|

गौर : सूर्य भगवान् एवम् दिनानाथको पूजाआजा गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ। आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ।

दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ खीर बनाएर आफू ग्रहण गर्नुका साथै घरपरिवारका सदस्यहरूलाई खान दिन्छन्। सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चार दिनसम्म मनाइने छठ व्रतालुले नुहाएर अरबा अरबाइन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत् रूपमा सुरु भएको हो।

त्यसअघि व्रतालुहरूले माछा र कोदो खाँदैनन्। भोलि आइतबार छठ पर्वको मुख्य दिन रहेको छ। छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य  दिइन्छ।

चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रूपमा खीर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि समापन हुने गर्दछ।

छठको मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ। यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्री चढाइन्छ।

त्यस्तै प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्यलाई चढाउने गरिन्छ। अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन्। छठमा सूर्य (दिनानाथ)लाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ।

यस्तै रौतहट लगायत तराई मधेशवासी अहिले पूर्णरूपमा छठको तयारीमा जुटेका छन्। छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिवेला बजारमा घुइँचो लाग्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.