|

तुल्सीपुर : जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले दाङको निर्वाचन क्षेत्र नं. १ बाट तेस्रो लिंगी लमही नगरपालिका-३ मजगाउँकी शिल्पा चौधरीलाई उम्मेदवार बनाएको छ।

२०६० सालदेखि कम्युनिष्ट राजनीतिमा लागेकी चौधरी नेकपा एमाले हुँदै पार्टी विभाजनपछि नेकपा समाजवादीमा गएकी थिइन्। उनी अहिले उक्त पार्टीकी लुम्बिनी प्रदेश कमिटी सदस्य, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य र नेपाल थारू संघकी उपाध्यक्ष पनि हुन्। आफूलाई पार्टीले तेस्रो लिंगी भएका कारण नभई पार्टीमा गरेको मेहनत र योगदानका कारण आफूले टिकट पाएको बताइन्।

अहिले मतदाताको घरघरमा
निर्वाचनको मिति नजिकिँदै गर्दा शिल्पा पनि भोट माग्न व्यस्त छिन्। उनले अहिले मतदातासँग भेटघाट र छलफल गर्दै आएको बताइन्। उनले भनिन्, ‘१८ गतेसम्म कुनै पनि ठूला कार्यक्रम गर्न नमिल्ने भएकाले अहिले भेटघाट गर्दै भोट माग्दै आएकी छु। धेरै ठाउँबाट हामीकहाँ आउनु पर्‍यो भनेर फोन आउँछ। धेरै खुशी छु।’  

उनले आफू चुनौतीको सामना गरेर यहाँसम्म आइपुगेको पनि अझै धेरै चुनौती रहेको बताइन्। चुनौती यौनिक तथा अल्पस‌ंख्यकले भोगिरहेको हुँदा त्यसलाई सम्बोधन गर्न आफू चुनावी मैदानमा आएको पनि उल्लेख गरिन्। आफ्नो मेहनत र योगदानलाई पार्टीले सम्बोधन गरेर टिकट दिएर साथ दिएको हुँदा आफू धेरै खुशी भएको बताइन्।

उनले भनिन्, ‘अहिले पनि हामीलाई समाजले हेर्ने दृष्टिकोण फरक छ। मलाई पार्टीले तेस्रो लिंगी तथा महिला भएको कारणले मात्र नभई सक्षम र केही गर्ने सक्ने क्षमता भएका कारणले टिकट दिएको हो। अहिले गाउँघरमा मतदातासामु जाँदा पनि उहाँहरूले मलाई साथ दिने वचन दिनुभएको छ।’

ओझेलमा परेका हाम्रा मुद्दा उठाउने मेरो प्रमुख एजेण्डा
उनले अहिले पनि यौनिक तथा अल्पसंख्यक समुदायका मुद्दा ओझेलमा परेको भन्दै राज्यबाट पाउनुपर्ने अधिकार आफूहरूले अहिलेसम्म नपाएको हुँदा यो आफ्नो प्रमुख एजेण्डा रहेको र आफूले जितेपछि त्यसलाई पहिलो प्राथमिकता दिने समेत बताइन्। उनले संविधानमा उल्लेख गरिएका केही कुरा मात्र सम्बोधन भए पनि नीतिगत रूपमा नराखिएको पनि बताइन्।

उनले भनिन्, ‘मैले जितेपछि हाम्रो समुदायको समलिंगी विवाह, नागरिकता, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषय उठाउनेछु। मैले यौनिक तथा अल्पसंख्यक समुदायका साथै जनताका समस्या समाधान गर्नेमा ध्यान दिनेछु। अझै पनि विभिन्न समुदायमा मुद्दा ओझेलमा परेका छन्। ती सबैलाई सम्बोधन गर्ने प्रयास गर्नेछु। त्यसका लागि मलाई यहाँका जनताले साथ दिनेमा विश्वस्त छु।’

उनले आफू व्यक्ति फरक नभएको भन्दै पहिचान मात्र फरक रहेको पनि बताइन्। अन्य उम्मेदवारले जस्तै आफूले चुनावी एजेण्डा बनाए पनि आफ्नो पहिचानले गर्दा पहिलो प्राथमिकता यौनिक तथा अल्पसंख्यक समुदायको बनाएको पनि बताइन्।

चौथोपटकमा टिकट
शिल्पालाई २०७० र २०७४ सालमा पनि समानुपातिक कोटामा नाम सिफारिस गरिएको थियो तर उनले त्यो समयमा विभिन्न कारणले टिकट नपाए पनि योपटक भने टिकट पाएकी छन्।

आफन्त खुशी
बेग्लै पहिचान भएकी शिल्पाले योपटक समानुपातिकमा टिकट पाएपछि उनका आफन्त पनि खुशी छन्। उनी तेस्रो लिंगी, थारू महिला मात्र नभई काम गर्ने सक्षम भएका कारण पार्टीले सही मूल्यांकन गरेको तुलसीपुर-१५ की हरा चौधरीले बताइन्।

उनले समाजमा फरक पहिचान भएको व्यक्ति लामो समयदेखि राजनीतिमा सक्रिय हुँदा पार्टीले मूल्यांकन गरी समाजवादीले टिकट दिएकाले धेरै खुशी भएको पनि बताइन्। उनले अहिले पनि आफ्नी बहिनी जस्तै समाजमा धेरै व्यक्ति रहेको र उनीहरू खुला रूपमा बाहिर आउन संकोच मानेको अवस्थामा बहिनी सामाजिक कामसँगै राजनीतिमा आएर समाजमा उदाहरण बनेको पनि उल्लेख गरिन्।

उनले बहिनी फरक पहिचान भएको व्यक्ति मात्र रहेको भन्दै काम गर्ने क्षमता, भिजन लगायतमा कुनै कमी नभएको भन्दै योपटक बहिनी सफल हुने पनि बताइन्।

पार्टीले संविधानको मर्म र भावना अनुसार उम्मेदवार बनाएको हो : जिल्ला अध्यक्ष बेल्बासे
नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष शुरामणि बेल्बासेले पार्टीले संविधानको मर्मअनुसार सबैलाई मिलाएर टिकट दिएको बताए। उनले यसको एउटा उदाहरण शिल्पा रहेको उल्लेख गरे।

उनले भने, ‘देशमा रहेका सबै जाति, भाषी, लिंग, क्षेत्रको प्रतिनिधित्व राज्यको माथिल्लो तहमा हुनुपर्छ भन्ने पार्टीको नीति हो। त्यही नीतिलाई आधार मानेर हामीले संघीय समानुपातिकमा शिल्पालाई उम्मेदवार बनाएका हौँ।’ उनले जिल्लाबाट सङ्घका लागि २ जना र प्रदेशमा ४ जनालाई उम्मेदवार बनाएको पनि बताए।

उनले आफ्नो पहिचान फरक भए पनि पार्टीमा महिला, पुरुषभन्दा कम नभएको पनि बताए। उनले अब्बल नेता भएका कारण शिल्पालाई उम्मेदवार बनाएको पनि उल्लेख गरे।
उनले पार्टीले शिल्पालाई उम्मेदवार बनाउँदा सबै पार्टीका कार्यकर्ताहरू खुशी भएको बताए। उनी सामाजिक सेवामा पनि राम्रो भिजेका हुनाले मतदाताको साथ पाउने विश्वास रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.