काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले मिर्गौलाको पत्थरी तथा प्रोस्टेट ग्रन्थिका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ।
आगामी पुस १४ देखि १६ गतेसम्म तीन दिन एकैपटक ४० जना मिर्गौलाका पत्थरी र प्रोस्टेट ग्रन्थिका विपन्न बिरामीका लागि नि:शुल्क शिविर आयोजना गर्न लागिएको इन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा कन्सल्टेन्ट युरोलोजिस्ट डा. सञ्जय खड्गीले जानकारी दिए।
आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रिसेन्ट सोसाइटी अफ कुवेत (Red Crescent Society of Kuwait) सँगको सहकार्यमा मिर्गौलाको पत्थरी तथा प्रोस्टेट ग्रन्थिका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर आयोजना गर्न लागेको डा. खड्गीले बताए।
खड्गी इन्स्टिच्युटले विपन्न बिरामीका लागि सधैं एक कदम अघि रहेर सेवा दिने प्रतिबद्धता जनाए। उनले कसैले पनि उपचार सेवा नपाएर ज्यान गुमाउन नपरोस् भनेर आर्थिक अवस्था कमजोर भएका बिरामीकै लागि दोस्रोपटक निःशुल्क शल्यक्रिया शिविर आयोजना गर्न लागेको बताए। डा. खड्गीले शिविरमा आउने बिरामीको शल्यक्रिया मात्र नभई उनीहरूलाई लाग्ने औषधि तथा बेड चार्ज समेत निःशुल्क गरिने जानकारी दिए।
शिविरबाट ४० जना विपन्न वर्गका बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाउनेछन्। खड्गी इन्स्टिच्युटले यसअघि पनि विपन्न वर्गका बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्दै आएको छ भने आफ्नो स्थापना कालदेखि हरेक महिना ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ।
डा. खड्गीले यो एक वर्षमा आफूहरूले १ हजार ४४० जना बिरामीको मेजर र माइनर गरी शल्यक्रिया गरेको र त्यसमध्ये २८ जनाको पूर्ण निःशुल्क र ७५ जनाको अत्यन्त कम शुल्कमा शल्यक्रिया सेवा दिइरहेको समेत बताए। उनले भने‚ ‘हामीले नाफामूलक मात्रै नभएर सेवाभाव राखेर निःशुल्क उपचार सेवा दिन लागेका हौँ हाम्रो उद्देश्य नै हुने बिरामीसँग लिने र नहुनेलाई नि:शुल्क उपचार दिने हो।‘
पत्थरी शल्यक्रियाका लागि मिनी पीसीएनएल विधि र प्रोस्टेट प्रन्थिका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट शल्यक्रिया गरिने समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।