|

काठमाडौं : संघ र प्रदेश संसदमा प्रतिनिधि चुन्नका लागि आज देशभरि नै मतदान भएको छ। 

मतपत्रमा चुनाव चिह्न नभेटिनेदेखि लात हानेर मतपेटिका फुटाउनेसम्मका रोचक घटना आजको मतदानका क्रममा भएका छन्।

विभिन्न मतदान स्थलमा शंकास्पद वस्तु फेला पर्ने, मतपत्र फरक मतपेटिकामा खसाल्ने, मतदाताको नाममा अर्कै व्यक्तिले भोट खसाल्नेसम्मका गतिविधि भएको पाईएको छ।

चुनाव चिह्न नै नभएको मतपत्र

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालयको मतदान स्थलमा चुनाव चिह्न नै नभएको मतपत्र भेटिँदा केही समय मतदान अवरुद्ध भएको थियो।

झापाका जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र साटिँदा चुनाव चिह्न नभेटिएको हो।

सो मतदान स्थलमा १९ जनाले मत खसालिसकेपछि २० औं व्यक्तिले आफूले भोट हाल्ने चुनाव चिह्न नभेटेपछि निर्वाचन कर्मचारीलाई जानकारी गराउँदा मतपत्र साटिएको पत्ता लागेको हो।

निर्वाचन कर्मचारीको असावधानीका कारण त्यहाँ १९ जनाले पुनः मतदान गरेर मतदान अगाडि बढाईएको थियो।

लात हानेर फुटाए मतपेटिका

यस्तै, बझाङको केदारस्युँ गाउँपालिका-१ स्थित बेताल माध्यमिक विद्यालय रातापानीमा सामान्य विवाद हुँदा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका हुन्।

फुटेको मतपेटिका भित्रको मत अर्को मतपेटिकामा राखेर सबै पक्षबीच सहमतिमै मतदान अगाडि बढाइएको थियो।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी भएको छ। मतदानकै क्रममा आगजनी भए पनि कसले आगजनी गर्‍यो भन्नेबारे प्रहरीले खुलाएको छैन।

अर्काको नाममा मत खसाल्ने प्रयास

जाजरकोटको नलगाड-८ जिकुवा केन्द्रमा मतपत्र च्यात्ने दुईजना नेकपा बहुमतका कार्यकर्ता समातिएका छन् भने सर्लाहीमा अर्काको नाममा मत खसाल्न खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती नगरपालिका-१२ स्थित बथनिय प्रावि मतदान केन्द्रबाट मुस्कान मोक्तान र बलरा नपा–४ जब्दी प्रावि मतदान केन्द्रबाट आदित्य सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

किरियापुत्रीले पनि खसाले भोट

यस्तै, सिन्धुपाल्चोक, कञ्चनपुर र कपिलवस्तुमा किरियापुत्रीले मतदान गरेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ मा ३ दिनदेखि आमाको किरिया बसेका चूर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठले मतदान गरेका हुन्। उनीहरूले कालिकादेवी मावि मतदान केन्द्रमा पुगेर भोट दिएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीस्थित शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रमा किरीयापुत्री दुर्गा गिरि, सूर्या गिरि र श्रीमती उमा गिरिले मतदान गरे।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित सरस्वती मावि मतदान केन्द्रमा ४ जना किरियापुत्रीले मतदान गरेका छन्। निर्वाचन क्षेत्र-२ अन्तर्गत पर्ने उक्त केन्द्रमा ४ जना राजेन्द्र ऐर, वीरेन्द्र ऐर, अमर र अतुल ऐरले मतदान गरे।

भोट दिएपछि मृत्यु

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदानको दिन ३ जना वृद्धको मृत्यु भएको छ। देशका विभिन्न स्थानमा मतदानका लागि मतदान केन्द्र गएका ३ जनाको मृत्यु भएको हो।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन लागेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय ठगबहादुर सुनुवारको मृत्यु भएको हो।

यसैगरी झापाको माईधारबाट इलामको महमाईमा मतदान गर्न हिँडेका एक वृद्ध आज दिउँसो मृत भेटिएका छन्।

माई–६ काबेलीटार स्थायी घर भई माईधार बस्दै आएका ६९ वर्षीय नरबहादुर मग्राती मगरको शव स्थानीय पैदलयात्रीले नालीमा देखपछि प्रहरीलाई खबर गरेका थिए। 

मतदानकै लागि हिजो बिर्तामोडबाट रिजर्व बसमा गएका उनी लक्ष्मीबाँधमा ओर्लिएको जानकारी पाएको छोरा रमेश मगरले बताए।

दलको झडपमा प्रहरी र सैनिक घाइते

हुम्लाको सर्केगाडमा गाउँपालिका–३ को देवकोटा आधारभूत विद्यालय उनापानी मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।

झडपमा परेर सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी सामान्य घाइते भएका हुम्लाका डिएसपी हेरम्ब शर्माले बताए।

सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच विवाद हुँदा झडपको अवस्था आएको थियो। झडपका कारण केही बेर मतदान स्थगित भएको थियो।

धादिङमा पनि मतदानका क्रममा विवाद हुँदा दुईजना घाइते भएका छन्। धादिङको सिद्धलेक-७ को महाकाली मावि मतदान केन्द्रमा गठबन्धन कार्यकर्ताको आक्रमणबाट दुईजना सामान्य घाइते भएका छन्।

घाइते हुनेमा रुपक खतिवडा तथा रोशन गिरि रहेको प्रहरीले जानकारी दिएको छ। एकजना मतदाताको मत परिवारका मानिसले हाल्ने वा इच्छाएको व्यक्तिले हाल्ने भन्ने विषयमा विवाद हुँदा घटना हुन पुगेको थियो।

चुनावविरोधी नारा लगाउने पक्राउ

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसी बजारबाट नेकपा बहुमतका ४ जना नेता, कार्यकर्ता पक्राउ परेका छन्। ​निर्वाचनविरोधी नारा लगाउने जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरूलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।

निर्वाचन बहिष्कार गरौँ भन्दै माइतीघर मण्डलामा नाराबाजी गर्ने बहुमत पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार बिहान शुरु भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन बहिष्कारको माग गर्दै आन्दोलन गर्ने २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। देशभरिका मतदान केन्द्रमा धमाधम मतदान भइरहेको वेला बहिष्कारको माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.