|

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। 

झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।

तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।

फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन्दा यो निर्वाचनमा केही चुनौती देखिन्छ।

को कहाँबाट?

मुख्यमन्त्री राजेन्द्रकुमार राई र पूर्व मुख्यमन्त्री शेरधन राई भोजपुरबाट चुनाव लड्दै छन्। राजेन्द्रकुमार राई प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छन् भने शेरधन प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा छन्।

सुनसरीको क्षेत्र नम्बर २ बाट पूर्व मुख्यमन्त्री भीम आचार्य प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। खानेपानी तथा सिँचाइमन्त्री रामकुमार राई बहालवाला मन्त्री हुन्। उनी खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

बहालवाला स्वास्थ्यमन्त्री जयराम यादव मोरङ क्षेत्र नम्बर ५ (ख) बाट उम्मेदवार बनेका छन्। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पाँचथर २ बाट प्रदेशसभामा उम्मेदवार छन्। यस्तै भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री हिमाल कार्की उदयपुरको क्षेत्र नं. १ (२) बाट प्रदेशसभा उम्मेदवार छन्।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोरङको निर्वाचन क्षेत्र नम्बर ६(२) मा उम्मेदवार बनेका छन्। पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा इलामको क्षेत्र नम्बर १ (१) बाट उम्मेदवार बनेकी छन्। कृषिमन्त्री झलकबहादुर मगर झापाको ४ (१) बाट प्रदेशसभा उम्मेदवार हुन्।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे मोरङको क्षेत्र नं. १(२) बाट चुनावी मैदानमा छन्। प्रदेश १ की उपसभामुख सरस्वती पोखरेल सत्ता गठबन्धनका तर्फबाट सुनसरीको क्षेत्र नं. ३(१) बाट उम्मेदवार बनेकी छन्। पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे मोरङ ४ (२) बाट  प्रतिस्पर्धा गर्दै छन्।

पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की झापाको क्षेत्र नं. ५(१) बाट उम्मेदवार छन्। पूर्व उद्योग पर्यटन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा उम्मेदवार हुन्। पूर्व भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ ओखलढुंगा १ बाट प्रदेशसभामा उम्मेदवार छन्।

पूर्व उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री उत्तमकुमार बस्नेत सोलुखुम्बु १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन्। पूर्व कृषिमन्त्री रामबहादुर मगर इलामको क्षेत्र नं. २ (२) बाट उम्मेदवार छन्। पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लीलाबल्लभ अधिकारी मोरङ क्षेत्र नं. २ (२) बाट उम्मेदवार बनेका छन्।

कसको प्रतिस्पर्धा कोसँग ?

पूर्वमुख्यमन्त्री शेरधन राई सत्ता गठबन्धनका उम्मेदवार सुदन किरातीसँग प्रतिस्पर्धा गर्दै छन्। अर्का पूर्वमुख्यमन्त्री भीम आचार्य सत्ता गठबन्धनका उम्मेदवार सीताराम मेहतासँग चुनावी प्रतिस्पर्धामा छन्।

वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेशसभा सदस्यका लागि एमालेका हरिबहादुर राईसँग चुनावी मैदानमा छन्। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो एमालेका आइन्द्रसुन्दर नेम्बाङसँग प्रतिस्पर्धा गर्दै छन्।

खानेपानी तथा सिँचाइमन्त्री रामकुमार राई नेकपा एमालेका प्रमुख सचेतक रहिसकेका विशाल भट्टराईलाई टक्कर दिँदै छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की एमालेका पर्शुराम बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन्।

पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वासँग एमालेकी शोभा पराजुली चुनावी  मैदानमा उत्रिएकी छिन्। कृषिमन्त्री झलकबहादुर मगरसँग एमालेका राधाकृष्ण खनाल चुनावी मैदानमा छन्।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे नेकपा एमालेका नेता खड्गबहादुर बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन्। जयराम यादवलाई गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अमृत अर्यालले कडा टक्कर दिएका छन्।

उपसभामुख सरस्वती पोखरेल नेकपा एमालेका रोहितबहादुर कार्कीसँग चुनावी मैदानमा छन्।  पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे गठबन्धनका  तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका जीवनकुमार राईले टक्कर दिइरहेका छन्।

पूर्व उद्योग पर्यटन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत सत्तारुढ गठबन्धनबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग चुनावी मैदानमा उत्रिएका छन्।

उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका उत्तमकुमार बस्नेतसँग सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा चुनावी मैदानमा छन्।

कसको अवस्था कस्तो ?

लीलाबल्लभ अधिकारी यसअघि मोरङ क्षेत्र नं. २ (२) बाट निर्वाचित भएका थिए।  त्यस क्षेत्रमा अहिले सत्तारुढ गठबन्धनबाट काँग्रेसका विनोद कार्की उम्मेदवार छन्। त्यस क्षेत्रमा स्थानीय निर्वाचनको मत हेर्न हो भने एमालेको १६,०५१, काँग्रेसको १४,८५९, माओवादीको ३,२४० र एकीकृत समाजवादीको २२ मत छ।

मोरङ ५ (२) बाट उम्मेदवार बनेका बहालवाला स्वास्थ्यमन्त्री जयराम नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका हुन्। यादवलाई भने यो निर्वाचनमा संकट देखिएको नेता कार्यकर्ता बताउँछन्।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको चुनावी क्षेत्रमा वडाध्यक्षहरूको मतका आधारमा गठबन्धन दल नेपाली काँग्रेसको १४,२६७, माओवादी केन्द्रको ६,१०२ र नेकपा समाजवादीको १,६६१ मत छ।

यसरी गठबन्धनको मत २२,०३० हुँदा एमालेको १३,५०९ मत छ। स्थानीय निर्वाचनको परिणाम हेर्ने हो भने पनि यो निर्वाचनमा वर्तमान मुख्यमन्त्री सुरक्षित देखिन्छन्।

यस्तै भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री हिमाल कार्कीको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा एक्लो प्रतिस्पर्धामा काँग्रेस विजयी भएको थियो। उक्त क्षेत्रभरका वडाध्यक्षमा एमालेको मत ११,२७१ रहेको छ भने गठबन्धनको २२,८०८ छ।

यस्तै जिल्लामा एमालेको मत २८,७२९ छ भने गठबन्धनको मत ४७,५१३ छ। यता मोरङ क्षेत्र नम्बर ६ (ख) मा बहालवाला कानुनमन्त्री केदार कार्की र पर्शुराम बस्नेतबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

यो क्षेत्रमा एमालेको मत ६,०४२ छ,  काँग्रेसको मत ९,६१५ छ। मओवादीको १,११४ मत छ भने एकीकृत समाजवादीको १,२४५ मत छ।

इलाममा बहालवाला पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूको निर्वाचन क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले पाएको मत हेर्दा सत्तागठबन्धन १९,१२५ मतसहित एमालेभन्दा ३,६०० मतले अगाडि छ। क्षेत्रमा एमालेको १५,५२५, काँग्रेसको १२,८६९, माओवादी केन्द्रको १,००८ र एकीकृत समाजवादीको ५,२४८ मत छ।

बहालवाला प्रदेश १ का सञ्चारमन्त्री घिमिरेको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा एमालेले १७,९६० मत पाएको छ। काँग्रेसले १७,४४०, माओवादी केन्द्रले ३,४८० र एकीकृत समाजवादीले ४६ मत प्राप्त गरेको छ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका स्वास्थ्यमन्त्री भने यो निर्वाचनमा संकटमा देखिएका छन्। उनीसँग नेपाली काँग्रेसका प्रभावशाली नेता अमृत अर्याल चुनावी प्रतिस्पर्धामा छन्। त्यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ९,१६६, एमालेले ६,२०२, माओवादी केन्द्रले ५,३६३, एकीकृत समाजवादीले ६०८ र जनता समाजवादी पार्टीले ८,३५० मत पाएका थिए।

सुनसरी क्षेत्र नं. ३(१) बाट उम्मेदवार बनेकी सरस्वती पोखरेल २०७४ मा समानुपातिक सांसद चुनिएकी थिइन्। यो पटक भने सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकी छिन्। त्यस क्षेत्रमा स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा क्षेत्रमा गठबन्धनको मत १९,९७१ रहेको छ भने एमालेको मत १७,४४६ छ।

यस्तै भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राईको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा दलहरूले पाएको वडागत मतका हिसाबले सुदन किरातीलाई सहज देखिन्छ।

जिल्लामा सत्ता गठबन्धनको मत ४०,३०५ छ भने नेकपा एमालेको २७,६५६ छ। जस अनुसार किराती १२, ६४९ मतले अगाडि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.