|

विराटनगर : गत असार ३० गते बिहीवार उनी सम्झन त चाहँदैनन्। तैपनि गफिदै जाँदा  गफको शुरुवात त्यहीबाट हुन्छ। त्यो समय उनको नाङ्लो रेष्टुरेन्ट क्षणभरमै आगलागी भएको थियो। करिब दुई वर्ष कोभिड महामारी छलेर एउटा लयमा हिँडाउदै गरेको रेष्टुराँमा क्षणभरमा दन्केको आगोसँगै  उनका केही सपना पनि खरानी बने।

जीवनका आरोह,अवरोहमा धेरै संघर्षका जँघार तर्दै आएका विराटनगर–२ का ईश्वर बाँसकोटाले ‘नाङलो’लाई पुनः सञ्चालनमा ल्याएका छन्। उनले सोमबारबाट सञ्चालनमा ल्याएका हुन्। तीन वर्षअघि उनले सामान्य खाजाघरको रुपमा सञ्चालनमा ल्याएको फास्टफुड अहिले भारतको जोगबनी, विराटनगरको तीनपैनी र एअरपोर्टमा सञ्चालन भइरहेको छ।

नेपालीपन र विराटनगरमा फरक तरिकाले प्रस्तुत हुन बाँसबाट निर्माण भएको नाङलोले रेष्टुराँलाई सम्झाएका छन् उनले। विशेष गरी शाहाकारी परिकारलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याएका १२ वटा म.म.का परिकार उपलब्ध हुने उनले सुनाए।

‘मैले थोरै रकमले सानो खाजाघर खोलेको अहिले जोगवनी र विराटनगरको तीन स्थानमा यसको शाखा पनि छ’‚ उनले भने, ‘मैले भेज परिकार मात्रै राखेको छु। मेरोमा १२ किसिमका शाकाहारी म.म., पनिर आइटमहरू पाइन्छ।’

'आगोको रापसँगै सपना जल्न दिइनँ'

यत्रो नोक्सानीमा पनि कसरी अगाडि बढ्ने हौसला जाग्यो ? यो प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, ‘मैले बल्दै गरेको आगोसँगै अब म कसरी मुभ अन हुने भन्ने बारे सोँचे।’ उनले पसल जल्दै गर्दा आपत्कालीन अवस्थामा सहयोगका लागि कुनै इन्सुरेन्स पनि गरेका थिएनन् तर परिवार र साथीभाइहरूको साथ, हौसला र आफू भित्रको आत्मबलले पनि दुःखसँगै अघि बढ्न प्रेरित भएको उनी सुनाउँछन्।  

पछिल्लो समय हरेक युवाको प्रमुख गन्तव्य समुद्रपारीको देश बन्दै गर्दा पैसा कमाउनका लागि पसिना बेच्न अर्काको देश जानु नपर्ने उदाहरणको रूपमा बास्कोटालाई लिन सकिन्छ। मेहनत गर्न सके नेपालमै मनग्य आम्दानी हुने बताउने उनलाई कहिलेकाहीँ परदेशिने रहर नजागेको पनि होइन तर नेपालमै केही गर्ने सोचले नाङलो सञ्चालनमा ल्याएका उनले यसैमा भविष्य खोजिरहेका छन्।

गफैगफमा उनले म.म स्पेशलसँगै नाङ्लोमा थकाली समेत सञ्चालनमा ल्याउने योजना रहेको सुनाए। ‘काम गर्न सके नेपालमा आम्दानीको स्रोत धेरै छ। ग्राहकलाई नयाँ दिन सक्नुपर्छ। पैसा कमाउन विदेश जानुपर्दैन’‚ उनी सुनाउँछन्, ‘अब चाँडै शाकाहारी परिकारमा थकाली पनि सञ्चालनमा ल्याउँदै छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.