|

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन्। बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशी विदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए । 

उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए। गठबन्धनलाई टुट्याउन विदेशी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षडयन्त्रलाई चिर्दै गठबन्धन अघि बढेको बताए । 

‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरूको एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘देशी विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ।’

देशमा विभिन्न समस्या रहेको बताउँदै गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे। बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै कृषि क्याम्पस स्थापनाका लागि आफूले निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे।

गत निर्वाचनमा सिसा खानीको पुल बनाउने बाचा गरेको स्मरण गदै विभिन्न कारणले अल्झेको भन्दै चाँडै काम हुने बताए।  जनताको मतसँगै विकास र समृद्धि जोडिएको भन्दै बागलुङको विकासका लागि जीवन रहेसम्म लागि रहने प्रतिबद्धता व्यक्त गरे। 

बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए। प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.