|

साओ पाउलो : ब्राजिलका पूर्व फुटबल महान् पेलेले श्वासप्रश्वास संक्रमणमा राम्रो उपचार भइरहेको प्रतिक्रिया दिएका छन्। पछिल्लो २४ घण्टामा उनको अवस्था बिग्रिएको छैन। अल्बर्ट आइन्स्टाइन अस्पतालले शनिबार यो जानकारी दिएको हो।

दिग्गज खेलाडी ८२ वर्षीय पेले मंगलबारदेखि अस्पताल भर्ना भएका छन्।

इन्स्टाग्राममा पोष्ट गरेको विज्ञप्तिमा पेलेले भनेका छन्, ‘म धेरै आशावादी छु। सधैँको जस्तो सामान्य रूपमा उपचार गराइरहेको छु। मेरो हेरचाह गर्नु भएकोमा म सम्पूर्ण मेडिकल र नर्सिङ टोलीलाई धन्यवाद दिन चाहन्छु।’

उनले भने, ‘मलाई भगवान्‌मा धेरै विश्वास छ र संसारभरबाट आउने प्रेमको हरेक सन्देशले मलाई ऊर्जा दिन्छ। विश्वकपमा ब्राजिलको खेल पनि हेर्नुहोस्।’

तीनपटक विश्वकप विजेता पेले क्यान्सरको उपचार गराइरहेका छन्। उनलाई विश्वभरबाट सुस्वास्थ्यको सन्देश आएको छ।

पेलेकी छोरी केली नासिमेन्तोले कतारमा रहेका ब्राजिलका फ्यानहरूले झण्डा र ब्यानरसहित आफ्ना बुबालाई शुभकामना दिएका धेरै तस्बिरहरू इन्स्टाग्राममा पोस्ट गरिन्।

कतारका भवनहरूमा पनि पूर्व फुटबलरको समर्थनमा सन्देशहरू प्रदर्शन गरिएको थियो। विश्वकपको अन्तिम १६ का लागि ब्राजिलले सोमबार दक्षिण कोरियासँग प्रतस्पर्धा गर्दै छ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप जिताउन मद्दत गरेका थिए र ९२ खेलमा ७७ गोल गरी टोलीको सर्वकालीन शीर्ष स्कोरर बनेका थिए। 

अल्बर्ट आइन्स्टाइन अस्पतालले पेलेलाई संक्रमणको उपचारका लागि एन्टीबायोटिक दिइएको छ र क्यान्सरका लागि केमोथेरापी पनि भइरहेको जानकारी दिएको छ। सेप्टेम्बर सन् २०२१ मा पेलेको कोलोन ट्युमर निकालिएको थियो। उनको वास्तविक नाम एडसन अरान्तेस दो  नासिमेन्तो हो।

उनको परिवार वा अस्पतालले क्यान्सर अन्य अंगमा सरेको छ कि छैन भनेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.