|

काठमाडौं : वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।

तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात र बिक्री वितरणमा रोक लगाएको हो। बिहीवार वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए।

उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताए। उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रीवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए।

घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिबन्ध रहेको बताए। उनले तिहार र छठजस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १  लाख रुपैयाँसम्म जरिवाना गरिने बताए।

उनले अनुगमनका क्रममा सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को  खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.