जसपा खुम्चियो, राप्रपाले बढायो सिट संख्या

|

विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ।

प्रदेश १ मा  प्रत्यक्षमा ५६ वटामा उम्मेदवारी दिएको एमालेले २५ वटा सिटमा जितेको छ भने समानुपातिकमा पनि १५ सिट जितेको छ। प्रदेश १ मा एमालेको ४० सिट हुनेछ। यस्तै नेपाली काँग्रेसले प्रत्यक्षमा १७ सिट जित्दा समानुपातिकमा १२ सिट ल्यायो। प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक गरी २९ सिट प्राप्त गर्दै नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ।

यता नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा ९ सिट जित्दा समानुपातिकमा ४ सिट मात्रै जितेको छ। प्रत्यक्ष र समानुपातिक गरी माओवादीले प्रदेश १ मा १३ सिट पाई तेस्रो पार्टी बनेको छ।

राप्रपाले भने ०७४ को तुलनामा सिट संख्या बढाएको छ। राप्रपाले प्रत्यक्षमा २ सिट जित्दा समानुपातिकमा ४ सिट जितेको छ। अघिल्लो निर्वाचनमा १ जना मात्रै सांसदले प्रतिनिधित्व गरेको राप्रपाले यो पटक भने ६ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन्। अघिल्लो निर्वाचनमा प्रत्यक्षबाट १ जना र समानुपातिकबाट २ जनाले प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी भने यो निर्वाचनमा खुम्चिएको छ।

जसपाको प्रत्यक्षमा शून्य छ। प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जयराम यादव नेपाली काँग्रेसका अमृत अर्यालसँग पराजित भएसँगै जसपाले प्रत्यक्षमा एक सिट गुमाउनु परेको हो। जसपाले समानुपातिकमा भने १ सिट पाएको छ।

एमाले विभाजन भई बनेको समाजवादीका अघिल्लो प्रदेशसभामा १० जना सभासद् थिए। यो निर्वाचनमा प्रत्यक्षमा ३ सिट जितेको छ भने समानुपातिकमा १ सिट पाएको छ।

योसँगै ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा समाजवादीको ४ र जसपाको १ सिट हुने भएको छ। प्रदेश १ सरकार बनाउन आवश्यक ४७ सिट कुनै दलसँग छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.