|

पर्वत : अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको सातौँ संस्करण यही मंसिर २४ र २५ गते हुने भएको छ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवस डिसेम्बर ११ लाई आधार मानेर महोत्सव आयोजना गर्न लागिएको हो। नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि हरेक वर्ष पर्वतीय महोत्सव आयोजना गर्दै आइरहेको छ।

महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ। 

पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवको मूल आयोजक समितिका संयोजक ठाकुरराज पाण्डेले बताए। ‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरूको उपस्थितिमा बृहत् छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने।

महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको छ। महोत्सवमा धनुषबाण (आर्चरी), छेलो, साइक्लिङ, सडक दौड, फिल्म प्रदर्शनी पनि समावेश गरिएको छ। 

यी बाहेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि महोत्सवमा राखिएको छ। 

यो पटकको अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ राखिएको छ। यसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.