|

सुडान :  ‘जब वर्षा हुन्छ अनि हाम्रो विद्यालयका भवनमा पानी पस्थ्यो। विद्यार्थीहरू कक्षा छाडेर बाहिर निस्कन्थे कक्षा सञ्चालनमा निकै समस्या हामीले भोग्नुपरेको थियो। अब हामी यो समस्याबाट मुक्त भएका छौँ। हाम्रा विद्यार्थीहरू पानी भिज्दै बस्नुपर्ने छैन’, दक्षिण सुडानको राजधानी जुबा सहर छेउमा रहेको ग्रिनसुड नर्सरी एण्ड प्राइमरी स्कुलका प्रधानाध्यापक डा. एल्यू गारङ एल्यूले भने, ‘नेपाली सेना हाम्रो देशमा शान्ति स्थापना गर्न आएको हो। तर उसले हतियार बोकेको मात्रै छैन। हामी जनताका समस्या समाधान गर्न पनि लागि परेको छ। हाम्रो विद्यालयको छाना मर्मत गरेर उसले बिर्सनै नसकिने गुन लगाएको छ।’

प्रधानाध्यापक एल्यूले भनेको जस्तै जब विद्यालयमा नेपाली सेनाको समूह पुग्छ विद्यार्थीहरू हात मिलाउन आउँछन्, देखेपछि ‘स्यालुट’ गर्छन्। राजधानीमा भएर पनि वर्षाको समयमा छानाबाट सिधा कक्षाकोठामा पानी छिर्ने विद्यालयलाई नेपाली सेनाको ‘नेपाली इन्फेन्ट्री बटालियन फोर्स रिजर्भ बटालियन’ मा बस्ने दक्षिण सुडानको आठौँ डफ्फाका रूपमा रहेको चन्दननाथ गणले (शान्ति सेना) ले मर्मत गरिदिएपछि स्थानीयवासीले पनि नेपाली सेनाको कामको प्रशंसा गर्दै आएका छन्।

‘नेपाली इन्फेन्ट्री बटालियन फोर्स रिजर्भ बटालियन’ का ‘कमान्डर’ प्रमुख सेनानी सरोज राणाका अनुसार झन्डै दुई हप्तासम्म दैनिक दश जना जनशक्तिले दैनिक तीन घण्टाका दरले काम गरेपछि विद्यालय विद्यार्थीहरूका लागि योग्य बनेको छ। 

जसका कारण स्थानीय जनतासँग हाम्रो सम्बन्ध राम्रो बनेको र नेपालका मान्छे र नेपाली सेना कस्ता हुने रहेछन् भनेर सकारात्मक छाप पनि छाडिएको उनको भनाइ छ।

‘विद्यालयको यो भवनमा छाना नै थिएन। पानी पर्दा विद्यार्थीहरू भित्र बस्नै नसक्ने अवस्था थियो। छाना हालेपछि अब वर्षाको बेलामा उनीहरू अध्ययनबाट वञ्चित हुनुपर्ने छैन। गर्मी समयमा पनि उनीहरूले शीतलमा बसेर अध्ययन गर्न पाउने छन्’, प्रमुख सेनानी राना भन्छन्, ‘हामी स्थापनाको लागि आफ्नो देश छाडेर यति टाढा आइपुगेका छौँ। शान्ति स्थापनाका लागि हामीले गर्नुपर्ने मुख्य कार्यहरू त छँदै छन्। ती कार्यहरू बाहेक पनि हामीले यहाँका स्थानीय जनतालाई सहयोग गर्नको लागि समुदाय सहयोग कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलापहरू गर्दै आइरहेका छौँ।’

समुदाय सहयोग कार्यक्रम अन्तर्गत रहेर सेनाले विद्यालयमा काम गरेको त्यो आफूहरूको जिम्मेवारी रहेको पनि उनले बताए।

स्थानीय ‘वारियर’ को रूपमा काम गरी ‘यू.एन हाउस’ को नजिकै काम गर्दै आइरहेका डेङ जोसेफले विभिन्न देशका सैनिकहरू आफ्नो देशमा रहेको भए पनि नेपाली सेनाले स्थानीयको लागि गर्दै आएको सहयोग प्रशंसनीय रहेको बताए।

शान्ति स्थापना गर्नु मात्रै नभई स्थानीय बासिन्दाको जीवनयापनमा सघाउनुले नेपालीहरू वीर मात्रै होइन सहयोगी पनि छन् भन्ने देखाएको उनको भनाइ छ।

‘म वारियरको रूपमा यू.एन हाउस क्षेत्रमा कार्यरत रहेको छु। नेपाली सेना वीर हुन्छ भन्ने हामी सबैलाई थाहा छ। तर नेपाली सेना उस्तै दयालु र सहयोगी छ भन्ने कुरा मैले यहाँ काम गर्दा देखेको छु’, उनले भने, ‘पिउने पानी नभएकाहरूलाई पानी दिने, स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने, यहाँका स्थानीयसँग मिलेर खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्नुले सेना कति सहयोगी हो भन्ने कुरा देखाएको छ।’

नेपाली सेनाले विद्यालय मर्मत गरेपछि विद्यार्थीमा खुसी फर्किएको उनले बताए। 

द्धन्द्ध ग्रस्त अफ्रिकन मुलुक साउथ सुडानमा सन २०११ देखि नेपाली सेना शान्ति स्थापनार्थ खटिँदै आएको छ। विभिन्न देशका सैनिकहरू पनि शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिँदै आएका छन्। द्वन्द्व र अस्थिरताका बीचमा पनि नेपाली सेनाले स्थानीय नागरिकको जनजीविकालाई सहज पार्दै आइरहेको छ। नेपाली सेनाले स्थानीय जनताको समस्यामा केन्द्रित रहेर काम गर्दै आइरहेका कारण दक्षिण सुडानमा नेपाली सेनाको राम्रो छाप रहेको ‘डेलिगेसन टिम’ मा रहेका प्रमुख सेनानी सूर्य अधिकारी तथा रक्षा मन्त्रालयका उपसचिव सुशील आचार्य बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.