नेपालीलाई भारत प्रवेशमा कडाइ

|
फाइल फोटो

धनगढी : दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबीच वार्ता तथा छलफल हुने भएको छ।

आइतबारदेखि पेचिलो बनेको तटबन्ध विवादमा आज नेपाल र भारतका प्रशासनबीच छलफल हुने भएको हो। चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न मन्जुर भएको बताइएको छ।

बुधबार नेपाल र भारतीय प्रशासनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने कुरा तय भएको दार्चुला प्रशासनले जनाएको छ। यस्तै उता, भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले पनि नेपाली प्रशासनसँग छलफल गर्ने भएकाले बैठकमा सहभागी हुन मातहतका कार्यालयलाई पत्राचार गरेकी छन्।

आज नेपाल र भारतका प्रशासनिक अधिकारीबीच धार्चुलास्थित विश्राम गृह लोक निर्माण विभागमा छलफल हुने जनाइएको छ। यसअघि मंगलबार भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए। आइतबार महाकाली नदीको धार परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुला खलंगाका स्थानीय विरोध तथा प्रतिरोधमा उत्रिएका थिए।

उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढासमेत गरेका थिए। त्यस क्रममा चारजना नेपाली नागरिक घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए। त्यसपछि यो विवाद पेचिलो बन्दै गएको थियो।

भारतीय ज्यादतीका विरुद्ध नेपालीहरु दार्चुला र धार्चुला जोड्ने पुलसमेत आइतबार बन्द गरेका थिए। त्यसको अर्को दिन भारतीय पक्षले दुई घण्टा पुल बन्द गराएका थिए।

विगतमा नेपाली प्रशासनसँग समन्वय गरेर मात्रै तटबन्ध निर्माण गर्न आग्रह गर्दै नेपाली प्रशासनले पत्राचार गरेको थियो। तर, उक्त पत्राचारको कुनै जवाफ नै आएको थिएन। त्यसपछि जनगणनाका लागि छाङरु जान नेपालले बाटो प्रयोगको अनुमति मागेको थियो। त्यसबेला पनि भारतले सो आग्रह अस्वीकार गरेको थियो।

पटकपटक भारतले नेपाल र नेपालीविरुद्ध ज्यादती गरिरहेको त्यहाँका स्थानीयको भनाइ छ। उनीहरु अहिले भारतीय ज्यादतीविरुद्ध आक्रोशित भएका छन्। भारत त्यसैको दबाबमा परेको छ।

भारतीय पक्षले अहिलेसम्म एकलौटी रूपमा सीमा नदी महाकालीमा ठूलो पर्खाल लगाइसकेको छ। नदी प्राकृतिक धार परिवर्तन गरी करिब १० मिटर नेपालतर्फ धकेलिएको छ। भदौमा आएको बाढीले नेपालतर्फको पक्की तटबन्धसमेत बगाएको थियो। भारततर्फ बगर बनेको छ। नदीको पूरै बहाव नेपालतिर छ। सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा तटबन्ध नहुँदा पूरै जोखिम बढेको छ।

यसैक्रममा नेपाल सरकारले पनि भारतलाई कूटनीतिक नोट पठाएको छ। त्यसपछि बुधबार नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन छलफलमा बस्न लागेका हुन्।

सीमामा कडाइ

ढुंगा हानाहानपछि भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ। उक्त घटनापछि भारतले नेपाली नागरिकलाई नागरिकता देखाएर मात्र धार्चुला प्रवेश गर्न दिने गरिरहेको छ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले परिचय खुल्ने कागजपत्र हेरेर मात्रै भारत प्रवेश दिइरहेको स्थानीहरुले बताएका छन्। नेपालतिरबाट दैनिक ज्याला मजदुरी गर्न स्थानीयहरु भारततर्फ जान्छन्।

एसएसबीले आन्दोलनमा सहभागी नेपाली नागरिकमाथि कडा निगरानी राखेको छ। सरकारले सीमा विवादलाई नीतिगत रूपमा टुंगो नलगाउँदा त्यसको परिणाम दार्चुलावासीले भोगिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.