|

काठमाडाैं : कात्तिक १२ गतेबाट नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण शुरु हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयले हिभोनेटले यो वर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिइन्।

“यो वर्ष भौतिक र अनलाइन दुवै माध्यममा महोत्सव गर्दै छौँ। जीवनको अग्रभागमा रहने चलचित्रमार्फत साँस्कृतिक आदानप्रदान र प्रवर्द्धन गर्न तत्पर छौँ। जीवनलाई प्रभावित गर्ने बुझाइलाई समृद्ध बनाउने प्रभावकारी माध्यम नै यही हो’, उपप्रमुख हिभोनेटले बताइन्। 

महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाडौँस्थित चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ। त्यहाँ पाँच युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवमा रीता हुतानेन निर्देशित ‘गड्स अफ मोलेन्बेक’, लरेन्ट मिचेली र ओस्कार निर्देशित ‘लोला’ र आराश टी रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ नेपाली सबटाइटलमा प्रदर्शन हुनेछन्। 

महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’, किरण श्रेष्ठ निर्देशित ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गर्ल्स’ प्रदर्शन गरिनेछ। चलचित्र निर्माणको विभिन्न पक्षसँग सम्बन्धित तीन पूरक क्रियाकलाप तथा अन्तरसंवाद हुने महोत्सवकी सद्भावनादूत अभिनेत्री केकी अधिकारी छन्। 

‘यस किसिमको महोत्सवले हाम्रो चलचित्र निर्माण तथा काम गर्ने संस्कार बुझाउन मद्दत गर्छ। यसमा काम गर्न पाउँदा उत्साहित भएकी छु’, अभिनेत्री अधिकारीले भनिन्। महोत्सवअन्तर्गत प्रदर्शन हुने चलचित्रहरू अक्टोबर २८ देखि नोभेम्बर २८ वेबसाइटमार्फत निःशुल्क हेर्न पाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.