हाम्रो जित सुनिश्चित भइसकेको छ, कति मतान्तरले जित्ने भन्ने मात्रै हो : दोङ

|

काभ्रे : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव हितमान शाक्यले एमालेसँग ‘राजा आऊ देश बचाऊ’ भन्ने मान्छेहरू मात्र रहेको आरोप लगाएका छन्। काभ्रेको पनौतीमा मंगलबार ​भएको उम्मेदवार भेटघाट तथा चुनावी अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले यस्तो आरोप लगाएका हुन्। 

उनले भने‚ ‘कोही मान्छे भ्रममा होलान् तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले राजा आऊ देश बचाऊ भन्ने मान्छे मात्रै छन्।’

माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्जसमेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमा तानाशाही निरंकुश प्रवृत्ति भएको आरोपसमेत लगाए। उनले भने, ‘ओलीजीमा तानाशाही र निरंकुश प्रवृत्ति देखियो, उहाँले तानाशाही प्रवृत्ति देखाएकै कारण आजको अवस्था आएको हो।’

शाक्यले निर्वाचनपछि एमाले पत्तासाफ हुने दाबी गर्दै एमाले अध्यक्ष ओलीको बुद्धि भए वेलैमा आफूहरूसँग मिल्न आउन भनेर आग्रहसमेत गर्न भ्याए। उनले भने, ‘चुनावपछि एमाले पत्तासाफ हुन्छ। केपी ओलीसँग बुद्धि छ भने अब हामीसँग मिल्न आए हुन्छ।’

उनले नेपालको चुच्चे नक्सा प्रचण्डको कारण सार्वजनिक भएको दाबी गरे। प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा नेपालको चुच्चे नक्सा ल्याउन दबाब दिएपछि मात्रै उनले बाध्य भएर सार्वजनिक गरेको बताए। 

उनले भने, ‘ओली चुच्चे नक्सा सार्वजनिक गर्ने पक्षमा थिएनन् तर नक्सा सार्वजनिक भएपछि त्यसको जस लिन खोज्दै छन्, जनतामा भ्रम छरिरहेका छन्। त्यसकारण यस्तो भ्रममा पर्नु हुँदैन।’

नेता शाक्यले राप्रपाका नेता रविन्द्र मिश्रबारे बिबिसीमा कराएजस्तो राजनीतिमा नहुने टिप्पणी गरे। उनले राजावादी मिश्रलाई निर्वाचनमा पनि पराजय मात्रै हात लाग्ने दाबी गरे।

माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा वाम-लोकतान्त्रिक गठबन्धनबाट काभ्रे प्रतिनिधिसभा क्षेत्र १ का साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले संविधानको गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको भन्दै प्रतिगमनको खतरा रहेसम्म गठबन्धन निरन्तर रहिरहने बताए। 

उनले मतदाताहरू आफूहरूसँग सन्तुष्ट देखिएकाले जित सुनिश्चित भइसकेको भन्दै कति मतान्तरले जित्छ भन्ने मात्रै हेर्नै मंसिर ४ को प्रतीक्षामा रहेको दाबी गरे। उनले भने, ‘काभ्रेमा गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैन। जित सुनिश्चित भइसकेको छ। अब कति मतान्तरले जित्ने भन्ने हेर्न मात्रै बाँकी हो।’

काभ्रेको प्रतिनिधिसभा क्षेत्र २ का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले राजा महेन्द्र र एमाले अध्यक्ष केपी ओलीमा केही भिन्नता नभएको बताए। ​उनले राजावादीलाई काँधमा बोकेर गरेको एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको दाबी गरे। 

काभ्रे–१ को प्रदेशसभा (ख) का उम्मेदवार तीर्थ लामाले एमाले अध्यक्ष ओलीले संविधानको आधारभूत स्तम्भहरू भत्काउने काम गरेको बताए। उनले ओली अग्रगमनतिर नभई प्रतिगमनको बाटो समतेपछि त्यसबाट देशलाई जोगाउनको लागि गठबन्धन भएको प्रष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.