काठमाडौँ : दलहरूले उम्मेदवार बनाएकामध्ये प्रत्यक्षतर्फ न्यून महिला सांसद निर्वाचित भएका छन्। मत परिणाम आउने क्रम जारी रहँदा हालसम्म ७ महिला मात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। ३ स्थानमा महिला उम्मेदवारको अग्रता रहेको छ भने एक स्थानमा मतगणना शुरु भएको छैन।
सुनसरी १ मा राष्टिय स्वतन्त्र पार्टीकी गोमा तामाङ, सुनसरी ३ मा एमालेकी भगवती चौधरी र तेह्रथुममा कांग्रेसकी सीता गुरुङको अग्रता छ। स्याङ्जा २ को मत गणना शुरु भएकै छैन। जहाँ नेकपा एमालेकी पद्मा अर्याल उम्मेदवार छिन्। सिरहा २ मा कांग्रेसकी चित्रलेखा यादव मत गणना जारी रहँदा दोस्रो स्थानमा छिन्।
कुन दलका कति निर्वाचित
एमालेका तीन, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई, माओवादी, नागरिक उन्मुक्ति पार्टीबाट एक/एकजना महिलाले मात्र चुनाव जितेका छन्।
धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो, बारा ३ बाट ज्वालाकुमारी साह र कास्की २ बाट विद्या भट्टराई निर्वाचित भएका छन्। यस्तै रास्वपाबाट काठमाडौँ २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भए। दाङ २ बाट माओवादीकी रेखा शर्मा विजयी हुँदा कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भए। धरान १ मा रास्वपाकी गोमा तामाङले अग्रता बनाइरहेकी छन्। स्याङ्जा २ मा नेकपा एमालेकी नेतृ एवं पूर्वमन्त्री पद्मा अर्याल उम्मेदवार छिन्।
हार ब्यहोर्न पुगेका महिला
दलहरूले अत्यन्तै न्यून संख्यामा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाए पनि जित्ने ठाउँमा टिकट नदिएको गुनासो छ। हार्नेमा नेकपा माओवादीबाट उम्मेदवार ओनसरी घर्ती मगर, पम्फा भुषाल, बिना मगर, अन्जना विशंखे, कल्पना धमला र गोमा गौतम छन्। माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई पनि पराजित भइन्।
यस्तै नेकपा एमालेबाट उम्मेदवार मन्जुकुमारी चौधरी, मन्जु शर्मा, कोमल वली, निरुदेवी पाल, शान्ता चौधरी र गौरी वली पुरुष उम्मेदवारसँग पराजित हुन पुगे। नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला र पुष्पा भुषाल पराजित भए। नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्री र राष्ट्रिय जनमोर्चाकी दुर्गा केसी पुरुष उम्मेदवारसँग पराजित भए।
३३ प्रतिशत हुनुपर्ने व्यवस्था
संविधानमा व्यवस्था भएअनुसार ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने हो तर दलहरूले महिलालाई उम्मेदवार नै कम बनाए। यसपटकको प्रतिनिधिसभातर्फ दलहरूले जम्मा २२९ जना महिलालाई मात्रै उम्मेदवार बनाएका थिए। जनसंख्याको आधारमा राज्यका हरेक निकायमा प्रतिनिधित्व पाउनुपर्ने आवाज उठाउँदै आएका महिलाले संविधानले व्यवस्था गरेको प्रतिशत पनि नपाउनु दुःखद भएको बताएका छन्।
मतदाताकै हिसाबले हेर्ने हो भने पनि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० छन्। जसमा महिला मतदाता ८८ लाख ४७ हजार ५७९ जना छन्। अघिल्लो चुनावमा जस्तै दलहरूले महिलालाई समानुपातिकमा धेरै राखेर ३३ प्रतिशत पुर्याउनेछन्। यो विषयमा यसपटकको चुनावअघि महिलाहरूले चर्को आवाज उठाएका थिए भने संसद्मा समेत महिलाको प्रतिनिधित्व बढाउन सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको थियो।
राष्ट्रिय महिला आयोग, महिला अधिकारकर्मीलगायतले पनि आवाज उठाएका थिए। महिला अधिकारका कुरा गरेर नथाक्ने दलहरूका प्रमुख हैसियतमा पुरुष मात्रै छन्। आफ्नै दलभित्र समेत महिलाको उचित प्रतिनिधित्व गराउन अनुदार देखिएका उनीहरूले महिलाहरूलाई संविधानले दिएको अधिकार दिन पनि रोइकराई गर्नुपर्ने अवस्था रहुनु दुःखद छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।