|

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २ हजार १८७ पुरूष र २२५ महिला छन्।

१३ जिल्ला रहेको बागमती प्रदेशमा प्रतिनिधिसभाका ३३ वटा निर्वाचन क्षेत्र छन्। देशको मुख्य राजनीतिसमेत रहेको बागमती प्रदेशमा रोचक प्रतिस्पर्धा हुँदैछ।

काठमाडौं

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेविवेट’ नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ। स्वतन्त्रको बिगबिगी रहेको काठमाडौंको निर्वाचनलाई देशभरिबाट चासोका साथ हेरिएको छ।

चर्चित व्यक्तिहरूले उम्मेदवारी दिएकाले पनि काठमाडौंको निर्वाचनमा सबैको चासो छ।

ठूला दलका पुराना नेताका साथै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र पूर्व डीआईजी रमेश खरेल, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, विवेकशील साझाका मिलन पाण्डे, नेकपा माओवादी केन्द्रबाट मानुषी यमी, स्वतन्त्रबाट रञ्जु दर्शनालगायतको उम्मेदवारीले काठमाडौंको निर्वाचन रोचक हुने भएको हो।

छैन चुनावी एजेण्डा, प्रधानमन्त्रीको ‘ललिपप’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार छन्। सिंहले आफूले चुनाव जिते प्रधानमन्त्री बन्ने बताउने गरेका छन्। यसलाई मतदाता प्रभावित पार्न सिंहले देखाएको ‘ललिपप’ को रूपमा बुझिएको छ।

अघिल्लो चुनाव वाम गठबन्धनका बाबजुत एक्लै चुनाव जितेका सिंहलाई नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको साथ छ।

उनलाई रोक्न राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र  पूर्व डीआईजी रमेश खरेल मैदानमा छन्। अघिल्लो निर्वाचनमा सिंहसँग ८१८ मतले पराजित भएका मिश्र यसपटक नतिजा उल्ट्याउने दाउमा छन्।

तर राजनीतिक अस्थिरताका कारण यसपटकको निर्वाचन उनलाई नै भारी पर्ने देखिएको छ। पत्रकारिता क्षेत्रबाट राजनीतिमा होमिएका मिश्रप्रति मतदाताको आशा थियो, त्यो अहिले घटेको छ। 

यता भ्रष्टाचारविरूद्ध अभियान चलाइरहेका खरेलले पनि मतदाताबाट राम्रै प्रतिक्रिया पाइरहेका छन्।

सामाजिक अभियन्ता पुकार बमले पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका उनले ‘खुला सिंहदरबार खुला संसद्’ लगायतका एजेण्डा बोकेका छन्। बमले आफूले चुनाव जिते सडकमा उठाएका मुद्दालाई संसदबाट स्थापित गर्ने बताए। उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्ने बताएका छन्।

नेकपा एमालेले यो क्षेत्रमा युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ। 

ओनसरीलाई चुनौती

काठमाडौं–२ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ।

पहिलो महिला सभामुखसमेत भएकी घर्ती यसपटक काठमाडौं –२ बाट चुनाव लड्दैछिन्। ‘टुरिस्ट उम्मेदवार’ को आरोप खेप्दै आएकी घर्तीले जोरपाटी साँखु सडक २ वर्षभित्र सम्पन्न नगरे राजीनामा दिने घोषणासमेत गर्न भ्याइन्। 

गत आइतबार प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘जोरपाटी साँखु सडकको समस्या वर्षौँदेखि छ। म निर्वाचित भएपछि आगामी दुई वर्षमा यदि त्यो कार्य गर्न सकिनँ भने म राजीनामा गर्छु। तपाईँहरूले मलाई विश्वास गर्नुस्।’

उनलाई चुनौती दिन नेकपा एमालेले मणिराम फुयाल, जसपाबाट गोपालबहादुर तण्डुकार, राप्रपाबाट कुन्तीदेवी पोखरेल स्वतन्त्र पार्टीबाट सोविता गौतम लगायतले उम्मेदवारी दिएका छन्।

क्षेत्र-३ मा नेकपा एमालेले कृष्णबहादुर राईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ। बद्रीप्रसाद बजगाईं माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्दैछन्। जनता समाजवादीले मोहनकुमार विश्वकर्मालाई उम्मेदवार बनाएको छ। 

क्षेत्र-४ मा एमाले–कांग्रेसबीच रोचक भिडन्त हुँदैछ। २०७० सालदेखि निरन्तर लड्दै आएका दुई उम्मेदवार फेरि आमनेसामने भएका छन्।

एमालेले राजन भट्टराईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले गगन थापालाई उम्मेदवार बनाएको छ।

थापाले २०७० सालदेखि सोही क्षेत्रबाट चुनाव जित्दै आएका छन्। एमालेका भट्टराई यो पटक थापासँग बदला लिने दाउमा छन्।

गठबन्धनको सहयोग पाएका थापाले पुनः संसद यात्राको ढोका खोल्ने अनुमान गरिएको छ। तर थापाले दुई कार्यकालमा कपन क्षेत्रको ढल व्यवस्थापन गर्न नसकेकाले मतदाताले भट्टराईलाई विकल्पका रूपमा हेर्न सक्ने कतिपयको अनुमान छ। 

क्षेत्र-५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल चुनावी मैदानमा छन्।

गठबन्धनको साथ पाएका पौडेलले सोही क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका पोखरेललाई चुनौती दिन गाह्रो पर्ने कतिपयको बुझाइ छ। कांग्रेसले २०७४ सालको हारको बदला लिन पौडेललाई चुनावी मैदानमा उतारेको छ। 

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल विजयी भएका थिए। माओवादीको साथ पाएका पोखरेलले २३ हजार २९ मत ल्याउँदै महतलाई पराजित गरेका थिए।

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरप्रमुखमा उम्मेदवारी दिएकी दर्शना यो पटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछिन्।

राप्रपाबाट डा.रामप्रसाद उप्रेती, स्वतन्त्रहरू विजय कँडेल, गोपीलाल न्यौपाने र मधुसुदन पाठक पनि यो क्षेत्रमा उम्मेदवार छन्।

भीमसेन दासलाई रोक्न सर्वेन्द्र मैदानमा

काठमाडौं–६ मा नेकपा एमालेले नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानविरूद्ध पूर्व आईजीपी सर्वेन्द्र खनाललाई चुनावी मैदानमा उतारेको छ। बलियो जनाधार भएको कांग्रेसले यसपटक पनि नेता प्रधानलाई दोहोर्‍याएको छ।

उनले २०७४ सालको निर्वाचनमा १६ हजार ७८५ मत ल्याउँदै माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका  थिए।

यसपटक माओवादीले प्रधानलाई सहयोग गर्दैछ। खनालका लागि प्रधान तगारो बन्ने आँकलन छ।

क्षेत्र-६ मा राप्रपाका विष्णुप्रसाद आचार्यले पनि उम्मेदवारी दिएका छन्।

मानुषीका लागि रामवीर चुनौती

युवा नेतृ मानुषी यमी काठमाडौं क्षेत्र-७ बाट चुनाव लड्दैछिन्। गठबन्धनको समर्थनमा मानुषीले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भएकी हुन्।

मानुषीका लागि स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर चुनौती बनेका छन्। २०७४ सालको निर्वाचन एमालेबाट जितेका मानन्धर यो पटक एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवार बनेका हुन्। एमालेले श्याम घिमिरेलाई टिकट दिएपछि मानन्धर रूष्ट बनेका हुन्।

नेपाल समाजवादी पार्टीकी नेतृ एवं डा. बाबुराम भट्टराईकी पुत्री मानुषी २०६५ सालमा त्रिविमा स्ववियु सचिव थिइन्। राजनीति शास्त्रमा 'गोल्ड मेडलिष्ट' मानुषी अभियन्ताको रूपमा परिचित छिन्। 

मानन्धर  २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचन भएका थिए। साथै राप्रपाबाट ध्रुवविक्रम मल्ल, स्वतन्त्रबाट यादवलाल कायस्थ र रवीन्द्रकुमार श्रेष्ठ उम्मेदवार छन्।

जीवनरामविरूद्ध सायमी

हाम्रो नेपाली पार्टीबाट सुमन सायमी काठमाडौं क्षेत्र-८ बाट चुनावी मैदानमा होमिएका छन्।

अभियन्ताका रूपमा स्थापित सायमीले सत्ता गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका नेता जीवनराम श्रेष्ठ र शिवसुन्दर राज वैद्यसँग प्रतिस्पर्धा गर्दैछन्।

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का संयोजक सायमी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यति बेला उनले आँखीझ्याल चुनाव चिह्नबाट १३ हजार ७७० मत ल्याएर चौथो भएका थिए।

२०७४ सालको निर्वाचनमा विजयी भएका श्रेष्ठलाई माओवादीसहित कांग्रेसको समर्थन छ। श्रेष्ठका लागि स्वतन्त्र उम्मेदवार सुमन सायमी भारी पर्ने देखिएको छ। नेवा समुदायको साथ पाएका सायमीले आफूलाई बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। 

कृष्णगोपाल​लाई रोक्ने दाउमा पाण्डे 

काठमाडौं–९ बाट विवेकशील साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डे प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

२०७४ सालको निर्वाचनमा पनि चुनावमा उत्रिएका पाण्डेले यसपटक नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठलाई रोक्ने तयारी रहेको बताएका छन्। आफूले बलियो प्रतिस्पर्धी नपाएको प्रतिक्रिया दिएका पाण्डेले यो पटक १७ हजार भोट ल्याएर चुनाव जित्ने दाबी गरेका छन्।

अघिल्लो निर्वाचनमा उनले चार हजार ९४६ मत पाएर तेस्रो स्थान लिएका थिए। यस क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ कल्पना धमला उम्मेदवार बनेकी छन्।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका श्रेष्ठले यस क्षेत्रबाट चुनाव जितेका थिए।  श्रेष्ठले २२ हजार ८५२ मत पाएका थिए। यस क्षेत्रबाट राप्रपाबाट देवेन्द्र प्रधान, स्वतन्त्रबाट विद्या श्रेष्ठ महर्जन उम्मेदवार छन्। 

दोहोरिने दाउमा केसी

काठमाडौं–१० मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राजनबहादुर केसी उम्मेदवार बनेका छन्। नेकपा एमालेले युवा नेता हिमेश केसीलाई उम्मेदवार बनाएको छ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गर्दै २४ हजार १९० मत ल्याएका केसीलाई योपटक गठबन्धनको समेत साथ छ।

यता नेकपा माओवादी केन्द्रको एकल चुनाव चिह्नबाट अन्जना विशंखेले उम्मेदवारी दिएकी छन्। माओवादी केन्द्रले क्षेत्र-१० मा गठबन्धन तोडेर विशंखेलाई समर्थन गरेको छ। यो क्षेत्रको निर्वाचन गठबन्धनका उम्मेदवारबीच नै तीव्र प्रतिस्पर्धा हुनेछ। 

भक्तपुरमा रोचक भिडन्त

दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरको चुनाव रोचक हुने भएको छ। क्षेत्र-१ मा नेपाल मजदुर किसान पार्टीले प्रेम सुवाललाई मैदानमा उतारेको छ। २०७४ सालको निर्वाचनमा विजयी भएका सुवाललाई रोक्न सत्ता गठबन्धन र नेकपा एमाले नै लागि परेका छन्।

गठबन्धनले नेकपा माओवादी केन्द्रका सुनिल गोठेलाई उम्मेदवार बनाएको छ। सुवालले ३३ हजार ७६ मत पाएका थिए। नेमकिपाको पकड मानिएको यो क्षेत्रमा फेरि पनि सुवालले चुनाव जित्ने सम्भावना बढेर गएको छ। उक्त क्षेत्रमा नेकपा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ।

एमालेलाई कठिन

भक्तपुर क्षेत्र-२ मा नेकपा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेसका दुर्लभ थापालाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा क्षेत्र-२ मा जितेको एमालेका लागि यसपटक चुनौती देखिएको छ।

एकीकृत समाजवादीले साथ छोड्दा एमालेलाई जित हासिल गर्न कठिन पर्ने देखिएको हो।

क्षेत्र-२ नेपाली कांग्रेसका वडाध्यक्षहरूले पाएको मत धेरै देखिन्छ। यसरी वडाध्यक्षहरूले पाएको मतको आँकलन गर्दा क्षेत्र-२ अन्य दलको समेत साथ पाउने अवस्थामा गठबन्धनका उम्मेदवारले जित हासिल गर्न सहज हुने देखिन्छ। 

ललितपुर

तीनवटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा चुनाव जितेका एमालेका नवराज सिलवाल यो पटक विरासत जोगाउने दाउमा छन्।

उनीविरूद्ध सत्ता गठबन्धनले नेपाली कांग्रेसका उदयशमशेर राणालाई मैदानमा उतारेको छ। राणा अघिल्लो निर्वाचनमा सिलवालसँग पराजित भएका थिए।

सिलवालले माओवादी केन्द्र र एमालेबाट विभाजित भएर गएको नेकपा एसको मत गुमाउने छन्। यसपटक सिलवालका लागि गठबन्धन चुनौतीका रूपमा खडा भएको छ। 

साथै क्षेत्र-२ मा सत्ता गठबन्धनले एकीकृत समाजवादीका कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको छ। महर्जन अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएका थिए। हाल उनी एकीकृत समाजवादीमा प्रवेश गएका छन्।

महर्जनले एमालेको भोट काट्नेछन्। एमालेले कृष्णलालविरूद्ध प्रेमबहादुर महर्जनलाई मैदानमा उतारेको छ।

क्षेत्र-३ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले अमृत खड्कालाई उम्मेदवार बनाएको छ।

भुसाल २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा निर्वाचित भएकी थिइन्। उनलाई यसपटक कांग्रेससहित नेकपा एसको समर्थन छ। 

यद्यपि, गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत परिणामका आधारमा हेर्ने हो भने तीनै क्षेत्रमा कांग्रेस अघि देखिन्छ। दोस्रो स्थानमा नेकपा एमाले छ। यसकारण कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत जोड्दा गठबन्धनलाई सहज पर्ने देखिन्छ।

विरासत जोगाउने दाउमा कांग्रेस

२०७४ सालको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट निल भएको नेपाली कांग्रेस यसपटक विरासत फर्काउने दाउमा छ। दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रे १ बाट माओवादी केन्द्र र २ बाट एमालेले जितेको थियो। सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले क्षेत्र नम्बर २ मा शिवप्रसाद हुमागाईँले नेकपा एमालेका गोकुल बाँस्कोटाविरूद्ध मैदानमा उतारेको छ।

आफ्नो मत नभएको क्षेत्रमा कांग्रेसले उम्मेदवार खडा गरे पनि माओवादी र नेकपा एसको मत जोड्दा बास्कोटालाई अफ्ठ्यारो पर्ने देखिएको छ।  स्थानीय निर्वाचनलाई हेर्दा क्षेत्र नम्बर १ मा कांग्रेस अघि देखिन्छ। तर, यस क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ। माओवादीले सूर्यमान तामाङ दोङलाई टिकट दिएको हो। यता नेकपा एमालेले रेशमबहादुर लामालाई उम्मेदवार बनाएको छ। 

सिन्धुपाल्चोक

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ। २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ बाट नेकपा माओवादीका अग्निप्रसाद सापकोटा र २ बाट शेरबहादुर तामाङ विजयी भएका थिए। सत्ता गठबन्धनले अघिल्लो निर्वाचनमा सापकोटासँग पराजित भएका नेपाली कांग्रेसका महेश बस्नेतलाई मैदानमा उतारेको छ। 

क्षेत्र नम्बर १ मा नेकपा एमालेले सरेश नेपाललाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका माधव सापकोटालाई चुनावी मैदानमा उतारेको छ। निवर्तमान सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा गरेपछि माओवादीबाट माधव सापकोटाले टिकट पाएका हुन्।

क्षेत्र नं १ मा आगामी निर्वाचनमा यसअघि प्रतिस्पर्धा गरेका दुवै नेता गठबन्धनमा रहेका कारण दुई मध्ये एकले टिकट पाउँदा गठबन्धनलाई जित निकाल्न सहज पर्ने देखिन्छ। 

गत स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन भनिए पनि सिन्धुपाल्चोकका धेरै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा भएको थियो। जसअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका वडाध्यक्षहरूले ल्याएको मत धेरै छ। क्षेत्र नं २ मा नेकपा एमाले अघि छ।

दोलखा

एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा एमालेले बालकृष्ण सिवाकोटीलाई टिकट दिएको छ। दोलखाबाट २०७४ सालको निर्वाचनमा एमालेका पार्वत गुरूङले सबैभन्दा बढी ५५ हजार ४५७ मत पाएका थिए। सत्ता गठबन्धनले दोलखाबाट माअ‍ोवादी केन्द्रकी गंगा कार्कीलाई उम्मेदवार बनाएको छ।

गत स्थानीय तहको मतपरिणाम अनुसार दोलखामा एमाले बलियो पार्टी छ। दोलखामा गठबन्धन भएपनि आफूले निर्वाचन जित्नेमा ढुक्क छन्, एमाले उम्मेदवार। 

विरासत फर्काउने दाउमा कांग्रेस

२०७४ सालको निर्वाचनमा नुवाकोटबाट निल खाएको कांग्रेस यो पटक विरासत फर्काउने दाउमा छ। कांग्रेसबाट राष्ट्रिय राजनीतिमा रहेका नेताहरू पराजित भएपछि यसपटक गठबन्धन कांग्रेसका लागि विरासत जोगाउने प्रयास हुनेछ। दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा यसअघिको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए।

नेपाली कांग्रेसको राम्रो पकड रहेको जिल्ला भए पनि २०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण दुवै क्षेत्र गुमाउनु परेको थियो। त्यतिबेला क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए। 

यो पटक माअ‍ोवादी केन्द्रले क्षेत्र नम्बर १ मा हित बहादुर तामाङलाई उम्मेदवार बनाएको छ। तामाङले यसअघिको निर्वाचन यही क्षेत्रबाट जितेका थिए। उनले कांग्रेस नेता डा. रामशरण महतलाई पराजित गरेका थिए।

 एमालेले बद्री मैनालीलाई उम्मेदवार बनाएको छ। यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले टिकट पाएका छन्। उनले एमालेका नारायण प्रसाद खतिवडासँग प्रतिस्पर्धा गर्नेछन्। केसी र खतिवडा २०७४ सालको निर्वाचनका प्रतिस्पर्धी पनि हुन। ३६ हजार ८९२ मत पाएका खतिवडाले केसीलाई पराजित गरेका थिए। यसपटक खतिवडाका लागि केसी भारी पर्ने देखिएको छ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने कांग्रेस सबैभन्दा बलियो छ। दुवै क्षेत्रमा एमाले दोस्रो र तेस्रो स्थानमा छ। 

रामेछाप 

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेस विरासत जोगाउने दाउमा लागेको छ। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएको रामेछापमा कांग्रेसले अघिल्लो निर्वाचनमा पराजय भोगेका पुर्ण वहादुर तामाङ लाई उम्मेदवार बनाएको छ।

यो जिल्लाबाट ०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारले विजयी भएका थिए। गत स्थानीय तहको निर्वाचन मत परिणामका आधारमा रामेछापमा कांग्रेस अघि देखिन्छ। यसकारण गठबन्धनका उम्मेदवारको जित सहज देखिन्छ। 

रसुवा

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। वाम गठबन्धन हुँदा पनि कांग्रेसका मोहन आचार्य १४ हजार ४५३ मत ल्याएर विजयी भएका थिए।

यो पटक पनि कांग्रेसले आचार्यलाई उम्मेदवार बनाएको छ भने एमालेले छोवाङ तेन्जिङ तामाङलाई उम्मेदवार बनाएको छ।  गत स्थानीय निर्वाचनको मत परिणामको आधारमा पनि कांग्रेस नै अघि देखिन्छ। त्यसैले यो क्षेत्रमा गठबन्धनलाई सहज देखिन्छ।

धादिङ

२०७४ सालको निर्वाचनमा दुई वटा क्षेत्रमा विजयी भएको एमालेलाई यो पटकको निर्वाचन पार्टी विभाजन भएसँगै भारी पर्ने देखिएको छ। वाम गठबन्धनको सहयोगमा एमालेले यसअघि दुवै क्षेत्रमा विजय भएको हो। त्यसबेला कांग्रेसका उम्मेदवार पराजित भएका थिए।

क्षेत्र नम्बर १ मा एमालेका भूमिप्रसाद त्रिपाठी ४९ हजार १२१ मत प्राप्त गर्दा कांग्रेसका  विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत प्राप्त गरेका थिए। यो पटक पनि एमालेले त्रिपाठीलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले नेकपा एसका राजेन्द्रप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ। 

क्षेत्र नम्बर २ मा एमालेका खेमप्रसाद लोहनी विजयी भएका थिए।  लोहनीले यो पटक पनि टिकट पाएका छन्। उनीविरूद्ध कांग्रेसले रामनाथ अधिकारीलाई मैदानमा उतारेको छ।  गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा भने एमाले क्षेत्र नम्बर १ मा अघि छ। त्यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेस अघि छ। एमालेसँग ४ हजार हाराहारी मतान्तरमा रहे पनि अन्य दलको साथ हुँदा एमालेसँग प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।

सिन्धुली

दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धाहुने भएको छ। क्षेत्र नम्बर १ मा नेकपा एमालेले प्रदिप कुमार कटुवाल क्षेत्री (केसी)लाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले श्यामकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर २ मा एमालेका मनोज जंग थापा उम्मेदवार छन् भने माओवादी केन्द्रका लेखनाथ दाहाल उम्मेदवार छन्। 

२०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए, जसअनुसार एमाले १ मा र माओवादी केन्द्र २ मा विजयी भएको थियो। यद्यपि, अहिलेको पाँच दलीय गठबन्धनका कारण एमाले धरापमा परेको छ। स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नं १ मा वडाध्यक्षले पाएको कुल मतको आधारमा नेपाली कांग्रेस अगाडि छ। त्यस्तै क्षेत्र नं २ मा वडाध्यक्षहरूले पाएको मतको आधारमा एमाले अघि छ। 

चितवन

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा ०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्र वाम गठबन्धनले बाजी मारेको थियो। यद्यपि, आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर गएको अवस्थामा पनि एमालेसँग तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। गत स्थानीय तहको निर्वाचनको कुरा गर्ने हो भने तीन वटै निर्वाचन क्षेत्रमा एमालेका वडाध्यक्षहरूको मत अगाडि छ। दोस्रो नम्बरमा नेपाली कांग्रेस छ।

यद्यपि, एमाले–कांग्रेसको मतान्तर भने धेरै छ। जसका कारण गठबन्धनलाई चितवनमा एमालेसँग जुध्न त्यति सहज भने छैन। चितवन क्षेत्र नम्बर १ मा दुई जना अर्थशास्त्री चुनावी मैदानमा छन्। नेकपा एमालेबाट पार्टी केन्द्रीय उपाध्यक्षसमेत रहेका सुरेन्द्रप्रसाद पाण्डे र गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेसबाट योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्वनाथ पौडेल चुनावी मैदानमा होमिएका हुन्।

दुई अर्थशास्त्रीबीचको भिडन्त रोचक हुने भएको छ। क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट कृष्णभक्त पोखरेल, पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले उम्मेदवारी दिएका छन्।  चितवन क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका डा. भोजराज अधिकारी, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन्।

त्यसबाहेक गठबन्धन दलको निर्णयविपरीत नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र नेपाली कांग्रेसबाट कारबाहीमा परेका नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

रोचक बन्दै मकवानपुर 

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन रोचक हुने देखिएको छ। २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट मकवानपुरको दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका थिए। क्षेत्र नं १ मा कांग्रेससँगको सहकार्यमा राप्रपाले वाम गठबन्धनसँग प्रतिस्पर्धा गरेको थियो। यो पटक परिस्थिति उल्टिएको छ।

राप्रपा एक्लै चुनावमा होमिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट चुनाव लड्दैछन्। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री डा. महालक्ष्मी उपाध्याय (डिना) उम्मेदवार छिन्। क्षेत्र नम्बर २ मा एमालेले पूर्वसहकर्मीविरूद्ध महेशकुमार बर्तौलालाई मैदानमा उतारेको छ। बर्तौलाले आफ्ना पूर्व सहकर्मी नेकपा एसका नेता विरोध खतिवडासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

खतिवडा २०७४ सालको निर्वाचनमा विजयी भएका थिए। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएका खतिवडा यसपटक पनि बाजी मार्नेमा ढुक्क छन्।स्थानीय निर्वाचनको मत परिणामका आधारमा पनि दुवै क्षेत्रमा एमाले बलियो देखिन्छ। मकवानपुरमा तत्कालिन नेकपा विभाजन हुँदा एमालेका धेरै नेता एकीकृत समाजवादीमा गएका कारण पनि एमालेलाई केही गाह्रो हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.