|
फाइल

काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन्।

आफू सांसद भएमात्रै कांग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनले बताएका हुन्।

पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्‍याए।

त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरूले आफूलाई जिताउनका लागि बाँकि समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो। महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लडन पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे। उनले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

‘ठूलो मतदाताले काठमाडौंमा राजनीतिक नेतृत्वको बदलाव खोजीरहनु भएको छ। तर, राजनीतिक यथार्थ के छ? राजनीतिक यथार्थ यो पटक निर्वाचन पछाडि कुनै पनि नेपालको ठूलो राजनीतिक दलको संसदीय लदको चुनाव समेत पनि हुनेवाला छैन। म अरू दलको बारेमा चर्चा गर्दिन। प्रत्येक दलका आ–आफ्नो विशेषता हुन्छ, आ–आफ्नै चरित्र हुन्छ। तर मैले बुझेको कुनै पनि दलको संसदीय दलको निर्वाचन हुनेछैन। भयो भने जम्मा एउटामा हुन्छ। कांग्रेसमा हुन्छ। कांग्रेसमा पनि कतिखेर हुन्छ?',उनले भने, 'कांग्रेसमा पनि एउटा अवस्थामा मात्रै चुनाव हुन्छ, क्षेत्र नम्बर ४ बाट तपाईँँले चुनाव लड्ने मान्छे जिताएर पठाई दिनु भयो भने बल्ल चुनाव हुन्छ। नभए त्यहाँ पनि हुँदैन। अनि, देशमा ठूलो परिवर्तन सबलाई चाहिएको छ। राजनीतिक नेतृत्व परिवर्तन गर्ने भनेको कि पार्टीको महाधिवेशन हो कि त्यही संसदीय दल हो। जहाँनेर प्रतिस्पर्धा गर्ने हो। त्यो प्रतिस्पर्धा नै भएन भने चाँही परिणाम कहाँबाट आउने हो ? अनि, त्यो प्रतिष्पर्धा गर्ने, लडाइँ लडने मान्छे चाहिएला नि पहिला। मेरो प्रस्ताव विश्वप्रकाश शर्मा झापाबाट जितेर आउनुपर्ला। उम्मेदवार जित्ने मान्छे जितेर जानु पर्ला। अनि बल्ल लडाई होला। लडाई भएन न परिणाम आउने सम्भावना बाँकि रहला। नभए सम्भावना बाँकि रहन्छ कहाँ ? सब जनाले ठूल्ठूलो बदलाव ल्याउने भन्नु भएको छ। एउटा संसदीय राजनीतिक पद्धति छ। त्यो पद्धतिबाट निर्वाचन क्षेत्रबाट सांसद जितेर जान्छ। कोही प्रधानमन्त्री निर्वाचित हुने होइन। यहाँ त सांसद निर्वाचित भएर जाने हो। अनि, त्यो सांसद आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ। अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दावी गर्न पाउँछ। त्यो निर्वाचन लडन कोही तयार छैन यहाँ। अनि, त्यो निर्वाचन लडदाखेरी न बल्ल दावी होला। मेरो मतदातालाई गएर तपाईँले यो कुरा बताईदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन। भनिदिनुपर्नेछ–कुरा बुझाई दिनुपर्नेछ। तपाईँ आफैं हुनुहुन्छ त्यो ठाउँमा। तपाईँ गई दिनुपर्नेछ। तपाईँँहरू मलाई २ अव दिनुहोस्। म तपाईँहरूलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु।’

महामन्त्री थापाले अवको निर्वाचन पछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनीसमेत दिए।

जनप्रतिनिधिहरूले अव पनि मतदाताहरूमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरूले फेरी चुनाव लडन नपाउने पनि उनले बताए। महामन्त्री थापाले सत्तारूढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दावी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताए।

महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरूलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.