|

पर्वत : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मिति नजिक गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत माग्न अपनाउने तरिका पनि फरक फरक हुँदै जान्छन्।

निर्वाचनको मिति घोषणा भएपछिबाट राजनीतिक दलहरूमा बिस्तारै सलबल शुरु हुन्छ। टिकट पाउनका लागि दलका नेतालाई ढोग्नुपर्ने उम्मेदवारको बाध्यता छ। त्यो बाध्यता सकिएपछि शुरु हुन्छ मतदातालाई ढोग्ने काम। निर्वाचन जितेर गएपछि जनताका काम पूरा नगरेको, आफूले भनेको काम नगरिदिएको, आफ्नो कुराको सुनुवाइ नगरिदिएको लगायतका आरोप चुनाव जितेकाहरूले पाउँछन्।

हुन पनि निर्वाचनको बेलामा आफैँले सम्झिन नसक्ने गरेर दिएका आश्वासन पूरा पनि हुँदैनन्। जे बोलेर हुन्छ जे गरेर हुन्छ मत चाहिँ पाउनुपर्छ भन्ने मानसिकतामा रहने उम्मेदवारले आफैँले बोलेका सबै कुरा पूरा गर्न नसक्दा ठाउँ ठाउँमा आलोचना हुन्छ।

त्यही आलोचना मोचनको सहज उपाय हो, ‘ढोग’। चुनावी प्रचारप्रसारको क्रममा जिल्लाका गाउँगाउँमा पुगेका नेताहरू ज्येष्ठ नागरिक देख्दासाथ ‘लौ आशीर्वाद दिनुहोस्’, ‘हजुरको आशीर्वाद लाग्छ मलाई’, ‘म हजुरकै सन्तान भन्दा फरक छैन’, ‘हजुर त भगवान् हो, भगवानको आशीर्वाद बिना म कसरी सफल हुँला?’ यस्तै यस्तै भन्दै हातमा ढोग गर्दै मत माग्नमा व्यस्त छन्। चुनावका वेला मात्रै कार्यकर्ता र मतदाता चिन्ने संस्कारबीच एकैपटक ‘ढोग’मा पुग्दा भने नसुहाउँदो हुने सर्वसाधारण जनता बताउँछन्।

‘पाँच वर्षसम्म हामी के आपतमा छौँ, कस्ता समस्या भोगियो, खेती गर्ने बीउ भएन, खेतमा छर्ने मल भएन। यी सबै कुरामा ध्यान दिएको भए ढोगेको भन्दा बढी धर्म मिल्ने थियो। मल नपाएर रोएका हामीलाई मल कसले व्यवस्था गरिदियो?’, जिल्लाको फलेवास नगरपालिकाका कृषक कमलप्रसाद शर्मा भन्छन्, ‘चुनावका वेला ढोगेर हाम्रो जीवन परिवर्तन हुँदैन। जनताका काममा ध्यान दिए हामीलाई ढोगेभन्दा बढी हुन्छ। चुनावका वेला ढोग्ने अनि देख्नै नपाइने भएपछि ढोगेर मात्रै के काम?’ 

पर्वतमा मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूको बीचमा देखिएको छ। अन्य दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाहरूको प्रभाव यी दुई शक्तिको भन्दा कमजोर छ। यही कारण पनि जुन कुनै हालतमा मत आफ्नो पक्षमा ल्याउनुपर्ने बाध्यतामा गठबन्धन र एमालेका उम्मेदवारहरू छन्।


(मतदातासमक्ष पुगेर ढोग गर्दै उम्मेदवारहरू : प्रदेशसभा ‘ख’का एमाले उम्मेदवार मित्रलाल बस्याल। प्रदेशसभा ‘ख’का सत्तारुढ गठबन्धनका उम्मेदवार ऋषिकेश तिवारी। सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार। प्रदेशसभा ‘क’का एमाले उम्मेदवार भक्तबहादुर कुँवर। एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.