सल्यान : वित्तीय संस्था तथा लघुवित्त संस्थाले चर्को ब्याज लगाएको भन्दै सल्यानका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेभन्दा बढी ब्याज लिएर आफूहरूमाथि चरम शोषण गरेको भन्दै जिल्लाको बनगाड कुपिण्डेका स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनमा उत्रिएका उनीहरूले बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा विरोध प्रदर्शन समेत गरेका छन्। लघुवित्त तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरले आफूहरूको उठीबास हुने अवस्था आएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। आफूहरूमाथिको शोषण अन्त्य नभएसम्म उनीहरुले आन्दोलन जारी राख्ने र लघुवित्तको कामकाज सञ्चालनमा रोक लगाउने भन्दै दबाब दिएका छन्। उनीहरूले सरकारले तोकेकोभन्दा बढी लिएको ब्याज फिर्ता गर्न माग समेत राखेका छन्।
आर्थिक अवस्था कमजोर भएकाको आयस्तर उकास्न बिनाधितो ऋण दिएर आयमूलक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वित्तीय संस्था तथा लघुवित्त स्थापना भए पनि स्थानीयलाई राहतभन्दा आहत बढी भएको आन्दोलन संघर्ष समितिकी उपाध्यक्ष विमला घर्तीले बताइन्। चर्को ब्याजका कारण ऋण तथा ब्याज तिर्न नसक्दा धेरैको उठीबास लाग्ने अवस्था सिर्जना भएको उनले बताइन्।
लघुवित्तको चर्को ब्याजका कारण पालिकाभित्रका दुईसयदेखि तीन सय स्थानीय प्रभावित भएका घर्तीको भनाइ छ।
लुघवित्तलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सरकारले नियम लागू गरे पनि के के गरी ३० देखि ३६ प्रतिशतसम्म ब्याज लिने गरेकाले आफूहरू धेरै मारमा परेकै कारण आन्दोलन गर्नुपरेको बालिका बुढामगरले बताइन्। उनले लघुवित्तले बनाएको समूहअन्तर्गत मासिक जम्मा गरेको बचत रकम समेत नपाएको जानकारी दिइन्।
लघुवित्तका कर्मचारीले कर्जा लिएकालाई सहुलियत दिनेभन्दा विभिन्न किसिमका मानसिक तनाव दिने काम गर्दै आएको उनको आरोप छ।
लघुवित्तले विभिन्न परियोजना बनाएको र त्यही परियोजना अनुसार ऋण परिचालन गर्ने भने पनि कर्मचारीले त्यसलाई पालना नगरी मन परी गरेको निर्मला रोकाको आरोप छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।