|

धनगढी : दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा बन्द भएको पुल सञ्चालन भएको छ। आइतबार जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा लफडा भएपछि पुल बन्द भएको थियो।

भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेको छ। सोही तटबन्ध निर्माणको नेपाली नागरिकले विरोध गरेपछि विवाद भएको थियो।

आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका थिए। भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको बताएको थियो।

प्रहरीका अनुसार नेपाली नागरिकले तटबन्धको विरोधमा नेपाल–भारत जोड्ने पुलमा आवतजावत बन्द गरेका थिए। आज करिब ४ बजेतिर घटना भएको थियो। केही व्यक्ति घाइते भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले टोली पठाएको जानकारी दिए।

महाकाली नदीमाथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्लो समय धमाधम तटबन्ध निर्माण गरिरहेको छ। नदीको सतह नै परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका हुन्।

भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै उनीहरूले आन्दोलन थालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.