|

काठमाडौं : लोकगायक तथा सर्जक प्रकाश दुतराजले आत्महत्या प्रयासको समाचार गलत रहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले गलत बुझाइ र सूचनाका आधारमा आत्महत्या प्रयासको समाचार आएको बताएका हुन्।

साँस्कृतिक कार्यक्रमको सिलसिलामाअष्ट्रेलियामा रहेका दुतराजले आत्महत्या प्रयास गरेका भन्दै सोमबार विभिन्न सञ्चार माध्यममा समाचार आएका थिए। यसमा सत्यता नरहेको जनाउँदै कवितात्मक शैलीमा उनले लेखेका छन्, ‘कहिलेकाहीँ हराई दिन्छु, यसै यसै। कहिले हरियाली पाखा पखेरी, उकाली ओराली, चौतारी अनि देउरालीहरूसँगै। कहीँ उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैँ उडिदिन्छु। कहिले समुद्रका छालहरूले अँगाल्दै गहिराइमा पुर्‍याई डुबाई दिन्छन्। कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैँलाई थुनिदिन्छु। हजारौँ कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन।’ 

‘यसलाई रोग भनुँ या मेरो विशेषता। यही कारण पनि म आफूले आफैँलाई दु:खी बनाउँछु। धेरै समाचारहरु हेरेँ, पढेँ अलिक अप्ठ्यारो असजिलो महसूस गरेँ। केही छिन हराउनु म मर्नु हैन नि!’, उनले लेखेका छन्। साथै आफूलाई माया गर्नेहरूका कारण पनि आफूले आत्महत्या नसक्ने कुरा उनले जिकिर गरेका छन्। 

उनले लेखेका छन्, ‘बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दु:खले जन्माएको हुर्काएको होइन नि तिमीहरूलाई। माया गर्नेहरूको आँसुले सराप्छ। कसरी मार्न सक्थेँ र यो शरीरलाई! गलत बुझाइ तथा सूचनाको आधारमा प्रकाशित समाचारले मलाई माया गर्नुहुने, सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै–सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु।’ 

पश्चिम भेगको लोकलयका संगीत तथा नृत्यलाई नयाँ पुस्तामाझ परिचित गराएका दुतराजका लोकलयका ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’र ‘मन भुल्छ’ लगायत गीत निकै लोकप्रिय छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.