भूकम्प गएको ७ वर्षसम्म नापजाँच मात्र

|

काठमाडौं : वर्षौंदेखि जीर्ण अवस्थामा रहेको नेपालकै पहिलो उच्च शिक्षाको केन्द्र त्रिचन्द्र कलेजको डिजाइन गर्ने प्रकृया सकिन अझै समय लाग्ने भएको छ। शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले कलेजको डिजाइन बनाउने चरणमै रहेको जनाएको हो।

शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुख डिल्लीराम लुइँटेलका अनुसार डिजाइनको काम सकिन पुससम्म लाग्ने देखिएको छ। ‘अहिले कस्तो कलेज बनाउने भनी डिजाइन भइरहेको छ,फाइनल हुन अझै पुससम्म लाग्ला,’ उनले भने।

उनका अनुसार अर्थ मन्त्रालयले उक्त क्याम्पसलगायत अन्य ३७ वटा कलेजको पुनर्निर्माणको डिजाइनका लागि साढे ६ करोड बजेट विनियोजन गरेको छ।

भूकम्प गएको ७ वर्षमा पनि बनेन कलेज

पहिले नै जीर्ण ऐतिहासिक कलेज ०७२ सालको भूकम्पपश्चात् झन खण्डहर जस्तो बन्याे। भूकम्प गएको ७ वर्ष बितिसकेको छ तर कलेजको पुनर्निर्माण भएन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिमै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भवन र केन्द्रीय पुस्तकालय भवनको विस्तृत प्राविधिक परीक्षणपछि पुनर्निर्माण तथा मर्मतसम्भार गर्ने उल्लेख थियो।

तर प्राधिकरणको म्याद सकियो। यता ऐतिहासिक कलेजको पुनर्निर्माणले पूर्णता पाएन। अहिले कलेज झार जंगलले ढाकेको छ। 

चर्किएको भवनमा बसेर पढ्न बाध्य छन् विद्यार्थी। जोखिम मोलेर भए पनि विद्यार्थी पढ्न बाध्य भएको नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता गोविन्द कोइराला बताउँछन्।

उनका अनुसार विभिन्न जिल्लाका १२ हजारभन्दा बढी विद्यार्थी उक्त कलेजमा अध्ययनरत छन्। कलेजको नयाँ भवन नबन्दा पढ्न कक्षा कोठाको समस्या छ। ‘हामीले कलेज प्रशासन, सरकारलाई पटक पटक कलेज निर्माणको लागि आन्दोलन गरेर ध्यानाकर्षण गराएका छौँ, निर्माणका लागि काम भइरहेको जानकारी पाएका छौँ, निर्माण नभएसम्म हामी लागिपर्ने छौँ,’ उनले भने।

कलेज बनाउन शिक्षामन्त्री देवेन्द्र पौडेललाई मागपत्र बुझाउन खोज्दा पनि बुझ्न नमानेको भन्दै उनीहरुले गत जेठ ३१ गते कलेज अगाडि सडकमै पढाइ गरेर विरोध प्रदर्शन गरेका थिए।

आश्वासन मात्र दिए मन्त्रीले‚ भएन पुनर्निर्माण

अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष भदौमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै भनेका थिए, ‘मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्न प्रबन्ध गरिनेछ।’

तर एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण थालिएन। गत जेठमा आव ०७९/८० को बजेटमाथि भएको छलफलमा उक्त कलेजकाे विषयमा प्रश्न उठ्यो। त्यसपछि शिक्षामन्त्री पौडेलले जेठ ३१ गते यही आर्थिक वर्षमा त्रिचन्द्र कलेजलगायत त्रिविका अन्य आंगिक क्याम्पसको पुनर्निर्माण थाल्ने बताए।

उनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै भनेका थिए, ‘त्रिचन्द्र कलेजलगायत आंगिक क्याम्पस यसै आर्थिक वर्षबाट बनाउन प्रक्रिया शुरु गर्नेछौँ, एक्जिम बैंकको सहयोग प्रक्रिया ढिला भएकाले स्वदेशी बजेटले कलेज पुनर्निर्माण गर्ने छौँ।’ तर पनि खासै काम हुन सकेको छैन।

‘अब छिट्टै पुनर्निर्माण शुरु हुन्छ’

शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुख लुइटेलले त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि मन्त्रालय लागी परेको दाबी गरे। उनका अनुसार शिक्षा मन्त्रालयले डिजाइनको फाइनल गरेपछि पुनर्निर्माण गर्न सम्बन्धित निकायमा पठाइनेछ।

‘त्यसपछि टेन्डर आह्वान हुन्छ, अनि छिट्टै पुनर्निर्माणकाे काम शुरु हुन्छ,’ उनले भने। उनले त्रिचन्द्र  कलेजको पुनर्निर्माण एक्जिम बैंक (भारत) को सहयोगले बनाउने भएकाले काम ढिलाइ भएको बताए।

‘एक्जिम बैंकको सहयोगले कलेज बनाउने हो। प्रकृया ढिला छ, एक्जिमको यहाँ केही अफिस छैन,अर्थ मन्त्रायबाट त्यही बैँकमै जानुपर्ने हुन्छ,’ उनले भने। उनका अनुसार उक्त बैंकले कलेज निर्माणका लागि १६ अर्ब दिने भनेको छ। ‘यसअघि नै १६ अर्ब दिने भनेको रहेछ, अझै थप हुन्छ होला,’ उनले भने। 

राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा विसं १९७५ मा त्रिचन्द्र कलेज स्थापना भएपछि नै नेपालमा विधिवत् रुपमा उच्च शिक्षा आरम्भ भएको थियो। विसं १९७६ भदौ ५ मा विधिवत् रूपमा त्रिचन्द्रमा आइए र आइएस्सीका तथा विसं १९८१ देखि बिए र २००४ सालदेखि बिएससीको पठनपाठन शुरु भएको थियो।

तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुलेसम्म त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग थियो। परीक्षालगायत शैक्षिक मान्यता सोही विश्वविद्यालय अन्तर्गत दिइन्थ्यो।

(यो पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.