|

विश्वकप फुटबलमा पोर्चुगलले आज आफ्नो पहिलो खेल खेल्दै छ।

विश्वकपमा घानाविरुद्धको खेलबाट पोर्चुगलले विश्वकप अभियान शुरु गर्न लागेको हो। समूह एच अन्तर्गत बिहीबार राति ९ बजेर ४५ मिनेटमा हुने खेलमा पोर्चुगलका लागि रोनाल्डो नै आकर्षणको केन्द्रमा रहनेछन्।

पछिल्लो समय निरन्तर विवादमा पर्दै आएका रोनाल्डोका लागि विश्वकपमा त्यसको असर नपरेको देखाउनुपर्ने चुनौती छ। घाना पनि पोर्चुगलसँग विश्वकपमा नै भएको दोस्रो भेटमा अघिल्लो हारको बदला लिँदै सनसनीपूर्ण जितको इतिहास रच्न चाहन्छ। 

फिफा वरीयतामा ६१ औं स्थानमा रहेको घाना र ९ औं स्थानमा रहेको पोर्चुगलबीचको खेलमा पोर्चुगलले  घानालाई दबाबमा राख्ने आँकलन गर्न सकिन्छ। तर पछिल्लो समय निक्लिरहेका अप्रत्यासित नतिजा दोहोरिने खतरा पनि उत्तिकै रहेको छ। 

स्टार खेलाडीले भरिएको पोर्चुगिज टिम सहज रुपमा जितको अपेक्षामा रहेको छ।

राति ९ बजेर ४५ मिनेटमा शुरु हुने खेलमा पोर्चुगलका स्टार खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, राफायल लियो, रुवेन नेभेस, विलियम कार्भाल्हो, नुनो मेन्डेस, रुवेन डियास, जोओ क्यान्सेलो र गोलरक्षक डिएगो कोस्टाको साथमा हुने छ। त्यसोत जोआओ फेलिक्स, डिएगो डालोट, राफयल गुरेइरो, पेपे र रुई प्याट्रिसियो पनि साथमा छन्। 

घाना भने इनाकी विलियम्स, मोहम्मद कुडुस, जोर्डन एयु, तरिक लाम्टे र थोमस पार्टेलगायत खेलाडीको बलमा पोर्चुगललाई दबाब दिने प्रयासमा हुनेछ।

समूह एच मा पोर्चुगलले घानासँगै उरुग्वे र दक्षिण कोरियाविरुद्ध खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’ का रुपमा हेरिएकाले पहिलो खेलको हारजितले नै नकआउटको सम्भावनालाई असर पार्ने भएकाले दुवै टिम जितको प्रयासमा हुने छन्। 

यसअघि २०१४ को विश्वकपमा एक अर्काविरुद्ध भिड्दा पोर्चुगल २-१ ले विजयी भएको थियो। त्यसैले ८ वर्षपछि पोर्चुगल आफ्नो रवाफ थप बलियो बनाउने प्रयासमा हुँदा घाना भने साटो फेर्दै अर्को उलटफेर गर्ने ध्याउन्नमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.