|

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रतिनिधिसभामा त्रिपक्षीय भिडन्त हुँदैछ।

सत्ता गठबन्धनबाट नेकपा माओेवादी केन्द्रका जनार्दन शर्मा, नेकपा एमालेबाट नन्दलाल देवकोटा र स्वतन्त्रबाट ३३ वर्षीय युवा तारक केसी उम्मेदवार छन्।

केसीले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्रमा गठबन्धनका शर्मा र स्वतन्त्र उम्मेदवार केसीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।

पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका अर्थमन्त्रीसमेत रहेका शर्माका लागि यसपटक स्वतन्त्र उम्मेदवार भारी पर्न सक्ने आँकलनसमेत हुन थालेको छ। जिल्लामा गठबन्धन अस्वीकार गर्दै आएको कांग्रेसको असन्तुष्ट समूह केसीको पक्षमा छ। 

पाँच पटकसम्म मन्त्री भएर पनि जिल्लाको विकासमा चासो नदेखाएको आरोप खेपेका अर्थमन्त्री शर्मालाई रुकुम पश्चिमका मतदाताहरुले पराजित गर्ने केसीको दाबी छ।

०६४ देखि लगातार तीनपटक सांसद जिते पनि उक्त क्षेत्रका मतदाता शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित हुनुपरेको आरोप शर्मामाथि छ।​ २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको साथ पाएका शर्मालाई यसपटक सत्ता गठबन्धनको सहयात्री नेपाली कांग्रेसको समर्थन छ।

शर्माले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल जंग जी शाहलाई १८ हजार ७४३ मतान्तरले पारजित गरेका थिए। शर्माले ३४ हजार ४०२ मत पाउँदा शाहले १५ हजार ६५९ मत मात्रै पाएका थिए।

सरकारमा अवसर पाउँदा पहिलो प्राथमिकतामा पर्ने गरेका शर्मासँग माओवादीमा जनयुद्ध लडेर अवसर नपाएको र नेपाली कांग्रेसको गठबन्धनविरोधी समूह विपक्षमा छ। 

असन्तुष्ट मत समेट्ने दाउमा केसी

केसीले कांग्रेस र माओवादीका असन्तुष्ट समूहको मत  समेट्ने दाबी गरेका छन्। कांग्रेसले उक्त क्षेत्रबाट २०६४ सालदेखि चुनाव जित्न सकेका छैन। गठबन्धनलाई लिएर केन्द्र र जिल्लाका शीर्ष नेताबाहेक कांग्रेसमा कार्यकर्ता तहमा तीव्र असन्तुष्टि छ। 

पार्टीभित्रको आन्तरिक कलह मिलाउन नसक्दा स्वतन्त्र उम्मेदवारी दिएका केसीले कांग्रेसभित्रको असन्तुष्टि आगामी निर्वाचनमा पोखिने दाबी गरे। रुकुम पश्चिमबाट लगातार तीनपटक संसद् यात्रा गर्न नपाएको कांग्रेसको असन्तुष्ट समूह यसपटक स्वतन्त्रलाई जिताउने अभियानमा जुटेको छ।

केसीले आफूलाई कांग्रेसको २६ हजार र नयाँ युवा मतदाताको मत जोगाएर जाने बताए। 

‘मैले कांग्रेसको २६ हजार मत र पहिलोपटक मतदान गर्ने युवाको मतलाई जोगाएर जानुपर्नेछ। वर्तमान राजनीतिमा ठेकेदार प्रवृत्तिविरुद्धमा असन्तुष्ट समूहको मतलाई समेटेर लैजानुछ,’ केसीले भने,‘जनार्दन शर्माले यहाँका जनताको हितका लागि काम नगरेका कारण यसपटक माओवादीको किल्ला तोड्छु। यहाँका मतदाताले तोड्न सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

उनले माओवादी शान्ति प्रक्रियामा आएपछि समायोजनका क्रममा अयोग्य लडाकुहरूले पैसा नपाएका असन्तुष्ट समूहलाई समेट्दै उनीहरुको जीवनयापन सहज बनाउन आफूले भूमिका निर्वाह गर्नेसमेत बताए। 

‘जसले १० वर्षे जनयुद्ध लड्नुभयो र शान्ति प्रक्रियाका क्रममा अयोग्य लडाकु भनेर निकालिएकाहरुले पैसासमेत पाउनुभएन। समिति मानिसहरुले बाहेक जनयुद्ध लडेका लडाकुहरु अहिले घर न घाटको अवस्थामा हुनुहुन्छ,’ बाल्यकालदेखि जनयुद्धको रापमा हुर्किएका केसीले भने, ‘जसले परिवर्तनका लागि जनयुद्धमा जिउ ज्यान दिए उनीहरु नै अहिले रोजगारीका लागि विदेश पलाएन हुनुपर्ने अवस्था छ। घाइतेको अवस्था झनै बिजोग छ। उहाँहरु सबैलाई विकासमा सहभागी गराउने, विदेश पलायन रोक्ने, उद्यमशिलता बढाउन मेरा भूमिका रहनेछ।'

उनले आगामी निर्वाचनमा शर्मालाई १५ सयदेखि दुई हजार मतान्तरले पराजित गर्ने दाबी गरे। केन्द्रीय राजनीतिमा राम्रो पकड जमाएका शर्मालाई यसपटकको निर्वाचनमा पराजयको स्वाद चखाउने केसीको धोको छ। 

एमालेलाई छैन सजिलो

०७४ को निर्वाचनमा जनार्दनलाई समर्थन गरेको एमाले यसपटक एक्लै चुनावी मैदानमा होमिएको छ। एमालेले जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई उम्मेदवार बनाएको छ।

दोस्रो ठूलो दल नेपाली कांग्रेसले शर्मालाई समर्थन गरे पनि शर्मालाई एमाले भारी पर्ने देखिएको छ। देवकोटा यसपटक मतदाताले एमालेलाई समर्थन गर्नेमा ढुक्क छन्। तर, एमालेका लागि यसपटकको निर्वाचन सोचे जस्तो हुनेछैन। 

६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा दुईवटा स्थानीय तह कांग्रेसले जितेको थियो भने चार वटामा माओवादी केन्द्र विजयी भएको थियो। स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने माओवादी केन्द्रको ३६ हजार २९०, नेपाली कांग्रेसको २६ हजार ६१९ र एमालेको ६ हजार ९१ मत रहेको छ। 

०५४ सालमा जननिर्वाचित गाविस अध्यक्ष बनेका देवकोटा नेपाल शिक्षक युनियन रुकुमको अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समिति उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। 

...अनि भयो विद्रोह

रुकुम पश्चिममा नेपाली कांग्रेसबाट प्रतिनिधि र प्रदेशसभामा एकजना पनि उम्मेदवार छैनन्। उक्त क्षेत्रमा उम्मेदवारी दर्ताको अन्तिम समयसम्म पनि कांग्रेस र माओवादीबीच चुनाव तालमेलको सहमति नभएपछि प्रतिनिधिसभामा मानबहादुर नेपाली र प्रदेश (क) मा कृष्णबहादुर रोकायले उम्मेदवारी दर्ता गरेका थिए।

तर, प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिएर शर्माको पक्षमा लाग्न निर्देशन दिएपछि उनीहरु उम्मेदवारी फिर्ता लिएर शर्माको पक्षमा उभिए।

नेतृत्वबाट प्रदेशससभामा मनोनीत गराउने आश्वासन पाएका दुवैजना नेता यतिबेला शर्मालाई जिताउन लागि परेको स्वतन्त्र उम्मेदवार तारक केसीको आरोप छ।

केन्द्रबाट प्रदेशमा पाएको एकसिट पनि गुमेपछि रुकुम पश्चिममा कांग्रेस उम्मेदवारविहीन भएको हो। 

प्रदेश (ख)मा एक मात्र उम्मेदवार पाएको कांग्रेसले त्यो पनि गुमाउनुपरेपछि जिल्लाका नेता तथा कार्यकर्ता सभापति देउवासँग रुष्ट छन्। प्रदेश (ख) का उम्मेदवारी दिएका पार्टी सभापतिसमेत रहेका प्रेम प्रकाश ओलीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै रुकुम पश्चिममा कांग्रेसले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको छ।

नाम मात्रको गठबन्धन रहेको रुकुम पश्चिमका कांग्रेस नेता शर्माको पक्षमा छन् भने कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारको पक्षमा छन्। 

को हुन् केसी?

बाल्यकालदेखि नेपाली कांग्रेसको पृष्ठभूमिमा हुर्किएका केसीको जन्म कुम बाँफीकोट नेपाने भन्ने ठाउँमा भएको हो। केसीको जन्मघर हालको वडा नम्बर ३ मा परे पनि माओवादी द्वन्द्वकालमा उनको पविार विस्थापित भएको थियो। बाबु शिक्षण पेसामा भए पनि द्वन्द्वकालमा माओवादीले विस्थापित बनाएपछि उनको परिवार सदरमुकाम मुसिकोटमा बसोबास गर्न थाल्यो।

त्रिभुवन जनता मावि मुसिकोटबाट एसएलसी गरेका गरेका शर्मा विद्यार्थी राजनीतिमा होमिएका थिए। नेपाल विद्यार्थी संघमा आबद्ध शर्मा नेविसंघको जिल्ला अध्यक्षको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए।

नेविसंघको ११औँ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका केसीलाई नेपाली कांग्रेसका नेताहरू गगन थापा, विश्व प्रकाश शर्मा ,नैनसिंह महर, धनराज गुरुङ, बद्री पाण्डे लगायतको सहयोग थियो।

सामाजिक संघसंस्थामा आबद्ध तथा नेतृत्व गर्दै अनुभव प्राप्त केसी युवा र कार्यकर्तामाझ लोकप्रिय छन्। 

चौथो पटकको यात्रामा शर्मा

शर्मा चौथोपटक संसद् यात्राको दाउमा छन्। पहिलो संविधानसभाको निर्वाचनदेखि हालसम्म निरन्तर चुनाव जित्दै आएका शर्माले आफूले यस पटकको निर्वाचनपछि रुकुम पश्चिमका जनताको शिक्षा रोजगारीलाई प्राथमिकतामा राखेको बताए।

ऊर्जामन्त्री भएका बेला देशमा लोडसेडिङ अन्त्य गरेर वावाही कमाएका शर्माको पछिल्लो कार्यकाल विवादित बन्न पुग्यो। बजेट निर्माणका क्रममा जेठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेज गायव बनाएको विषयमा शर्माले तीव्र आलोचना खेप्नु परेको थियो।

यद्यपि, शर्माले ०६४ सालदेखि २०७९ सालम्म आइपुग्दा आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास कामको फेहरिस्त प्रस्तुत गरेका छन्। १५ वर्षको अवधिमा   ३० किलोमिटर ग्रावेल सडक निर्माण, ३९ किलोमिटर सडक पिच र जिल्लाभित्र १२६३ किलोमिटर कच्ची सडक निर्माण गरेको शर्माको दाबी छ।

त्यस्तै, उनले १७९ वटा कच्ची भवन निर्माण, ४७० वटा विद्यालय भवन निर्माण, २९१ वटा पक्की भवन र ८६ वटा स्वास्थ्यचौकी निर्माण गरेको उल्लेख गरे। 

उनले तीन कार्यकालमा गरेका नीतिगत कामको फेहरिस्त प्रस्तुत गरेका छन्। उनले जनप्रतिनिधिको हैसियतमा पहिलो कार्यकाल (२०६४) शान्ति प्रक्रिया स्थापित गर्ने, संविधानमा जनअधिकार उल्लेख गर्न सडक र सदन संघर्षका साथै विकासका आफ्नै मौलिक मोडालिटी तय गर्नमा बिताएका छन्।

उनले दोस्रो (२०७०) कार्यकालमा सडक, विद्युतलगायत पूर्वाधार विकास र संविधान निर्माणमा निर्णायक भूमिकासहित बिताए।

तेस्रो (२०७४) कार्यकाल समग्र पूर्वाधासँगै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र नयाँ उद्योगको सम्भावनामाथि आधार तय गर्न र आसन्न निर्वाचनमार्फत प्राप्त हुने चौथो कार्यकाल गठबन्धन दलको संयुक्त पहलमा गुणात्मक पूर्वाधार, रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकीकरण एवं औद्योगिकीकरण, सुशासनसहित जनताको जीवनमा परिवर्तनको अवधि हुने दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.