|

बारा : वडाध्यक्षलाई प्रहरीले छाडेपछि बाराको जितपुरमा आज भएको चक्काजाम खुलेको छ।

जीतपुर-सिमरा उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिउँसो २ बजेदेखि भएको चक्काजाम साँझमा खुलेको हो।

आगामी दिनमा यस्ता गतिविधि नगर्ने शर्तसहित वडाध्यक्ष गुप्तालाई छाड्ने सहमतिपश्चात आन्दोलन साम्य भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

आन्दोलित पक्षको अवरोध हटेसँगै सयौं यात्रु गन्तव्यतर्फ लागेका छन्। टायर बालेर नाराबाजी गर्दै स्थानीयले गरेको चक्काजामका कारण लागेको सवारीको लाम हटेको छ। जनताको कुरा नसुनेको भन्दै नगरप्रमुखप्रति आक्रोशित स्थानीयले वडाध्यक्षलाई नछाडेसम्म चक्काजाम नखोल्ने अडान राखेका थिए।

निर्वाचन कार्यालयसमेत रहेको उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर दैनिक कामकाज अवरोध गरेको भन्दै गुप्तासहित २ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा स्थानीयले सडक तताएका हुन्।

फोहोर नउठाएको विषय लिएर वडाबासीसहित वडाध्यक्ष गुप्ता कार्यालय समय शुरु हुने बित्तिकै पालिका पुगेका थिए। महिनौंदेखि जितपुर बजार बाहेकका भित्री बस्तीको फोहोर नउठाएको, नाला सफा नगरेको र लामखुट्टे मार्ने औषधी नछरेको कारण डेंगु रोगीको संख्या बढेको गुनासो लिएर जाँदा नगरप्रमुखले बेवास्ता गरेको उनीहरूको आरोप छ।

जनताका कुरा सुन्नुको सट्टा निर्वाचन कार्यालय भएको चौथो तल्लामा गई उपमहानगरप्रमुख बसेर जनतालाई घण्टौं कुराएपछि बाध्य भएर तालाबन्दी गरेको आन्दोलनमा सहभागी गंगा कंडेलले बताइन्।

तालाबन्दी गरेर नाराबाजी गर्दै गर्दा उपमेयर भोला अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृतले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै ताला खोले पनि प्रहरीले अध्यक्षसहित २ जनालाई पक्राउ गरेपछि सडकमा उत्रिनुपरेको वडा सदस्य ललितादेवी पासवानको भनाइ छ।

उपनगरपालिकाको कार्यालय रहेको जीतपुरलाई सफा बनाउन माग गर्दा प्रहरी थुनामा राख्नु कहाँको न्याय हो भन्दै आदोलित उनीहरूले उपमहानगरप्रमुखविरुद्ध नाराबाजी गरेका थिए।

यसबारे उपमहानगरप्रमुख राजन पौडेलले भने निर्वाचनका गतिविधि बिथोल्न गरिएको पूर्वनियोजित काम भन्दै यसबारे निर्वाचन कार्यालयको ध्यानाकर्षण हुनुपर्ने बताए।

उनले वडाध्यक्ष गुप्ताले विभिन्न बहानामा पटक पटक उपमहानगरपालिकामा तालाबन्दी गरेर काम गर्नै नसक्ने अवस्था बनाएको आरोप लगाए।

उनले भने‚ ‘फोहोर नउठाएको भन्ने बहाना मात्र हो। यो त राजनीतिक द्वेष साँध्ने खेल हो। कुनै न कुनै बखेडा गरेर भाइरल हुने चाहनाले ग्रसित गुप्ताका कारण काम गर्ने वातावरण पाएको छैन। आजको तालाबन्दी पालिकामा मात्रै होइन निर्वाचन कार्यालयमा पनि हो त्यसैले आचारसंहिताको उल्लंघन पनि हो।’

आजको नाराबाजी तथा उपमहानगरपालिकामा भएको तालाबन्दीले निर्वाचन कार्यालयमा कुनै असर नपरेको निर्वाचन कार्यालय जीतपुर-सिमराले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.