|

पाल्पा : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाली काँग्रेससँग तालमेल नहुने बताएका छन्।

एमाले पाल्पाको बैठकलाई शुक्रबार तानसेनमा सम्बोधन गर्दै उनले काँग्रेससँग मिलेर सरकार बनाउने सोचमा एमाले नरहेको बताएका हुन्। साना पार्टीले हैरान पारेकाले दुई ठूला दल मिलेर सरकार बनाएर अगाडि बढौँ भन्दै काँग्रेस एमालेसँग धाइरहेको उनले खुलासा गरे।

‘सत्ता बाहिर रहँदा काँग्रेस हतास बनेको छ। छट्पटिएको छ’, उनले भने, ‘काँग्रेससँग मिलेर सरकार बनाउँदा मुलुकको परिवर्तन सम्भव छैन।’

अनैतिक गठबन्धनबाट बनेको यसअघिको सरकारले मुलुकलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको ज्ञवालीले आरोप लगाए।

एमालेको पहलमा बनेको वर्तमान गठबन्धन सरकारले मुलुकलाई निकास दिने उनले बताए। सबै दलहरूको सहकार्यलाई बलियो बनाउँदै जाने हो। मुलुकको हितमा काम गर्न वर्तमान गठबन्धन सरकारको विकल्प छैन।

एमाले–माओवादीसहित अन्य दल मिलेर बनेको अहिलेको गठबन्धन सरकार टिकिरहने उनले दाबी गरे। राष्ट्र, राष्ट्रियता र जनताको हितमा काम गर्नुपर्ने परिस्थिति छ। एमालेले पार्टीका निम्ति जस्तोसुकै मूल्य चुकाएर भए पनि यो गठबन्धन सरकारलाई कायम राख्न प्रयत्न गर्ने उनले बताए।

यो सरकारले काम गर्ने र जनतामा आशा जगाउने दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अर्को गठबन्धन बनाउने विकल्प नभएको बताए। काँग्रेसले कोशीमा धोका दिइसकेकाले विश्वास टुटेको उनको कथन छ। उनले भने, ‘एमालेले बेइमानी गर्नेछैन। यो सरकार टिकिरहन्छ।’ उनले देशको हितमा एमाले सकारात्मक बनेर सरकारमा सहभागी हुने बताए। 

 पार्टी एकता हुँदैन
हतारमा कुनै पनि पार्टीसँग एकता नहुने नेता ज्ञवालीले बताए। सहकार्यलाई बलियो बनाउँदै जाने हो। आपसमा आत्मीयता, विचार, नीति, सिद्धान्त मिल्ने अवस्था आएपछि मात्र पार्टी एकता हुनसक्ने उनले स्पष्ट पारे।

तत्काल पार्टी एकता भइहाल्छ भन्ने चिन्ता आम कार्यकर्ताले लिनु स्वभाविक हो। तातो दूधले मुख पोलेको मान्छेले मही दिँदा पनि फुफु गरेजस्तै भएको छ। चिन्ता लिनु पर्दैन। विगतका गल्ती दोहोर्‍याउने पक्षमा एमाले नेताहरू नरहेको उनले बताए। 

आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउने हिसाबले जनताको काममा खटिन उनले आग्रह गरे। जनताको मत र मन जित्ने गरी काम गर्न जिल्लास्तरका नेता तथा कार्यकर्तालाई नेता ज्ञवालीले निर्देशन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.