|

इलाम : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। उनले मतगणनाको क्रममा कर्मचारीको मिलेमतोमा अनियमितता भएको बताए।

शनिबार फिक्कलस्थित पत्रकार सम्मेलन गर्दै खनालले एक ठाउँको मत हराउनु र अर्को ठाउँमा भेटिनु आश्चर्यजनको भएको बताए। ‘माईमा हराएको मत माईजोगमाईको मतपेटिकामा कसरी भेटियो ? सुरुङमार्ग त खोलेको थिएन होला?’ खनालले भने।

उनले गणनाको क्रममा सुरुमा ४३७ मत गायब भएको बताए। शनिबार गणनाका क्रममा मुचुल्कामा भन्दा २६६ मत बढी भेटिएको खनालले बताए। ‘६ वटा ठाउँका मतपेटिकाहरू गन्दा मतदान केन्द्रमा भएको मुचुल्काअनुसार कुल खसेको मत २४२४ देखिन्छ। तर, मतपेटिकाभित्रबाट २६९० मत पत्र निस्किए, जसमध्ये २६६ मत बढी देखिन्छ,’ उनले भने, ‘यी २६६ मतहरू मुचुल्का गरेर सबैले सही गरेको कागजको तथ्यभन्दा फरक मतहरू कहाँबाट बाकसमा पस्यो, यो अनियमितता हैन भने के हो?’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई फोन गरेर बुझ्दा उचित जवाफ नपाएको बताए। मतगणना प्रक्रियामा भएको अनियमितताले लोकतान्त्रिक विधि र पद्धतिलाई नै कमजोर बनाउने बताए।

उनले गणना स्थगित गरी पुनः मतदान हुनुपर्ने माग राखेका छन्। ‘मतगणना प्रक्रिया जसरी अघि बढाउन खोजिँदैछ। यसले जवरजस्ती र मनोमानीलाई बढवा दिन्छ। यो प्रक्रियाबाट आउने परिणामले इलामेली जनताको मानमर्दन हुन्छ,’ उनले भने, ‘त्यसो हुनाले यो मतगणना रोकियोस् र पुन मतदानको प्रक्रियातिर अघि बढाइयोस् भनी माग गर्दछु।’ इलाम–१ मा जारी मतगणनामा एमालेका महेश बस्नेतले खनाललाई सुरुदेखि नै पछि पारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.