प्रचण्डले मागे प्रधानमन्त्रीसँग सहयोग

|

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेपाली कांग्रेस तयार भए नेकपा एमाले पनि सरकारमा सहभागी हुने संकेत गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार दिउसो बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस राष्ट्रिय सरकार गठन गर्न तयार भएमा आफूहरुले 'विचार गर्ने' बताएका हुन्।

‘कांग्रेसले प्रमुख दल सम्मिलित सरकार बनाउन नहुने बताउँदै आएकाले एमालेले सरकारमा जाने कुनै सोच राखेको छैन, कांग्रेसले राष्ट्रिय सरकार चाहेको खण्डमा हामी विचार गर्छौँ', प्रधानमन्त्रीले प्रचण्डसँग भनेको भनाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने। 

भेटमा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार निर्माण गरी राष्ट्रिय एकता कायम गर्न एमालेको सहयोग मागेका थिए। ‘संविधान कार्यान्वयन, आन्दोलनरत पक्षको माग सम्बोधन लगायतका अन्य विषयलाई टुंगोमा पुर्‍याउन राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन’, प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले प्रचण्डलाई उद्‍धृत गरे, ‘राष्ट्रिय समस्या समाधान गर्ने विषयमा एमाले बाधक बन्नुहुँदैन।’ 

जवाफमा प्रधानमन्त्री ओलीले कांग्रेस राष्ट्रिय सरकारको पक्षमा नदेखिएको भन्दै आफूहरु अहिलेकै अवस्थामा सरकार नजाने स्पष्ट पारेका थिए। ‘तपाईँलाई प्रधानमन्त्रीका लागि साथ दिएको दल नेपाली कांग्रेस राष्ट्रिय सरकारको पक्षमा हो कि होइन?’, प्रधानमन्त्रीले प्रचण्डलाई सोधेका थिए, ‘यदि कांग्रेस राष्ट्रिय सहमतिको सरकारको पक्षमा हो भने प्रष्ट आउनुपर्‍यो, अनि हामी विचार गर्छौँ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दल सम्मिलित सरकार बनाउन नहुने भन्दै राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन्। व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव समर्थकको रुपमा बोल्दै देउवाले राष्ट्रिय सहमति र राष्ट्रिय सरकार दुई फरक कुरा भएकोले राष्ट्रिय सरकारभन्दा सहमति कायम गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

ठूला दल सम्मिलित सरकार निर्माण हुँदा सरकारको काम कारबाहीबारे विरोध गर्ने दल नहुने भएकाले एक ठूलो दल प्रतिपक्ष बस्नुपर्ने कांग्रेसको अडान छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिन एक दिन बाँकी रहँदा प्रचण्डले प्रधानमन्त्रीलाई भेटेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.