|

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ। कैलालीसहित प्रदेशका ७ जिल्लाका १३ क्षेत्रमा सोमबार दिउँसोदेखि मतगणना भइरहेको हो।

सबै क्षेत्रमा प्रारम्भिक मतपरिणा आउने क्रम जारी छ। अहिलेसम्मको नतिजाअनुसार प्रदेशका सत्तारुढ गठबन्धनले ८ क्षेत्रमा अग्रता लिएको छ। कैलालीको ४, कञ्चनपुर २ र ३, अछामको १ र २, दार्चुला, बैतडी, डडेल्धुरा र डोटीमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।

कैलाली ४ मा एमालेका लेखराज भट्टलाई पछि पार्दै कांग्रेसका बिरबहादुर बलायरले अग्रता लिएका छन्। बलायरले २३४० मतसहित अग्रता लिँदा भट्टले २३०३ मतसहित पछ्याइरहेका छन्। कञ्चनपुरको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता लिएका छन्। तीन हजार १५८ मतको गणनामा साउद  १ हजार ३२७ मतले अघि छन्। उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका नरबहादुर धामीले १ हजार २०९ मत प्राप्त गरेका छन्।

कञ्चनपुर ३  मा कांग्रेसकै रमेश लेखक ३ हजार ४०९ मत सहित अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेकी निरुदेवी पालले २ हजार २६ मत प्राप्त गर्दै पछ्याइरहेकी छन्। दार्चुलामा पनि कांग्रेसका दिलेन्द्रप्रसाद बडुले ४५३ मतसहित अग्रता लिएका छन्। बडुलाई एमालेका गणेशसिंह ठगुन्नाले ३२६ मतसहित पछ्याइरहेका छन्।

डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा अघि छन्। उनले दुई हजार ७५६ मत प्राप्त गरेर अग्रता कायम राख्दा स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार ५२४ मत ल्याएका छन्।

डोटीमा भने सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आलेको अग्रता छ। आलले छ सय २२ मत प्राप्त गरेर अग्रता लिँदा एमालेकी गौरी ओली ३३२ मतसहित दोस्रो स्थानमा छन्। उता अछाममा १ र २ मा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ।

क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले एक हजार ९३१ मत ल्याउदै अग्रता कायम राख्दा नेकपा एमालेका झपट बोहराले एक हजार ४५० मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ मा  नेपाली कांग्रेसका पुष्पबहादुर शाहले २ हजार ४१६ मतसहित अघि छन्। शाहलाई पछ्याइरहेका नेकपा एमालेका यज्ञबहादुर बोगटीले एक हजार ९२३ मत पाएका छन्।

कैलालीका तीन क्षेत्रमा भने नागरिक उन्मुक्ति पार्टीले मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेको छ। क्षेत्र नम्बर १ मा पार्टीकी अध्यक्ष पनि रहेकी रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठले सुरुदेखि अग्रता लिइरहेकी छन्। उनले एक हजार ८५७ मत पाउँदा प्रतिद्धन्द्धी कांग्रेसका रामजनम चौधरीले एक हजार १९९ मत प्राप्त गरेका छन्।

यस्तै क्षेत्र नम्बर २ मा उन्मुक्तिका अरुण चौधरीले २८१ मतसहित अग्रता लिएका छन्। उनलाई माओवादी केन्द्रका भगत बडुवालले ९४ मतसहित पछ्याइरहेका छन्। क्षेत्र नम्बर ३ मा पनि उन्मुक्ति पार्टीकै गंगा चौधरीको अग्रता छ। उनले दुई हजार ८३५ मत पाउँदा माओवादी केन्द्रका कृष्ण चौधरीले एक हजार ८८३ मत पाएका छन्।

कञ्चनपुर १ र बैतडीमा भने नेकपा एमालेले अग्रता लिएको छ। कञ्चनपुर १ मा नेकपा एमालेका तारालामा तामाङले एक हजार ७१ मत प्राप्त गरेर अग्रता कायम राख्दा माओवादी केन्द्रकी बिना मगरले ४५९ मत प्राप्त गरेकी छन्।

बैतडीमा एमालेका दामोदर भण्डारीले एक हजार ८० मतसहित अग्रता लिएका छन्। उनलाई पछ्याइरहेका माओवादी केन्द्रका नरेन्द्र कुँवरले सात सय ८५ मत ल्याएका छन्। अहिले पनि यी क्षेत्रमा मतगणना जारी छ।

यी बाहेक कैलाली क्षेत्र नम्बर ५, बझाङ र बाजुरामा  मतगणना भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.