|

सुर्खेत :  हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम आइपुगेका छैनन्।

अहिलेसम्म ३७ वटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ। 

उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

नेपाली सेनाको हेलिकप्टर ढिला गरी आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका ३ वटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएको उनले बताए। 

मंगलबारमात्र बाँकी १९ वटा मतदान केन्द्रका मतपेटिका लिन सेनाको हेलिकप्टर उपल्लो डोल्पा जाने उनको भनाइ छ।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका ९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे पनि सोही क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिकाका मतपेटिकाहरू अझै उठाइएको छैन।

मतदान अधिकृतहरू हेलिकप्टरको पर्खाइमा भएकाले पनि जगदुल्लाका मतपेटिकाहरू नउठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

जिल्लाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिकाका सबै मतदान केन्द्रका मतपेटिकाहरू सदरमुकाम पुगिसकेको बताइएको छ।

धेरै मतदान केन्द्रका मतपेटिका झार्न बाँकी रहेकाले शुक्रबार पनि मतगणना हुने सम्भावना न्यून रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.