|

इलाम : ‘भोट बाकसमा राखिएको नोट हैन, जतिबेला आवश्यक पर्‍यो चलायो। भोट चलायमान हुन्छ त्यसलाई आफ्नो पकडमा ल्याउन सक्नुपर्छ।’ यो भनाइ निर्वाचन अघि थाहाकर्मीसँगको भेटघाटमा इलाम–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भनेका हुन्।

स्थानीय तहको निर्वाचनको नतिजाले संघीय निर्वाचनमा फरक नपार्ने तर्क राखेका बस्नेत त्यही चलायमान भोटबाट २०५६ सालबाट अपराजित पूर्व-प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई हराउन पुगे। 

भेटघाटकै क्रममा उनले थपे ‘झलनाथ खनाल च्याखे दाउँ थाप्ने पार्टीमा जानुभएको अहिले उहाँको हैसियत के भएको छ पुच्छ्रे नेताको रुपमा परिणत हुनभएको छ।! बस्नेतले खनाललाई २ हजार  ९ सय ५७ मतान्तरले हराउन सफल भए। त्यति मात्र हैन् २०७४ अघि खनालले लडेका सबै निर्वाचनमा सारथिको रूपमा बस्नेतलाई जिताउने जिम्मेवारी हुन्थ्यो। खनाल जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने बस्नेतलाई यसपल्ट आफ्नै विगतका नेताविरुद्ध लड्ने अवस्था आइपर्‍यो।  र पार्टीको अध्यक्ष भएको हैसियतले उनी माईखोला तरेर नेकपा एमालेको गरिमा बचाउन सूर्योदय आए।

नेकपा एमालेले बस्नेतलाई अघि सार्दै गर्दा टुरिष्टको उपमा नदिएका पनि हैनन्। बस्नेतको दाबी थियो, ‘अभिलेख पढेर जानकारी लिनुहोला झलनाथजी टुरिष्ट हो कि म टुरिष्ट हो। म त यही क्षेत्रमा जन्मे हुर्केको मान्छे।’

भूपु हवल्दार पदम बहादुर बस्नेतको माहिला छोराको रुपमा २०१७ भदौ १७ गते इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका) मा बस्नेत जन्मिएका हुन्। जति बेला नेपाल कम्युनिष्ट पार्टी माले स्थापना भएको थियो खनाल पार्टीको संस्थापक सदस्य थिए र पछि महासचिवसमेत भए। त्यही बेला बस्नेत विद्यार्थी राजनीतिबाट कम्युनिष्टको प्रचारमा लागे। स्पष्ट वक्ता बस्नेत २०३६ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको रुपमा निर्वाचित भए।

विद्यार्थी राजनीतिमा आफूलाई स्थापित गरेपछि खनाल बहुदलको पक्षमा जनमत संग्रह गर्नुपर्ने पक्षको वकालत गर्न थाले।

पहिलो जनआन्दोलन सफल भएपछि २०४७ सालमा नेकपा एमालेको सदस्यता लिएपछि बस्नेतले युवाहरुलाई एकत्रित गर्न एमालेको जनवर्गीय संगठन प्रजातान्त्रिक युवा संघको इलाम नगर सदस्यको रूपमा सम्हालेको कार्यभारबाट प्रभावित बनेपछि पार्टीले २०४७ सालदेखि २०५२ सालसम्म पार्टीको नगर कमिटी सदस्यको जिम्मेवारी दिएको थियो।

त्यही समयमा झलनाथ खनाल २ पटक इलाम–१ बाटै निर्वाचित भए २०४८ र २०५१ सालको मध्यावधि निर्वाचनमा।

२०५२ देखि ५४ सालसम्म नगर कमिटीको सचिवको जिम्मेवारीमा थिए। इतिहासमा स्नात्तकोतर गरेका बस्नेतले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा २०५४ सालसम्म प्राध्यापकको रुपमा कार्य गरे। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा इलाम नगरपालिकाको मेयरको रुपमा सिफारिस भएपछि प्राध्यापक पेशालाई छाडेर पूर्ण राजनीतिक कार्यकर्ता बने।

इलाम नगरका पूर्वमेयर हिमालय कमचार्यलाई ७३ मतान्तरले हराउँदै बस्नेतको स्थानीय निकाय प्रवेशको ढोका खुल्यो।

स्थानीय निकायको पदावधि सकिएपछि पार्टीले २०५९ साल देखि २०७२ सालसम्म जिल्ला कमिटी सदस्यको रुपमा जिम्मेवारीमा थिए। बस्नेत जिल्ला कमिटी सदस्य रहँदै गर्दा खनाल पार्टीको केन्द्रीय अध्यक्ष र प्रधानमन्त्रीसमेत बन्न भ्याएका थिए। नेकपा एमालेको नवौँ महाधिवेशनबाट उनी जिल्ला सचिव चुनिए। सचिवको जिम्मेवारीमा रहेको बेला उनलाई पार्टीले पुनः मेयरको रुपमा अघि सारेको थियो।

२० वर्ष अघिका उही पद र उही कुर्सीका लागि उही कर्मचार्यलाई एक हजार ७६५ मतान्तरले पराजित गर्दै दोस्रोपटक मेयर निर्वाचित भए। त्यसपछि उनी नेपाल नगरपालिका संघको प्रदेश १ संयोजकसमेत रहे।

पार्टीमा प्रायः लो प्रोफाइलमा बस्दै आए पनि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निकटताका कारण स्थानीय शक्तिको केन्द्रमा छाउने गरेका बस्नेत संघीयता पछिको इलाम पुन:संरचनाका डिजाइनरसमेत हुन्। 

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय सदस्यको जिम्मेवारीमा रहे। तर, सर्वोच्च अदालतको आदेशमा पार्टी विभाजन भएपछि बनेको नेकपा एमालेको केन्द्रीय सदस्यसँगै जिल्ला अध्यक्षको समेत जिम्मेवारी पाए।

२०७८ पौषमा भएको पार्टीको १०औँ महाधिवेशनबाट उनी जिल्ला अध्यक्ष चुनिए।

आफ्नै पूर्वकार्यकर्ता विरुद्धको लडाइँलाई कमजोर आँकलन गरेका कारण खनालले आफनो विरासत गुमाएर निर्वाचनमा पराजित भएका हुन्। गत स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेसलाई घात गरेका खनाललाई यसपटक कांग्रेसी मतदाताहरुले पत्याएनन्।

त्यही असन्तुष्ट कांग्रेसका मतदाताको इमोसनलाई बस्नेतले हतियार बनाएर आफूलाई संघीय सांसदको रुपमा उभ्याउन सफल भए। अब संसदमा भक्तपुरका महेश बस्नेतको स्थानमा इलाममा महेश बस्नेत रोष्ट्रममा उभिनेछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.