|

बैतडी : सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको देखिएको छ।

गएराति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा २०० वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। बुधबार दिउँसो १ बजेसम्म २०० वटा परकम्प गइसकेका हुन्।

शर्माका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ तथा आज (बुधबार) बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।  

उनले भने, ‘लगातार तीनपटक एकै स्थानलाई केन्द्रबिन्दु बनाएर ३ ठूला भूकम्प गएका छन्। तीबाहेक ४ रेक्टर स्केलभन्दा मुनिका २०० वटा परकम्प गइसकेका छन्।’

लगातार परकम्प गइरहेकोले सुदूरपश्चिम प्रदेश भूकम्पको जोखिममा रहेको शर्माले बताए। उनले भने, ‘सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा छ तर कहिले ठूलो भूकम्प जान्छ भनेर भन्न सकिने अवस्था छैन।’

भूकम्पछि परकम्प आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैसँग आग्रह गरेको छ।

भूकम्पबाट डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो। भूकम्पले बैतडीमा पनि केही घरमा क्षति गरेको छ।

भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखा प्रमुख महेश अवस्थीले जानकारी दिए।

भूकम्पका कारण दशरथचन्द नगरपालिका वडा नम्बर १ का विभिन्न ठाउँका घरहरूमा चिरा परेका स्थानीय महेश भट्टले बताए। पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ।

यता जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ। जिल्लाका सबै प्रहरी युनिटसँग बुझ्दा हालसम्म क्षतिबारे कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रवक्ता इन्स्पेक्टर (प्रहरी निरीक्षक) लोकराज जोशीले जानकारी दिए।

उनले भने, ‘प्रहरी युनिटहरूलाई बुझ्दा क्षतिबारे कुनै जानकारी आएको छैन। स्थानीय जनप्रतिनिधिहरूसँग बुझ्दैछौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.