ मत ल्याए।

प्रतिनिधिसभाको कार्यकाल पूरा भइसकेकाले आगामी मंसिरमा पुनः निर्वाचन हुँदैछ। यो पटकको निर्वाचनमा माओवादी केन्द्रले पुनः शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ। अघिल्लो पटक एमालेको साथ पाएर जितेका बस्नेत यसपटक नेपाली कांग्रेससहितको सत्ता गठबन्धनको साथमा लगातार तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।

बस्नेतसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज आचार्यलाई अघि सारेको छ। अघिल्लो पटक माओवादीसँगको गठबन्धनका कारण प्रदेशसभा सदस्यको उम्मेदवार हुन नपाएका आचार्य यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्।

को कति बलियो?

२०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो। जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाअध्यक्ष एमालेले जितेको थियो। दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाअध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाअध्यक्ष जितेको थियो।

पाँच वर्षपछि २०७९ वैशाखमा दोस्रो पटक स्थानीय निर्वाचन हुँदा एमाले र कांग्रेसले समान तीन-तीन पालिका जितेका छन्। माओवादीले भने एउटा पालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भयो। 

यही निर्वाचनलाई आधार मानेर हेर्दा जिल्लामा सत्तारुढ गठबन्धनसँग करिब ४० हजार हाराहारी मत छ। एमालेको मत २६ हजार हाराहारी रहेको देखिन्छ।

प्रदेश सभातर्फ

प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अघिल्लोपटक गठबन्धन गरेका एमाले र माओवादीले एक-एक क्षेत्र बाँडेका थिए।  प्रदेश सभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार ९११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका वेदराज सिंहले १२ हजार ८७८ मत पाए।

त्यसैगरी प्रदेश सभा (ख) मा वाम गठबन्धनकै उम्मेदवार एमालेका करवीर शाहीले १५ हजार १८५ मत ल्याएर विजयी भए। कांग्रेसका दिपकजंग शाहले १० हजार ३६० मत पाएका थिए।

यो पटक एमाले एकातिर छ भने कांग्रेस र माओवादीसहित एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलगायत सत्तारुढ दल अर्कोतिर छन्। त्यसैले पनि प्रदेश सभाको दोस्रो निर्वाचन जाजरकोटमा थप रोचक हुने देखिन्छ।

(क) मा भेरी र नलगाड नगरपालिकासहित बारेकोट गाउँपालिका र कुशे गाउँपालिकाको पाँच वटा वडा छन्। गत वैशाखको स्थानीय निर्वाचनको मतअनुसार यो क्षेत्रमा सत्ता गठबन्धनसँग करिब २२ हजार मत छ। एमालेसँग करिब १४ हजार मत रहेको देखिन्छ। सत्ता गठबन्धनबाट प्रदेश (क) मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार हुनेछन्। एमालेले डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ।

यसैगरी छेडागाड नगरपालिकासहित जुनिचाँदे, शिवालय गाउँपालिका र कुसे गाउँपालिकाका चार वडा रहेको (ख) मा गठबन्धनसँग करिब १८ हजार मत छ। एमालेसँग भने १२ हजार हाराहारी मत छ। (ख) बाट  कांग्रेसले राजीवविक्रम शाहलाई उम्मेदवार बनाएको छ भने एमालेले खिमबहादुर शाहीलाई अघि सारेको छ। यिनै दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.