|

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वासिलो मत परिणामको लक्ष्यका साथ निर्वाचनको तयारीमा जुटेको बताएका छन्। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आज शुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा संयन्त्र विकास गरिएको बताए।

केन्द्रले मतदानस्थलसम्म सीधै र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धित स्थलमा पुगे नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता पालनामा आवश्यकताअनुसार सघाउने, जिल्लास्थित निर्वाचन कमाण्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायत विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे उनले स्पष्टसमेत पारे।

निर्वाचन सुरक्षा र अनुगमनसम्बन्धी निर्देशिकाबमोजिम आयोगका सचिवको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव, चारवटै सुरक्षा निकायका राजपत्राङ्कित प्रथम श्रेणी सरहका कर्मचारीको प्रतिनिधित्वमा केन्द्रको स्थापना भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.